निद्रा र स्वप्न : रहस्यलाई झाँक्ने आँखीझ्याल
प्रसिद्ध जर्मन दार्शनिक शोपेनहावरले भनेका छन्, ‘निद्रा मृत्युबाट लिएको त्यस्तो ऋण हो, जसको ब्याज हामीले आंशिक रूपमा प्रत्येक रात चुकाउनु पर्छ ।’ वास्तवमा पूर्ण ऋणचुक्ता त्यस दिन हुन्छ, जुन दिन हामी मृत्युमा प्रवेश गर्छौं । हजारौ वर्षदेखि मनुष्यले निद्रा र स्वप्नलाई रहस्यको रूपमा लिएको छ । यो यस्तो आँखीझ्याल हो, जसले हामीलाई हामीभित्रैको गहनता र रहस्यमा झाँक्ने एक अनुपम क्षणको सिर्जन हुन्छ । अझ स्वप्नले साहित्य, वैज्ञानिक खोज, संंगीत सबैलाई अछुतो छोडेको छैन । पल मेकेटर्नीको ‘यस्टर्डे’ गीतको लय उनले बिहानको स्वप्नमा सुनेका थिए । डिएनएको संरचनाको खोज गर्ने फ्रान्सिस क्रिकले सपनामा दोहोरो साङ्लो बाँधिएको एक अनौठौ बनावट देखे, जसलाई पछ्याएर उनी डिएनएको सही बनावटसम्म पुग्न सफल भएका थिए । मेन्डलेभको पिरियोडिक टेबलको पूरै खाका उनले सपनामा देखेका थिए । त्यही अनुसार तत्वहरूलाई मिलाउँदै जाँदा उनले पूरा टेबल पत्ता लगाए । निद्रा र सपना सम्बन्धित रहस्यमय यस्ता अन्य धेरै विश्वप्रसिद्ध घटनाहरू छन् ।
निद्रा र मृत्यु : जुम्लाहा अनुजहरू
निद्रा सानो मृत्यु हो भने मृत्यु चीरनिद्रा हो । यस सम्बन्धी ग्रिक मिथक बडो रोचक छ । माता ‘रात्रि’ र पिता ‘अन्धकार’को पुत्रको रूपमा निद्रा (हिप्नोस्) लाई मानिन्छ । निद्राको अर्धांगिनीको रूपमा भ्रम वा पूर्ण विश्रामलाई लिइएको छ । मृत्यु (थानोटोस) लाई निद्राको जुम्लाहा भाइको रूपमा मानिन्छ । वास्तवमा यसमा मनोवैज्ञानिक सत्य पनि छ । निद्राको परिवारका यी सदस्यहरूको प्रतीकात्मक प्रकृति र गुणबारेमा विचार गर्ने हो भने निद्राजस्तो रहस्यमय वस्तुबारे अत्यन्त रोचक सत्य उद्घाटन गर्न सकिन्छ । रात्रि र अन्धकारको वातावरणमा निद्राको सहज प्रादूर्भाव हुन्छ । विश्राम र भ्रमको कुरा लिऔं– विश्राम पूर्ण अवस्थामा हामी निद्रामा प्रवेश गर्छौं । लागूपदार्थ, मदिरापानको भ्रमात्मक स्थितिमा हाम्रो मस्तिष्कको संज्ञान क्षमतामा ह्रास आउँछ र बेहोसी छाउँछ र हामी निदाएका अवस्थामा पुग्छौं । मृत्य र निद्राको प्रकृति पनि एउटै छ, त्यसैले यिनलाई जुम्लाहा भनिएको छ ।
जैविक आन्तिरक घडी : सर्केडियन रिदम
वास्तवमा हाम्रो मस्तिष्कमा आफ्नै आन्तरिक जैविक घडी छ । यसलाई सर्केडियन साइकल भनिन्छ । इन्द्रियहरू निस्क्रियतामा जाने र सक्रियतामा आउने, आन्तरिक रसायनको स्रावलाई नियन्त्रण गर्ने यो आन्तरिक घडी दिन र रातको चक्रद्वारा निर्देशित हुन्छ । पृथ्वीमा रहेका प्राणी तथा वनस्पतिहरूको अस्तित्वलाई पनि दिनरातको यो चक्रले असर गरिरहेको हुन्छ । सन् २०१७ मा यही प्राकृतिक घडीको कार्यप्रणालीको अध्ययन गरेका तीन वैज्ञानिकहरूले नोबेल पुरस्कार पाएका थिए । त्यो अध्ययनबाट वनस्पति, जनावर तथा मनुष्य सबै यही दिनरातको चक्रको लयअनुसार आफूलाई वातावरणमा हुने परिवर्तनसँग सामञ्जस्य गर्छन् । बिहानै बढी हृदयाघात हुने कारण पनि रातबाट उज्यालोमा फर्किने तयारीका लागि शरीरमा पैदा हुने तनाव हार्मोनले मुटुलाई धक्का दिँदा हुन्छ, सुक्ष्म हृदय तन्त्रिकाहरू फुट्ने भएकाले यस्तो हुने कुरा अघि आएको छ । हवाई यात्रामा छिटोछिटो टायम जोनहरूलाई पार गर्दै जाँदा हामीभित्रको जैविक घडी अस्तव्यस्त हुन्छ जसलाई सर्केडियन डिसरिद्मिया भनिन्छ । यसबाट निद्रा चव्रmमा बाधा पर्छ । यो सर्केडियन साइकलबारेमा भएका विभिन्न अध्ययनबाट हाम्रो शरीरमा हुने शारीरिक गतिविधि सम्बन्धित केही तथ्य पत्ता लागेका छन् । राति नौ बजे निद्रा लगाउने हार्मोन मेलाटेनिनको स्राव हुन्छ, यो सुत्ने सबैभन्दा उपयुक्त समय हो । राति २ बजे सबैभन्दा गहिरो निद्रा लाग्छ र बिहान ४ः३० मा शरीरको तापव्रmम सबैभन्दा कम हुन्छ (बिहान ६ः४५ बाट रक्तचापमा वृद्धि शुरु हुन्छ, १०ः३० बजे सबैभन्दा सक्रियताको समय हुन्छ, अपरान्ह २ः३० बजे सन्तुलनको समय हुन्छ, बेलुका ७ बजे सबैभन्दा बढी रक्तचाप हुन्छ ।
अनिँदोपन : बुद्धिमानहरूको आर्जन
आज विश्वमा अनिँदोपन एक महामारीका रूपमा देखिएको छ । यो दीर्घकालीन थकावटको परिणाम हो । वास्तवमा निद्रा राम्रो लाग्न पनि मानिसलाई शक्ति चाहिन्छ । शक्तिको अतिशय क्षयले मनुष्यको तन्त्रीय प्रणाली यस्तो दयनीय अवस्थामा पुग्छ कि तुरुन्तै विश्रामको अवस्थामा फर्किन सक्दैन । अनिँदोपनमा शक्तिक्षयको कारण शारीरिकभन्दा पनि बौद्धिक हुन्छ । शारीरिक थकानको कुरो सहज हुन्छ । यदि कुनै व्यक्तिले दिनभरि कुटो कोदालो चलाएर श्रम गरेको छ भने सिरानीमा टाउको राख्ने बित्तिकै ऊ निदाउँछ । तर दिनभरि अफिसमा सोचविचार र तनावमा कुनै व्यक्तिले अधिकांश समय बिताएको छ भने मस्तिष्कमा परेको निरन्तर भारले गर्दा निद्रा आउन गा¥हो हुन्छ । त्यसैले अनिँदोपनको समस्या बौद्धिक व्यक्तिहरूमा लाग्ने विशेष असहज अवस्था हो । आजको अति महत्वाकांक्षी युगमा कम समयमा धेरै इच्छाहरू पूरा गर्न भ्याउनु पर्ने भएकाले मानिसको मस्तिष्कले धेरै भार खेप्नु परेको छ । अझ सामाजिक संजालमा निरन्तर आँखा अट्काउने बानीले त हाम्रो मन र मस्तिष्कलाई डामाडोल नै बनाएको छ । मनको विक्षिप्तता, अतिशय तनाव, राति ढिलो सुत्ने या सुत्नुभन्दा अघि टिभी र इन्टरनेटमा समय बिताउने गर्नाले हाम्रो आन्तरिक जैविक घडीको कार्य गर्ने गर्दछ, जसले गर्दा निद्रालाई नियन्त्रण गर्ने पिनियल ग्लाण्डले निद्रा ल्याउने हार्मोन स्राव गर्न सक्दैन र निद्रा असम्भव हुन जान्छ । सम्यक शारीरिक व्यायामबाट उर्जालाई मस्तिष्कबाट पूरै शरीरमा प्रवाह गराउने र मनलाई शान्त गर्ने ध्यानका विधिहरूको अभ्यास भएन भने अन्त्यमा तनावको भार मस्तिष्क तन्त्रले खेप्न सक्दैन र मानसिक विश्रान्तिको अवस्थामा फर्किन सक्दैन, जसले अन्य अनेक मानसिक समस्याहरू ल्याउन सक्छ ।
निद्रामै मस्तिष्क सफा गर्ने प्रज्ञा
हाम्रो शरीरमा एक यस्तो प्रतिरक्षा प्रणाली छ, जसले रक्त, मांसपेशी, अंगमा उत्पन्न हुने फोहोरमैलालाई निश्चित मार्गमा संग्रहित गरेर शरीरबाट उत्सर्जन गर्ने गर्छ । यसलाई लिम्फाटिक सिस्टम भनिन्छ । तर यो प्रणाली घाँटीमै आएर समाप्त हुन्छ । मस्तिष्कसम्म पुग्दैन । के धारणा थियो भने मस्तिष्कलाई सफा गर्ने संयन्त्र हाम्रो शरीरमा छैन । तर २०१५ मा यस्तो कार्य गर्ने अर्को प्रणाली पत्ता लाग्यो जसले मस्तिष्कमा जम्मा हुने विकारयुक्त प्रोटिन अमिलोइड बेटालाई मस्तिष्कबाट प्रक्षालन गर्ने गर्छ । यसलाई ग्लीम्फटिक सिस्टम भनिन्छ । अल्जाइमरका बिरामीहरूको मस्तिष्कमा यही विकारयुक्त प्रोटिन जम्मा हुन्छ, जसले यो प्रोटिन जम्मा भएको भागलाई मस्तिष्कको अन्य भागबाट अलग्याउँछ र मस्तिष्कले भ्रमात्मक क्रियाकलाप गर्न थाल्छ । यो सफाइ गर्ने ग्लीम्फटिक सिस्टम हामी जागेको बेलामा भन्दा सुतेको बेलामा ६० प्रतिशत बढी क्रियाशील हुन्छ । त्यसैले मस्तिष्कमा सफाइको काम हामी जागेको भन्दा निद्राको क्षणमा बढी तीव्रताले हुन्छ । अर्को खोजले घोप्टो या उत्तानो भन्दा पनि कोल्टो फेरेर सुत्दा योे फोहोर निस्कासन प्रणालीले अझ प्रभावकारी रूपले कार्य गर्दछ भन्ने देखाएको छ ।