साप्ताहिक संवाददाता
- कोमल वली, गायिका
हाम्रा नेताहरू आफैंलाई बनाउन व्यस्त छन्, सुरुमा आफूलाई बनाएपछि न संविधानका बारेमा सोच्ने हो । फेरि आफूलाई बनाउन पालो आउनुपर्यो, अनि अर्कोलाई पनि पालो दिनुपर्यो ।
- राजबल्लभ कोइराला, नायक
सत्ता र भत्ताको खेलमा लागेर एकले अर्कोविरुद्ध आरोप-प्रत्यारोप गर्नुका साथै नानाथरी कुरा गरेर चर्चामा आई सेलिब्रेटी बन्ने परिपाटीले नेताहरू संविधान बनाउने मामिलामा असफल भएका हुन् । जनतालाई भेडा मान्ने प्रवृत्ति पनि अर्को एउटा कारण हो । हामीले जे गरे पनि जनताले हाम्रो साथ छोड्दैनन् भन्ने बलियो आत्मविश्वास छ उनीहरूमा ।
- रेम विश्वकर्मा, सञ्चारकर्मी/नायक
चिट चोर्न नपाएर हो कि ? मोदीले अस्ति मज्जाले ट्युसन पनि पढाएकै हुन् तर विषय कोर्ष बाहिरको कुरा परेछ कि क्या हो ? खासमा भन्ने हो भने सभामुखको कक्षामा नियमित रूपमा उपस्थित नभएकाले वा कक्षामा ध्यानै नदिएर कसैले केही नबुझेको हो कि ?
- अर्जुन संग्रौला, कलाकार/सञ्चारकर्मी
काठमाडौंको सडक र संविधान मलाई उस्तै-उस्तै लाग्छन् । किनभने यी दुवै कुरा चाँडै भत्किन्छन्, तर कहिले बन्ने भन्ने कुनै टुंगो हुँदैन ।
- विमलेश अधिकारी, नायक/मोडल
मेरो विचारमा संविधान बनाउने भन्दा पनि आफूलाई बनाउने प्रक्रिया नटुंगिएकाले नेताहरू संविधान बनाउन असफल भएका हुन् । सुरुमा मानिसले आफ्नै राम्रो सोच्छ, यो मानवीय स्वभाव पनि हो, हाम्रा नेताले यो पक्ष मात्र बुझे, देश र जनताका लागि गर्नुपर्ने कर्तव्य बिर्सिए ।
- सीमा संग्रौला, गायिका
हाम्रा नेताहरूलाई १ वर्ष ५० डिग्री सेन्टिग्रेड तापक्रमको अरेबियन मरुभूमिमा काम गर्न पठाउनुपर्छ अनि मात्र उनीहरूले देशको महत्व बुझ्छन् । आखिर निर्धारित समयमा उनीहरूले संविधान बनाउन सक्दैनन् र म्याद थप्छन्, त्यतिले मात्र नपुगेर निर्वाचन नै गरेर अर्को संविधानसभा खोज्छन् । त्यसैले १ वर्ष यिनीहरूलाई देश बाहिर राखेर कानुनका ज्ञाताहरूले संविधानको खेस्रा तयार गर्नु आवश्यक छ ।
- प्रकाश पौडेल, गायक
सबै जना धन सोहर्न व्यस्त छन् अनि कहाँबाट बन्छ संविधान ? पहिले संविधान बनाउने निर्दिष्ट लक्ष्य हुनुपर्यो नि ।
- दीपाश्री निरौला, हास्यकलाकार
नेताहरू धेरै जान्ने भएर पनि हो रे, के लेख्ने, के लेख्ने भनेर कन्फ्युज भए, त्यही भएर संविधान नलेखेको रे ।
- हेमन्त राना, गायक
संविधान खोज्ने करोडौं जनतामध्ये म पनि एक हुँ, नेताहरूले संविधान नबनाएपछि संविधान चाहियो भनेर गीत सिर्जना गरेर गाए पनि, तर खै संविधान बनाउने कुरामा नेताहरू नै सहमत छैनन् अनि जनता पनि जागरुक भएर दबाब दिनुपर्छ भन्ने मान्दैनन् ।
- लोकनाथ सापकोटा, संगीतकर्मी