कल्पना वान्तवा, लेखक/समीक्षक
नेपाली साहित्यमा महिला लेखकले समयअनुसार लेख्न नसकेको गुनासो सधैं गरिन्छ । यसरी गुनासो गर्नेमा महिलाहरू नै बढी छन् । नेपाली साहित्यले गुणात्मक मात्र होइन, व्यवसायिक सफलतासमेत हासिल गरिरहेका बेला महिला लेखक कहाँ छन्, कुन–कुन लेखकका कस्ता कमजोरी छन् भन्ने कुरा खोजीको विषय हुने गरेको छ । यसपटक साप्ताहिकले यही विषय उठान गरेको छ लेखक–समीक्षक कल्पना वान्तवामार्फत । ‘कायाकल्प’ उपन्यासकी लेखिका एवं समीक्षक वान्तवाले महिला लेखनका सम्बन्धमा खुलेर कुराकानी गरिन् ।
नेपाली महिलाको लेखन स्तर वृद्धि हुन नसकेको चर्चासँग सहमत हुनुहुन्छ ?
सहमत छु । ‘शिरीषको फूल’ लेखिएको आज ५० वर्ष पुग्यो । महिलाले लेखेका उत्कृष्ट कृतिको चर्चा गर्दा पहिलो नम्बरमा हामीले त्यही उपन्यासको नाम लिनुपर्छ । त्यो जुन कोटिको उपन्यास छ, त्यसले पनि हामीलाई पारिजातभन्दा माथि जान दिँदैन । त्यसबाहेक पारिजातका अन्य कृति पनि आ–आफ्नो स्थानमा उत्तिकै सशक्त छन् । उहाँ दार्जीलिङबाट आए पनि उहाँको भाषा, प्रस्तुति, विषयवस्तुको उठान कतैबाट पनि काठमाडौंबाहिरको जस्तो लाग्दैन । शब्द–शब्द रैथाने लाग्छन् । उहाँका सबै साहित्य यहीँ उब्जिएका र झ्याङ्गिएका छन् ।
पारिजातसँग दाँजिने खालका साहित्यकार पाउन सकिएन, तर उनको नजिक–नजिक पुग्न सक्ने कुनै लेखिका देख्नुभएन ?
धेरै महिला लेखकलाई एक ठाउँ उभ्याउनुभयो भने बल्ल एउटी पारिजात जस्तो उचाइ देख्न सकिन्छ । यो खुसीको कुरा होइन । पारिजातको माक्र्सवादी चिन्तनलाई आन्विका गिरीले अघि बढाउने प्रयास गरेकी छिन्, तर कला र शैली पक्ष हेर्दा धेरै कमजोरी देखिन्छ । कहिलेकाहीँ लाग्छ, हामी मेहनत नै गर्दैनौ । पारिजातले शिरीषको फूल लेख्नुअघि तीनवटा उपन्यास च्यात्नुभएको थियो । हामी आफूले लेखेका सबै कुरा छाप्न चाहन्छौं । अर्को कुरा, पुनर्लेखनमा उति ध्यान दिँदैनौं । मैले आफैं कायाकल्पको पुनर्लेखन गर्नुअघि र पछिको ड्राफ्ट हेर्दा यो कुरा छर्लङ्ग भयो । हामीले अझै धेरै मेहनत गर्नुपर्छ ।
महिला लेखिकामध्ये कुन नाममा राम्रो सम्भावना देखिरहनुभएको छ ?
प्रकाशित कृति हर्दा शारदा शर्मामा त्यो सम्भावना देखिन्छ । उहाँ कला पक्षमा निकै ध्यान दिनुहुन्छ । प्रस्तुति र भाषामा पनि निखार ल्याउने प्रयास गर्नुभएको छ । जुन विषयमा लेख्ने हो, त्यो विषयमा उहाँको अध्ययन पनि फराकिलो नै देखिन्छ । सरस्वती प्रतीक्षाका कविता तथा उहाँले लेख्ने लेखहरूमा त्यो शालिनता देखिन्छ जसलाई नेपाली साहित्यमा सम्भावना भएकी लेखिका मान्न सकियोस् । त्यसपछि महिलाको यौनिकताका पक्षमा उमा सुवेदीले ‘तोदा’ उपन्यास जसरी लेख्नुभएको छ, त्यसको प्रशंसा गर्नुपर्छ । तैपनि उहाँको कला पक्ष निकै कमजोर छ ।
अरू सम्भावना भएका महिला भेट्न सकिँदैन ?
सीमा आभासको अभिव्यक्तिमा आगो ओकल्ने जुन उग्रता छ, त्यो पनि मलाई विशेष लाग्छ । यस्तो हिम्मत गर्ने महिला कमै छन् । यता कवि बिमला तुम्खेवाका कृति सशक्त मात्र होइनन्, सम्मोहनकारी पनि छन् । यस अर्थमा म विमला तुम्खेवालाई पनि सरस्वती प्रतीक्षाकै हाराहारीमा राख्छु । त्यसपछि मनीषा गौचन र उषा शेरचनका प्रस्तुति आउँछन् । तैपनि यी सबै नाम एक ठाउँमा राख्दा पनि हामी पारिजातको स्तरको स्रष्टा फेला पार्न सक्दैनौं । सबैमा केही न केही कमजोरी देखिन्छ ।
पुरुषले लेखेको कुन कृति महिलाले लेखेको भए पनि हुन्थ्यो भन्ने लाग्छ ?
अमर न्यौपानेको ‘सेतो धरती’ किन कुनै महिलाले लेखेनन् भनेर थकथकी लाग्छ । अमरजीले त्यो कृतिमा महिलाको भावना मज्जाले ल्याउन खोज्नुभएको छ तर अझै पर्याप्त छैन । महिलाले लेखेको भए अझ सशक्त हुन सक्थ्यो । विशेष गरी प्रसव वेदनाका वेला आएका शब्दहरू त साह्रै हलुका लाग्छन् । यस्तै ‘कर्नाली ब्लुज’का केही प्रसङ्ग मन छुने खालका छन् । यी दुवै कृति महिलाले लेखेको भए नेपाली साहित्यमा महिलाहरूको स्थान कहाँ हुन्थ्यो होला ?
तपाईं आफैं नयाँ कृति लेख्दै हुनुहुन्छ, कस्तो छ सम्भावना ?
मलाई कायाकल्पको कला पक्ष राम्रो लाग्छ । त्यसमा मैले प्रशंसा पनि पाएकी छु । नर्सिङ पेसाबाट केही समयका लागि छुट्टी लिएर दोस्रंो उपन्यास ‘कल्की’ लेख्दैछु । मेरा पनि आफ्ना कमजोरी छन् । के कारणले हो, महिलाहरूले उपल्लो स्तरको कृति दिन सकेका छैनन् । त्यसमा म पनि पर्छु । तैपनि निराश भैहाल्नुपर्ने अवस्था छैन । एक न एक दिन हामी माथि जान्छौं भन्ने विश्वास छ ।