साप्ताहिक संवाददाता
हामीले एउटा छिमेकीलाई चाहिनेभन्दा बढी टाउकोमा टेकायौं । उसलाई मात लाग्यो, हाम्रो भने विवेक हराउँदै गयो । अहिले बिउँझिएको अवस्था छ । तिहारमा दाउराको आगोमा थोरै भए पनि सेल पकाएर खुसी हुन्छौं होला, तर अब फेरि कसैले पनि कहिल्यै नाकाबन्दी लगाउन नसक्ने नीतिका बारेमा सोचिनुपर्छ ।
राम सिटौला, संगीतकार
तिहारमा पनि नाकाबन्दी भैरह्यो भने घर–व्यवहार नै अकल्पनीय रूपमा कष्टकर हुनेछ, तर भावनात्मक रूपमा भने हामी अझ दह्रो हुन्छौं ।
हेमन्त राना, गायक
आफ्नै बारीको उब्जनीलाई दाउरामा पकाएर खाइन्छ । तिहारमा तास खेल्न गोजीचाहिँ बन्द नभए हुन्छ ।
विष्णु सुवेदी, टेलिभिजनकर्मी
तिहारसम्म पनि नाकाबन्दी भैरहे सबैभन्दा राम्रो तिहार नेपाल आयल निगमका कर्मचारीको हुनेछ । मैले सुनेको धेरै पैसा तिरे ग्यास र पेट्रोल पाइन्छ रे !
डिजे राजु
नो देउसी, नो भैलो, सबै हुनेछ खल्लो ।
नम्रता श्रेष्ठ, नायिका
हामी नेपालीले दु:ख सहन सिकिरहेका छौं । योभन्दा दु:ख भए पनि सहेरै त बस्ने हो नि । सहन मात्र आउँछ हामी नेपालीलाई ।
आगन्तुक खरेल, गायिका
यो पाली चाइनिज भाषा सिकेर चीनको बोर्डरमा गएर देउसी खेल्नुपर्ला । अर्को वर्ष चीन र भारत दुवैलाई नेपालमा देउसी खेल्न बोलाउने ।
अनुराग कुँवर, अभिनेता
नाकाबन्दी भैरह्यो भने तिहारमा मीठो खान नपाएर ‘मुखाबन्दी’ गर्नुपर्छ अनि तिहारमा बन्दी भएर बस्नुपर्छ ।
दीपाश्री निरौला, हास्य अभिनेत्री
धेरै दाजुभाइ आफ्ना दिदीबहिनीहरूको हातको टीकाबाट वञ्चित हुनेछन् । अनि कालोबजारियाहरूले देश चलाउनेछन् ।
भोजबहादुर गुरुङ, निर्देशक
पारि उनीहरूले दिवाली मनाउने छन्, वारि हाम्रो ‘दिवाला’ निस्कनेछ ।
रिस्ता बस्नेत, नायिका
यसपालिको दसैंजस्तो तिहार पनि दिक्कलाग्दो हुने पक्का छ ।
कमलमान सिंह, गायक
दसैंमा बुवा र आफन्तहरूको हातबाट टीका थाप्न पाइएन, तिहारमा भाइटीकाका दिन निधार रित्तो हुने भयो ।
प्रमोद अग्रहरि, अभिनेता
तिहारमा पनि नाकाबन्दी भैरह्यो भने हामी नेपाली ठहर्छौं । नेपाली हौं भने सामूहिक रूपमा सिंहदरबार, बालुवाटार र शीतल निवास घेर्नुपर्छ । होइन भने राष्ट्रियता बेचे हुन्छ ।
भुपेन्द्र खड्का, गीतकार
नेपालीहरूले पटाका पड्काउन पाउँदैनन्, किनभने अघिल्ला वर्षहरूमा पटाकाको कालोबजारी गर्नेहरू यसपटक ग्याँस र पेट्रोलको कालोबजारीमा व्यस्त छन् ।
प्रकाश सुब्बा, कलाकार