मैले मात्र होइन, अधिकांश कलाकारले एवार्ड पाइन्छ भनेर काम गरेका हुँदैनन् । आफ्नो कलाले सबैको मन जित्यो र एवार्डको मनोनयनमा परियो भने एवार्ड पाइन्छ कि भन्ने आशा हुँदो रहेछ । मैले यो वर्ष पाँचवटा एवार्ड पाएँ । एवार्ड पाउँदा हषिर्त हुनु स्वभाविक हो, तर जुनसुकै एवार्डमा पनि धाँधली भयो, हकवालाले पाएन भन्ने किसिमका कुरा सुन्दा भने अचम्म लाग्छ । बुझ्नुपर्ने कुरा के हो भने फस्ट भनेको एक जना मात्र हुन्छ, बाँकी सेकेन्ड र थर्ड हुने हो अनि एकाध एवार्डमा केही बदमासी भयो होला भन्ने अनुमानका भरमा भए जति सबै एवार्डमा धाँधली हुन्छ भन्ने सोच राख्नु उपयुक्त होइन । म पनि एवार्डमा हुने धाँधलीको सिकार भैसकेकी छु, त्यो पनि सानो हुँदा ।
११ वर्षको उमेरमा एक प्रतिष्ठित संस्थाले गरेको बालगीत प्रतियोगितामा म लगातार दुई पटक दोस्रो भएँ । दुई जना मात्र निर्णायक रहेको प्रतियोगिताका एक जना निणर्ायकले पहिलो हुने हो भने जितेबापत पाउने पुरस्कारको रकम उनलाई बुझाउन भनेका थिए । मैले मानिनँ र त्यसपछि म उक्त प्रतियोगितामै सहभागी भइनँ । त्यो तीतो अनुभव मेरो बालमस्तिष्कमा यसरी गढ्यो कि चाहेर पनि बिर्सन सक्दिनँ । जबकि त्यही समयमा काठमाडौं उपत्यकाव्यापी बालगीत प्रतियोगीता लगातार तीन पटक जितेर मैले ह्याट्रिक गरेकी थिएँ । त्यसमा रहेका ११ जना निणर्ायकले मेरो गायनकला मन पराउनुभएको थियो ।
यस्ता नराम्रा र राम्रा अनुभवका आधारमा म के भन्छु भने हरेक कार्यका राम्रा र नराम्रा पक्ष हुन्छन् । नराम्रा र आफ्नालाई पोस्ने एवार्ड हुन्छन् होला, तर मैले अहिलेसम्म जति पनि एवार्ड पाएँ, ती सबै मेरो कला एवं दर्शकको मायाले पाएको हुँ भन्दा मलाई गर्व लाग्छ ।
प्रस्तुति : सुव्रत आचार्य