यस्ता प्रख्यात डाक्टरको खराब बानी चैँ के थियो भने उनी अरू हार्ट सर्जन आफूभन्दा प्रख्यात र अब्बल भएको हेर्न रुचाउँदैनथे । जसअनुरूप आफूमा भएको दक्षतालाई आफूमै सीमित राखिरहेका थिए ।
कसैले केही सोध्न खोजे ओठमा घमन्डी मुस्कान ल्याउँदै उनी भन्थे, 'सबै मान्छे डा. शर्मा कहाँ हुन सक्छन् र ?' कतिपटक विभिन्न टिचिङ्ग हस्पिटलहरूबाट क्लास लिइदिन एकदमै राम्रो अफर आउँदा पनि उनले कहिल्यै मानेनन् ।
देशमा भएका धेरै डाक्टरले उनलाई आग्रह गरिसकेका थिए केही हस्पिटलमा क्लास लिइदिनका लागि तर उनी आफ्नो अडानमा अडिग भए ।
तिनै डाक्टर एक दिन अप्रेसन गर्दा गर्दै बेहोश भए । अप्रेसन थिएटरभित्रै हाहाकार मच्चियो । रोगीको मुटु उधारिएको थियो । ओपन हार्ट सर्जरी -मुटु पूरै बन्द गरेर गरिने अप्रेसन) हुँदै थियो । आधा काम पनि भैसकेको थिएन ।
अचानक अप्रेसन गरिएको बिरामीको भन्दा डा. शर्माको स्वास्थ्य महत्त्वपूर्ण भयो । उनलाई हतारहतार उठाएर स्वास्थ्य परीक्षणका लागि लगियो । उता आधाउधि अप्रेसन गरिएको बिरामीको अप्रेसन पूरा गर्न अर्का हार्ट सर्जन झिकाइयो । त्यो अप्रेसन उनै डा. शर्माबाट असम्भव अप्रेसन थियो, त्यसैले सफल हुन सकेन अनि बिरामीको मृत्यु भयो ।
डा. शर्माका विभिन्न मेडिकल टेस्टहरू भए, तर त्योभन्दा पनि आश्चर्य र संयोगको समाचार- दुनियाँको मुटु चिरेर निको पाने डा. शर्माको आफ्नै मुटु पुरै क्षतिग्रस्त भैसकेको रहेछ ।
यो समाचार देश-विदेश सबैतिर फैलियो । उनको चाँडो भन्दा चाँडो अप्रेसन गर्नुपर्ने भयो ।
विडम्बनाको कुरा के भने, उनको अप्रेसन गर्न सक्ने सबैभन्दा योग्य डाक्टर उनी आफैं थिए । अस्पतालको शैय्यामा सुतेर मेडिकल रिपोर्ट हेर्ने क्रममा डा. शर्मा नराम्रोसँग आत्तिए । आफूले अप्रेसन गर्ने मानव मुटुका कुना कन्दरा सम्झिए । उनी यस्तो अवस्थामा थिए, आफ्नो अप्रेसन के कसरी गर्न सकिन्छ सैद्धान्तिक ज्ञानमात्र अरू डाक्टरलाई बाँड्न सक्थे, तर अपसोस, अप्रेसन थ्योरीबाट मात्र चल्दैनथ्यो ।
यतिबेला आएर उनी ठूलो पश्चात्तापमा परे ।
आफूले 'सबै मान्छे डा. शर्मा कहाँ हुन सक्छ ?' भनेको सम्झिए । आफू बेहोस हुँदा आधा अप्रेसनका कारण ज्यान गुमाउन पुगेको बिरामीलाई सम्झिए । उनलाई भयंकर पश्चाताप भयो । अस्पतालको शैय्यामा आँसु झार्दै अपसोच मनाउ गरिरहे ।
उनलाई त्यतिबेला मात्र होस आयो, देशमा एउटा मात्र होइन, थुप्रै डा. शर्माको आवश्यकता छ । यति ठूला डाक्टर, यति धेरै पढेलेखेका, ज्ञानी तथा सज्जनलाई जीवनको मामुली कुराको चेतना मर्ने बेलामा मात्र भयो कि— आफूमा भएको ज्ञान र क्षमता आफूमा मात्र राख्नू नहुने रहेछ ।
केही सीप नलागेपछि उनीपछिका चर्चित एक डाक्टरले उनको अप्रेसन गर्ने भए । उनीभन्दा बाह्र वर्ष जुनियर । त्यतिबेला डा. शर्माले आफ्नो ज्ञान उनीसँग सेयर गरे, तर त्यो काम लागेन । उनको मुटुको क्षतिको परिमाणलाई ती चिकित्सकको अप्रेसनले धान्न सकेन । यस्तो केशमा उनी आफैँ चाहिन्थ्यो । अन्ततः डा. शर्माको मृत्यु भएरै छाड्यो ।
डाक्टर शर्माको मृत्युको केही समयपछि उनलाई चिन्ने सबैले विश्लेषण गरे— एउटा अहंकारी डाक्टर मुटुको समस्याले भन्दा पनि बढी अहंकारले मर्यो ।