रानीकोटको मुख्य डाँडाबाट दक्षिणमा डोलेश्वर महादेव र पूर्वमा आशापुरी महादेव, दरबारसँगै मुनि बाघभैरव र केही तल कुशादेवी मन्दिर छ । पनौती अथवा बनेपा जाने छोटो बाटोका रूपमा पनि रानीकोटलाई प्रयोग गरिन्छ । रानीकोटबाट झन्डै ४५ मिनेटमा पनौती पुगिन्छ । रानीकोटमा घना जंगल भएकाले कालिज, लामपुच्छ्रे, कुकु, कोइली, तित्रा, च्याखुरा आदि रगीविरंगी चराहरू पाइन्छन् । चितुवा, बनविरालो, मृग, दुम्सी, बँदेल, सालक, खरायोजस्ता थरीथरीका बन्यजन्तुले रानीकोटमा आकर्षण थपेका छन् । रानीकोटको यहीँ आकर्षणले गर्दा पछिल्ला दुई वर्षयता धुलिखेल र नगरकोटबाट पनि धेरै मानिस रानीकोट पुग्न थालेका छन् ।
रानीकोटको शिरमा छ पानोरमा रिसोर्ट, जसले यात्रुको योजना पूरा गरिदिन्छ । यो रिसोर्ट त्यहाँ बस्ने एकमात्र बासस्थान हो । रिसोर्टमा स्थानीय कुखुरा तथा खसीको मासु चाख्न पाइन्छ । ‘हामी धेरैलाई सुविधासम्पन्न तरिकाले बसाउन चाहन्छौं,’ पानोरमा रिसोर्टका सञ्चालक पीपी थुलुङ भन्छन्, ‘समूहमा वा प्याकेजमा एकसाथ ६० जनासम्मलाई सेवा दिन सक्छौं ।’ अहिले यो रिसोर्टमा सुविधासम्पन्न १२ वटा टेन्ट तथा दुईवटा आकर्षक कोठा उपलब्ध छन् ।