साप्ताहिक संवाददाता
नेपाल र भारतबीच फुटबल मैदानमा प्रतिस्पर्धाको लामो इतिहास छ । भारतीय फुटबल पछिल्लो समय नेपालको तुलनामा बलियो देखिए पनि यी दुई टिमबीच बराबरीको प्रतिस्पर्धा चलेको इतिहास छ । नेपालले भारतविरुद्ध सदैव दरिलो चुनौती प्रस्तुत गर्दै आएको छ ।
अहिलेको विश्वकप छनोट अगाडि नेपाल र भारतको राष्ट्रिय टिमबीच १५ खेल भैसकेका छन्, ती खेलमा नेपालविरुद्ध भारतकै प्रदर्शन प्रभावशाली रहँदै आएको छ । तीमध्ये दुई खेल यस्ता पनि छन्, जसलाई नेपाली फुटबलले सधैं सम्झि रहन्छ । पहिलो खेल सन् १९९३ को दक्षिण एसियाली खेलकुदको फाइनल थियो भने दोस्रो, सन् २०१३ मा काठमाडौंमै भएको साफ च्याम्पियनसिपको खेल थियो ।
सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा नेपालले एक मात्र स्वर्ण फुटबल मार्फत् नै जितेको थियोे । त्यतिबेला फाइनलमा भारतविरुद्ध नियमित र अतिरिक्त समयको खेल बराबरीमा सकिएपछि भएको टाइब्रेकर भने ४-३ ले नेपालको पक्षमा रह्यो । नेपालले भारतमाथि प्राप्त गरेको त्यो पहिलो औपचारिक जित थियो । त्यसपछि नेपालले सन् २००६ को एएफसी च्यालेञ्जकपमा भारतलाई ३-० ले हराए पनि त्यति बेला भारतले आफ्नो उमेर समूहको टिम मैदानमा उतारेको थियो ।
भारतविरुद्ध नेपालको पहिलो वास्तविक जित भने सन् २०१३ मा भएको खेलमा प्राप्त नतिजालाई मानिन्छ । उक्त खेलमा नेपालले ९० मिनेटको खेलमा भारतलाई पहिलोपल्ट हराएको थियो । उक्त खेलमा प्राप्त जितका दुई नायक अनिल गुरुङ र जुमानु राई अहिले पनि टिममै छन् । त्यति बेला टिमका प्रशिक्षक थिए, ज्याक स्टेफानोस्की । उनी पनि अहिले टिममै छन् ।