जब हामी सपना देख्दैनौं, मस्तिष्कको कार्यगति लयबद्ध हुन्छ । तर सपना देख्न थालेपछि मस्तिष्कको अवस्था मध्यदिनमा जागा रहेको जस्तो रूपमा आउँछ तर शरीर भने पूर्णरूपमा हलचल गर्न नसक्ने अवस्थामा हुन्छ । यो विरोधाभासी मस्तिष्कको अवस्थाले खोजकर्ताहरूलाई अचम्ममा पारेको छ ।
राति हामी निदाउँदा हाम्रो मस्तिष्क फरक चरण र अवस्थाहरूबाट गुज्रिरहेको हुन्छ । मस्तिष्कका न्युरोनहरूको विद्युतीय क्रियाकलापको अध्ययनबाट निद्राका विभिन्न चरणहरूको अध्ययन गरिन्छ । निद्रा लाग्न शुरु हुँदा हाम्रो शरीरको तापक्रम हल्का घट्छ र रगतमा पिनियल ग्लाण्डले मेलाटोनिन हार्मोन छोडेपछि हाम्रो शरीर सुत्न तयार हुन्छ । सुतेपछि पाँच चरणको निद्राको चक्रबाट हामी गुज्रिन्छौं । एक चरण करिब डेढ घण्टाको हुन्छ । सुतेको केही सेकेण्डमै हामी तन्द्रामा प्रवेश गर्छौ र मस्तिष्कले उच्च भोल्टेजको अल्फा तरंगहरू छोड्न थाल्छ । यो अवस्थामा एक किसिमको हल्का सजगता हुन्छ तर हामी निष्क्रिय हुन्छौँ । बिस्तारै अल्फा तरंग कम हुँदै जान्छ, त्यसको भोल्टेज पनि कम भएर हराउँदै जान्छ । यो अवस्थामा विभ्रम हुने सपनाहरू आउन सक्छन् । कतैबाट खसेको सपना आउने या खुट्टा झट्किने हुनसक्छ । २ देखि ५ मिनेटपछि निद्राको दोस्रो अवस्थामा प्रवेश गर्छौं । यो अझ गहिरो निद्राको चरण हो । दोस्रो चरणमा छोटो अवधिको लागि मस्तिष्क तरंग धुरीमा पुग्ने र फर्किने हुन्छ । यो अवस्थामा मानिस अस्पष्ट रूपले बर्बराउन सक्छ । यसको २० मिनेटपछि तरंगको आर्वतन बिस्तारै कम हुँदै जान्छ र मस्तिष्क डेल्टा तरंगमा पुग्छ । उच्च भोल्टेज र नियमित तरंगको अवस्था २० मिनेटसम्म चल्छ । यो अति गहिरो निदाएको अवस्था हो । मानिस निद्रामा हिँड्ने यही अवस्थामा हुन्छ । बच्चाहरूमा यही क्षणमा बढ्ने हार्मोनको स्राब हुन्छ । बच्चाहरूले ओछ्यानमा पिसाब फेर्ने यही क्षणमा हुन्छ । त्यसपछि मानिस तीव्र आँखाको गति हुने रेम (रेपिड आई मुभमेन्ट) स्लिपको चरणमा प्रवेश गर्छ । यो पाचौं चरण हो । सुतेको करिब एक घण्टापछि यो चरणमा हामी प्रवेश गछौं । मनको पर्दामा अनेक सपना देखेपनि यो क्षणमा हाम्रो शरीरका मासंपेशीहरू पूर्णरुपले विश्राममा हुन्छन् । शरीर चल्न सक्दैन । यो अवस्था करिब १० मिनेटको हुन्छ । हाम्रो निद्रा तेस्रो र चौथो चरणमा पुनः फर्किन्छ । यी पूरै चरणहरू फेरि दोहोरिन्छन् र फेरि डेढ घण्टामा हामी रेम स्लिपको चरणमा आइपुग्छौं । यो चक्र एक रातमा ६ पटकसम्म दोहरिन्छ । मध्यरातको पहिलो भागमा हामी गहिरो निद्रामा सुत्छौँ र रात बित्दै जाँदा रेम स्लिपको लम्बाइ बढ्दै जान्छ ।
जब हामी सपना देख्दैनौं, मस्तिष्कको कार्यगति लयबद्ध हुन्छ । तर सपना देख्न थालेपछि मस्तिष्कको अवस्था मध्यदिनमा जागा रहेको जस्तो रूपमा आउँछ तर शरीर भने पूर्णरूपमा हलचल गर्न नसक्ने अवस्थामा हुन्छ । यो विरोधाभासी मस्तिष्कको अवस्थाले खोजकर्ताहरूलाई अचम्ममा पारेको छ । तर यो सपना देखिने विशेष अवस्था हाम्रो समग्र स्वास्थ्य तथा मस्तिष्क कार्यक्षमतालाई बनाइराख्न अति महत्वपूर्ण छ ।
निद्रा र मद्यपान
जागरणको अवस्थामा हामीले जानेको, सिकेको, देखेको, बुझेको जानकारी, अनुभव सबैलाई निद्रामा एकत्रित गरी राखिन्छ । निद्राको अवस्थामा बहुआयामिक चरणहरूबाट हाम्रो मस्तिष्क गुज्रिन्छ । सात किसिमका न्युरोट्रान्समिटरको मात्रा, गति, दिशा र कुन भागमा तिनीहरूले असर गर्ने हो त्यसको आधारमा निद्राका जटिल चरणहरूबाट मस्तिष्क गुज्रिरहेको हुन्छ । यो अति नै सुक्ष्म कार्यप्रणाली हो । गहिरो निद्रा भएन भने कुनै कुरामा समग्र ध्यान दिने, सोचाइमा लचकता, निर्णय लिने क्षमता, विभिन्न विषयमा रचनात्मक रूपले सोच्ने क्षमता, प्रतिरोधक क्षमता, अन्तर्दृष्टि जस्ता जीवनका अत्यन्त आवश्यक पक्षहरूमा ह्रास आउँछ । राति निद्रामा अनेक चरणमा मस्तिष्कका विभिन्न भागहरूले भाग लिन्छन् । मदिराले मस्तिष्कको निद्रामा रसायनको सुक्ष्म स्राबको नैसर्गिक प्रवाहमा बाधा गर्ने भएकाले निद्राको चरणहरूको प्राकृतिक सन्तुलन बिग्रिन्छ । मदिरापानले मस्तिष्कको आयतनलाई पनि खुम्च्याउँछ । अनेक शारीरिक तथा मानसिक समस्याहरू देखिन्छन् भने पारिवारिक तथा सामाजिक जीवनमा आउने चुनौतीलाई सामना गर्ने हिम्मतमा ह्रास आउँछ । कुनै प्रकारको र जुनसुकै मात्रामा मद्यपानको सेवन वास्तवमा स्वास्थ्यका हानिकारक हो भन्ने प्रमाणित तथ्य हो ।
मानिस आँखा खोलेरै सपना देख्छ !
मनुष्यको मन भनेकै सपनाको भण्डार हो । साधारण होस नभएको अवस्थामा हामी जहाँ जान्छौँ, हाम्रो मनसँगै निद्राको अन्तप्र्रवाह पनि हामीसँगै यात्रामा जान्छ । मानिस आँखा खोली–खोली निदाइरहने प्राणी हो । आफूलाई पूर्णतः भुलेर आँखा खोलेर कुनै बाहिरको वस्तुमा हराउनुलाई साधारणतः जागरणको अवस्था भनिन्छ । तर यो नाम मात्रको जागरण हो किनभने सबै कुरा त देखिन्छ र स्वयंलाई भने देखिँदैन । तर त्यो बाहिरको वस्तुमा सधैँ मन टिकिरहँदैन । मन चञ्चले स्वभावको भएकोले अर्को क्षण कल्पनामा डुबिहाल्छ । यसमा आफ्नो बोध त हुँदैन, तर त्यो वस्तु पनि हुँदैन तर खाली त्यो वस्तुको छाँयामात्र चित्तमा हुन्छ । यो सपनाको अवस्था हो । तर त्यसपछि अर्को अवस्था पनि छ, सुषुप्तिको । जसमा स्वयंको बोध हुँदैन, वस्तु पनि हुँदैन र त्यसको कल्पना पनि हुँदैन । हामी कहाँ छौँ त्यसको बोध पनि हुँदैन । यो निद्राको तेस्रो अवस्था हो । यो राति सुत्दा मात्रै हुन्छ भन्ने होइन, दिनमै पनि चलिरहेको हुन्छ । गहन निद्राको सानो अंशलाई छोड्ने हो भने मानिसभित्र सपनाको अन्तर्धारा अहिर्निश चलिरहेको हुन्छ । हामी साधारण मानिसलाई तन्द्राको वृत्तले सदा घेरिरहेको हुन्छ । हिँड्दा, बस्दा, खाँदा, बोल्दा जीवनका सबै अवस्थाहरूमा सपनाको एक परिपथभित्र हाम्रा यी दैनन्दिन कार्यहरू भइरहका हुन्छन् । त्यो कुरा थाहा पाउन धेरै मिहिनेत पनि गर्नुपर्दैन । एकछिन आँखा चिम्लिएर आफैँलाई भित्र नियाल्न थाल्दा यस्तो अवस्था देख्न थालिहालिन्छ । यही क्षणलाई निद्रा वा ध्यानको प्रस्थानविन्दुको रूपमा लिन पनि सकिन्छ ।
चेतनदेखि परचेतनसम्मको यात्रा
यो क्षणमा पूर्णरूपले अक्रियामा रही जागरुक भएर आफ्नो मनको खेललाई महत्व नदिई चुनावरहित होसमा थाल्यो भने ध्यान सुरु हुन्छ । निद्राबाट जागरणको यात्रामा प्रवेश गर्न यो अभ्यास महत्वपूर्ण मानिएको छ । ओशोको चेतनदेखि परचेतनसम्मको व्याख्या अद्भूत छ– ‘होसको दियोलाई निभ्न नदिई, कल्पना, विकल्प, तर्कनाको तादात्म्यमा नफसी ध्यान अघि बढ्यो भने चेतन मन परिवर्तित भई अचेतनमा प्रवेश हुन्छ । यो मनले कुनै दर्शन, अर्थ, प्रयोजन र नैतिकता जान्दैन । यसले हाम्रो अस्तित्वको आवश्यकतालाई पूरा गर्ने कोसिस गर्दछ । यो अवस्था समझ र ध्यानको लागि अत्यन्त महत्वपूर्ण हुन्छ । चेतन मन इच्छाबाट बाँच्छ भने अचेतन मन स्वाभाविक र नैसर्गिक आवश्यकतामा बाँच्छ । तर नैसर्गिक वृत्तिको दमन, मनोविकृतिका कारणले चेतन र अचेतन मनको एक द्वन्द्व हाम्रो दैनिक जीवनमा चलिरहेको हुन्छ । पृथ्वीमा चलेका परम्परागत संगठित धर्महरू वास्तवमा यो मनसम्म पनि आइपुग्दैनन् किनभने धर्मको नाममा अनेक असहज वृत्ति तथा इच्छाहरूको पोको मानिसको टाउकोमा थुप्रिन्छन् । प्रगाढ जागरुकताले साधक अघि बढ्यो भने मात्र त्यसअघिको अवस्था अतिचेतनमा प्रवेश हुन्छ । यो प्रवेशको लागि गहन साधना र सतत् जागरणको प्रयास चाहिन्छ । चेतनाको यो अवस्थामा प्रवेश भएपछि साधक सम्यक अनुशासनमा स्थिर हुन्छ, जुन उसको आन्तरिक समझबाट पैदा हुन्छ । प्रत्येक साधक यो अवस्थामा आफ्नो मौलिक स्वरुपमा फर्किन्छ । उसले सम्बुद्ध गुरुको सान्निध्य प्राप्त पनि गर्नसक्छ । चेतन मनले शिक्षक, अचेतन मनले प्रेमी र अतिचेतन मनले सद्गुुरुसँगको सान्निध्यमा पु¥याउँछ । अतिचेतनमा विगतको स्मृतिहरू पनि खुल्न थाल्छन् । पूर्वजन्मको याद पनि आउन सक्छ । यो एक अनौठो स्थिति हो । साधकले पहिलो पटक आफू यो संसारको भवचक्रको अनन्त यात्राको यात्री भएको बोध गर्छ । जति जे गरे पनि जन्मदै मर्दै गरेको शृङ्खलामा फसेको पाउँछ । यो स्मृतिले उसका यस जीवनका बाहिरी उत्तेजनाहरू तिरोहित हुन्छन् र नयाँ बोधले गति लिन्छ । यो बन्धनबाट मुक्त हुने प्रयासमा आफूलाई स्थिर गर्न थाल्छ । जागरुताको अझ प्रगाढतामा परमबोध सहितको यात्राको अन्तिम चरण शून्यबोध हो । मोक्ष प्राप्ति हो ।