भारतविरुद्धको इन्टरनेसनल फ्रेन्ड्लीपछि नेपाली फुटबल टिम फेरि प्रशिक्षणमा ब्यस्त भैसकेको छ । अब नेपालको लक्ष्य हो— भारतमा हुने साफ च्याम्पियनसिप फुटबल । गत साता नै नयाँ प्रशिक्षक प्याट्रिक अजम्सले पनि आफ्नो जिम्मेवारी सुरु गरिसकेका हुन् । भारतमा नेपालले खेल्दा ध्रुव केसी प्रशिक्षक थिए, अब केसीको स्थिति के हुने हो, प्रस्ट छैन ।
अजम्सको नियुक्तिसँगै नेपाली फुटबलमा एकखालको तर्क–वितर्क पनि सुरु भएको छ, के नेपाललाई विदेशी प्रशिक्षक नै चाहिन्छ ? के राष्ट्रिय टिमका लागि नेपालकै प्रशिक्षक पर्याप्त छैनन् ? यो विषयलाई पछिल्लो पटक उठाउने प्रशिक्षक केसी नै थिए र संयोगले उनी नै एक खेल भन्दा बढी टिक्न सकेनन् । नेपाली अथवा विदेशी फुटबल प्रशिक्षकको उपलब्धिको रिपोर्ट कार्ड भने यस्तो छ ।
सन् २००५ मा पाकिस्तानको कराँचीमा भएको चौथो साफ च्याम्पियनसिपपछि नयाँ पुस्ताका खेलाडीका आधारमा नेपाली फुटबलमा नयाँ समय सुरु भएको मानिन्छ । त्यही समयदेखि नेपाली राष्ट्रिय टिममा एन्फा एकेडेमीका खेलाडीको उत्पादनको प्रवेश भएको थियो । त्यसअघि लगातारको खराब प्रदर्शका कारण नेपालले दुई वर्ष जति अन्तर्राष्ट्रिय फुटबल नै खेलेको थिएन् ।
चौथो साफ च्याम्पिनसिपपछि नेपालले अहिलेको भारतविरुद्धको फ्रेन्ड्लीसम्म कुल ११ प्रशिक्षक प्रयोग गरेको छ । तीमध्ये ५ विदेशी छन् भने ६ नेपाली । सफलताको प्रतिशत निकाल्न जितमा तीन, बराबरीमा एक र हारमा शून्य अंक राखिन्छ ।
कराँचीमा जापानका तोसिहिरो सिवाजावाले नेपाली टिम सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले तीन खेल मात्र खेल्यो र सफलता प्रतिशत रह्यो, ३३ दशमलव ३३ प्रतिशत । त्यसपछि श्याम थापा आए । उनलाई पनि विदेशी प्रशिक्षक मानिएको छ । थापाको नेतृत्वमा नेपालले सात खेले खेल्यो । त्यसमा पनि सफलताको प्रतिशत रह्यो, समान ३३ दशमलव ३३ प्रतिशत । त्यसपछि भीम थापाले दुई खेलमा राष्ट्रिय टिम हेरे । त्यसमा एक जित र अर्को हार रह्यो, यस्तोमा उनको सफलता ५० प्रतिशत रह्यो । त्यसपछि नेपाली टिम हेर्न जर्मनीबाट थोमस फ्लाथ आए । उनको नेतृत्वमा नेपालले पाँच खेल खेल्यो र सफलता प्रतिशत रह्यो, ६० प्रतिशत । ती पाँच खेलमध्ये नेपाल तीनमा विजयी भएको थियो । त्यसयता लगातार तीन नेपाली प्रशिक्षकले राष्ट्रिय टिम हेर्ने अवसर पाए । त्यसमध्ये सफलताका आधारमा विराट श्रेष्ठको प्रदर्शन ३३ दशमलव ३३, योगम्बर सुवालको प्रदर्शन ३३ दशमलव ३३ तथा कृष्ण थापाको ३७ दशमलव ५ प्रतिशत रह्यो । त्यसयता ग्राहम रोबर्टसले लामो समय नेपाली टिम सम्हाले ।
उनका नेतृत्वमा नेपालले १७ खेल खेलेको थियो र सफलता रह्यो, ४३ दशमलव १३ प्रतिशत । त्यसपछि ज्याक स्टेफानोस्की आए । उनको नेतृत्वमा नेपालले १६ खेल खेल्यो । उनको सफलता २५ प्रतिशत मात्र रह्यो । त्यसबीच राजुकाजी शाक्यले दुई खेलमा प्रशिक्षकको भूमिका निर्वाह गरे र दुवै खेलमा नेपाल पराजित भयो । एक बराबरीका आधारमा ध्रुव केसीको सफलता प्रदर्शन ५० प्रतिशत रह्यो । अब निचोडमा कसलाई बढी सफल मान्ने, नेपाली प्रशिक्षकलाई कि विदेशी प्रशिक्षकलाई ?