साप्ताहिक संवाददाता
यो क्षेत्रमा कसरी प्रवेश भयो ?
सुरुमा गायक बन्ने चाहना थियो, एल्बम पनि गरे, तर त्यो यात्रा त्यत्तिकै अड्कियो । पछि म घुम्न भनेर आफन्तहरू भएको मुम्बई पुगे । मुम्बईमा सुदुरपश्चिमका धेरै नेपाली प्राविधिकका रूपमा काम गर्नुहुन्छ । बलिउड उद्योगमा काम गरिरहेका आफन्तहरूकै सल्लाहमा मैले भिज्युअल एडिटिङमा करिअर बनाउने निधो गरे भने आधारभूत ज्ञान पनि त्यहीं लिएँ ।
मुम्बई हिरो बन्ने उद्देश्यले गएको त होइन ?
होइन, मेरा दाइहरू त्यहाँ भएकाले घुम्नलाई गएको हुँ, तर त्यहाँ पुगेपछि एडिटर बन्ने चाहना भयो । केहि ज्ञान पनि हासिल गरें । नेपालमा आएर भिडियोको पोस्ट प्रोडक्सनको काम गर्ने चौतारी भिजन कार्यालय खरिद गरें । मैले देउडा गीतको १६ वटा भिडियो निर्देशन गरे पनि एडिटिङमै जमेर काम गर्ने चाहना भयो । अहिले यही क्षेत्रलाई निरन्तरता दिइरहेको छु । टेक्निसियनका रूपमा काम गर्दा आम्दानीको दीर्घकालीन स्रोत पनि हुन्छ भन्ने लाग्यो ।
कत्तिको स्थापित भैसकेजस्तो लाग्छ ?
निरन्तर काम गरिरहेको छु, मैले खोजेको लक्ष्य हासिल गर्न अझै बाँकी नै छ, तर अहिलेसम्म जति उपलब्धि हासिल गरे, त्यसमा गर्व महसुस गर्छु । म आफ्नोकामबाट सन्तुष्ट छु, काम पाइरहेकै छु, आम्दानी पनि सन्तोषजनक नै छ । गरेका कामहरूले प्रशंसा पनि पाएका छन् । जे होस्, स्थापित हुने बाटोमै छु ।