करिब १० वर्षअघि 'टाइम्स एफएम' मार्फत सञ्चार क्षेत्रमा आएका प्रदीप निरौला पछिल्लो समय टेलिभिजनकर्मी तथा म्युजिक भिडियो निर्देशकका रूपमा स्थापित भएका छन् । रेडियो सिटी एफएममा नेपाली चलचित्रसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दा-गर्दै प्रदीपले कान्तिपुर टेलिभिजनको चलचित्रसम्बन्धी कार्यक्रम 'रजतपट' मा आबद्ध हुने प्रस्ताव पाए । करिब तीन वर्ष उक्त कार्यक्रममा सक्रिय रहेकै बेला उनले कान्तिपुर टेलिभिजनकै समाचारमूलक कार्यक्रम 'कान्तिपुर आज' मा कार्यक्रम निर्माता तथा समाचार प्रस्तोताका रूपमा काम गर्न थाले । यो कार्यक्रममार्फत दर्शकमाझ प्रस्तुत भैरहेको बेला प्रदीपले कान्तिपुर टेलिभिजनकै नेपाली संगीतमा आधारित कार्यक्रम 'म्युजिक मेला' पनि तयार पार्न थाले । म्युजिक मेलामा सक्रिय रहने क्रममा म्युजिक भिडियो निर्देशन गर्ने प्रस्ताव आउन थाले । गायक स्वपरुराज आचार्यको स्वरको 'सँगै जीउने वाचा गरी' प्रदीपले निर्देशन गरेको पहिलो म्युजिक भिडियो हो । सुनील मास्केको संगीत तथा मनोजराजको स्वरको नयाँ गीतसम्म आइपुग्दा उनले निर्देशन गरेका म्युजिक भिडियोको संख्या ४० नाघिसकेको छ । गत फागुन ७ गते प्रसारण प्रारम्भ भएको 'कान्तिपुर गोल्ड' च्यालनका लागि मनोरञ्जनक गतिविधि समेट्ने कार्यक्रम 'गोल्ड न्यूज ई' को संयोजन तथा प्रस्तुतिमा सक्रिय प्रदीप कान्तिपुर टेलिभिजनकै दुई कार्यक्रम 'म्युजिक ग्यालेक्सी' तथा 'सिनेमा फेस्ट' का निर्मातासमेत हुन् । दुबै च्यानलका गरी सातामा ५ वटा कार्यक्रममा आवद्ध प्रदीपसँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्न : कार्यक्रम निर्माता र प्रस्तोतामध्ये कुन विधामा बढी रमाउनु हुन्छ ?
पृष्ठभूमिमा रहेर काम गरिने भएकाले कार्यक्रम निर्माणमै बढी रमाउँछु । निर्माताका रूपमा आफ्नो सिर्जनशीलता प्रस्तुत गर्न सकिन्छ ।
म्युजिक भिडियो निर्देशनमा कसरी आकषिर्त हुनुभयो ?
'म्युजिक मेला' बनाउने क्रममा संगीतकर्मीहरूले नै भिडियो बनाउन प्रस्ताव गर्नुभयो । विगतदेखि नै अधिकांश काम रहरलेभन्दा पनि प्रस्ताव आएपछि गर्ने बानी बसेको थियो । भिडियो निर्देशन पनि त्यसकै निरन्तरता हो ।
चलचित्रको निर्देशन गर्ने चर्चा चलेको थियो नि !
दुई-तीन जना निर्माताले चलचित्र निर्देशन गर्न प्रस्ताव गर्नुभएको पक्कै हो तर अहिले नै चलचित्रको निर्देशनमा हात हाल्ने बेला आइसकेको छैन । निकट भविष्यमै केही छोटा चलचित्र भने निर्देशन गर्दैछु ।