नेपालको अन्डर–१९ राष्ट्रिय टिमका भरपर्दा खेलाडी हुन्— अनन्त तामाङ । मैदानमा जर्सी नम्बर–४ मा देखिने अनन्त २०६७ सालमा अन्डर–१४ राष्ट्रिय टिममा छनौट भएपछि निरन्तर उमेर समूहको राष्ट्रिय टिममा छन् । यू–१९ टिममा उपकप्तानको जिम्मेवारी पाएका ६ फुट अग्ला अनन्तसँग साप्ताहिकको पाँच प्रश्न :
कस्तो रह्यो यसपटकको साफ च्याम्पियनसिप ?
सुखद रह्यो । ऐतिहासिक बन्यो । टिम वर्क राम्रो थियो । हामी सबैको मेहनतले उपाधि जित्न सफल भयौं ।
साप च्याम्पियनलगत्तै मैत्रीपूर्ण खेलका निम्ति भारतको पुणे पुग्नुभयो । अग्रज खेलाडीहरूसँग खेल्दा कस्तो अनुभव भयो ?
केही पनि फरक लागेन । यू–१९ को खेलको अनुभवले पुणेमा खेल्न सहज भयो । मैदानभित्र खेलाडीका रूपमा प्रवेश गरिसकेपछि स्वभाविक खेल खेल्नुपर्छ । त्यसैले नतिजाको चिन्ता नगरी पूर्ण आत्मविश्वासका साथ पूरै समय खेलेँ ।
फुटबलमा कसरी लाग्नुभयो ?
हाम्रो घर रहेको झापाको झिलझिलेमा क्रिएटिभ स्पोर्टिङ क्लब थियो । उक्त क्लबबाट नियमितजसो प्रतियोगिता सञ्चालन हुन्थ्यो । दाइ फुर्वा तामाङ पनि सोही क्लबबाट खेल्नुहुन्थ्यो । म पनि दर्शकका रूपमा त्यस्ता प्रतियोगिताहरूमा सहभागिता जनाउँथें । बिस्तारै–बिस्तारै म पनि खेलमा सहभागी हुन थालेँ । स्थानीय पशुपति एकेडेमीमा कक्षा ९ मा अध्यनरत छँदा एन्फाले यू–१४ छनौटका निम्ति काठमाडांैमा आयोजना गरेको फुटबल प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएँ र छनौट पनि भएँ ।
छनौट भएपछि कस्तो अनुभव गर्नुभयो ?
केटाकेटी उमेर थियो, एकाडेमीमा फुटबल सिक्नु अनि आफ्नो अध्ययनलाई निरन्तरता दिनु मेरा निम्ति चुनौतीपूर्ण थियो । म यहाँसम्म आइपुग्नमा मेरे दाइ, आमा र बुबाको आशीर्वादको मुख्य भूमिका छ भने मुख्य प्रशिक्षक बालगोपाल महर्जनको पनि ठूलो योगदान छ । मलाई बालगोपाल महर्जनको सहयोग प्राप्त नभएको भए यो स्थानसम्म आइपुग्ने थिइनँ ।
नेपाली राष्ट्रिय टिमभित्र मन पर्ने खेलाडीे ?
धेरै छन् । मलाई सबै खेलाडीको खेल मन पर्छ तैपनि एकजनाको नाम लिनुपर्दा रोहित चन्दको खेलबाट म धेरै प्रभावित छु ।