अमेरिकन अभिनेत्री एवं मोडल जेसिका अल्बाले प्ले ब्वाय म्यागजिनलाई राम्रै सजाय दिएकी छिन् । प्ले ब्वायले जेसिकाको अनुमतिबिना सन् २००६ को मार्चमा उनका केही तस्बिर सार्वजनिक गरेको थियो । त्यसपश्चात् जेसिकाले उक्त म्यागजिनविरुद्ध मुद्धा दर्ता गरेकी थिइन्, तर पछि म्यागजिनले सार्वजनिक रूपमै माफी मागेपछि जेसिकाले सर्तसहित मुद्दा फिर्ता लिइन् । सर्त सहजजस्तो लागे पनि कडा थियो । म्यागजिनले जेसिका सम्मिलित दुई च्यारिटी संगठनलाई आर्थिक मद्दत गर्नुपर्ने थियो । हालै एक च्यारिटीका निम्ति प्लेब्वायलाई उनले दह्रै आर्थिक सहयोगका निम्ति बाध्य गराएपछि पुरानो उक्त घटना फेरी चर्चामा आयो । यद्यपि म्यागजिन म्यानेजमेन्टले खुला हृदयका साथ जेसिकाको आग्रह स्वीकार गर्दै आएको छ ।किम कार्दशिनको प्रस्टोक्ति
टेलिभिजन क्विन किम कार्दशिनले आफू प्रेग्नेन्ट भएको खबर हल्ला मात्र भएको बताएकी छिन् । सोसल मिडियामा किम गर्भवती भएको खबर छाएपछि उनले स्पष्टीकरण दिनुपरेको थियो । एक सन्तानकी आमा किमले टि्वट गर्दै भनेकी छिन्- 'सोसल मिडियामा आफू गर्भवती भएको कुरा हेर्दा-हेर्दा दिक्क भैसकेकी छु, म गर्भवती छैन, ढुक्क हुनुहोला ।' पछिल्ला दिनमा किम र उनका श्रीमान् कान्येबीच मनमुटाव उत्पन्न भएको खबर पनि आएको थियो । किमले उक्त खबरका सम्बन्धमा पनि प्रस्टीकरण दिएकी छिन् कि श्रीमान् र उनीबीच कुनै समस्या छैन । पछिल्ला दिनमा तौल बढेपछि किमको शारीरिक संरचना फरक देखिएको थियो ।