पाका साहित्यकार तुलसी दिवस लोकसाहित्यका विज्ञ मानिन्छन् । लामो समयसम्म लोकसाहित्यको अध्ययन, अध्यापन एवं अनुसन्धानमा बिताएका दिवसका प्रेम कविता एवं प्रेम कथा नयाँ पुस्ताले अहिले पनि रुचिपूर्वक पढ्छन् । अविवाहित तुलसी दिवसले तीन दशकभन्दा बढी समय विभिन्न कलेजमा लोकसाहित्य पढाए भने जापानका विभिन्न अध्ययन प्रतिष्ठानहरूमा धेरै वर्ष भिजिटिङ प्रोफेसरका रूपमा काम गरे । दसैं–तिहार आएसँगै मानिसमा आउने फेस्टिब मुड र यसको लोकसांस्कृतिक पक्षका बारेमा तुलसी दिवससँगको कुराकानी :
चाडपर्वमा मानिस किन खुसी हुन्छ ?
चाडपर्वमा मानिस किन खुसी हुन्छ भन्ने विषय खोज्दा मानिस को हो भन्ने कुरा खोज्यो भने त्यसको संयक उत्तर भेट्न सकिन्छ । मानिस म्ूलत: खुसी खोजिरहने प्राणी हो । मानिस नयाँ परिकार पाएर खुसी हुन्छ । मानिस नयाँ लुगाफाटा लगाउन पाउँदा खुसी हुन्छ । मानिस नयाँ संगीत, वाद्यवादन एवं नृत्यमा खुसी हुन्छ । मानिस समूहमा बस्न रुचाउँछ । जब समाजका सबै मानिसले एकैपटक यी सबै कुरा पाउँछन्, त्यो बेला खुसीको सञ्चार सबैतिर हुन्छ । चाडपर्वमा मात्र यो कुरा सम्भव छ ।
हाम्रा दसैं–तिहारजस्ता पर्वमा संगीत पक्ष बलियो देखिन्छ, यसको कारण के होला ?
हाम्रो मात्र होइन, संसारभरिका सबै चाडपर्वमा संगीत पक्ष बलियो हुन्छ । गीत–संगीत आदिकालदेखि नै खुसी व्यक्त गर्ने माध्यमका रूपमा आएका छन् । मान्छेले जब आफ्नो खुसी व्यक्त गर्न चाह्यो, उसले आफ्ना भावना लयात्मक रूपमा प्रस्तुत गर्न थाल्यो । दसैंमा मालश्री धुन, तिहारमा देउसी–भैलो यसैको उदाहरण हो । दसैं–तिहारजस्ता पर्वका पछाडि देवी, देवता वा कुनै बीर गाथा गाइनुुको कारण आफ्ना बीर पुर्खाप्रति सम्मान गरिएको हो । चाडपर्व या त कुनै वीर पुरुषको विजयमा या त कुनै उद्धारकर्ताको आगमनको उल्लासमा, स्वागतमा मनाइन्छ । यस्ता उत्सव रंगीन बनाउन मानिस रंगको, संगीतको, नृत्यको, गीतको साहारा लिँदा पर्वमा संगीत पक्ष बलियो देखिएको हो ।
अहिले हाम्रो चाड–पर्वको स्वरूप परिवर्तन हुँदै गएको छ । यसमा तपाईंको कुनै टिप्पणी छ ?
चाडपर्वभन्दा पनि हाम्रो समाज परिवर्तन भैरहेको छ । जुन गतिमा समाज परिवर्तन भैरहेको हुन्छ, त्यो गतिमा सांस्कृतिक परिवर्तनको गति निकै सुस्त हुन्छ । समयअनुसार कुनै कुरा परिवर्तन भएन भने, फैलिएन भने, त्यसलाई विस्तृत समाजले स्वीकार गरेन भने त्यो पर्व दुब्लाउँदै जान्छ । त्यो पर्वका रूपमा रहँदैन, उल्लासका रूपमा रहँदैन । हामीले हाम्रो संस्कृतिको झ्याल–ढोका खुल्ला राख्नुपर्छ । सबैले प्रवेश गर्ने खालको बनाउनुपर्छ । नयाँ पुस्ताले स्वीकार गर्ने खालको पर्व नै मौलाउँदै–फैलँदै जान्छ । म व्यक्तिगत रूपमा पर्वहरू समयसँगै परिवर्तन हुनुपर्छ भन्ने पक्षमा छु । आज नेपाली गीत समयानुकूल परिवर्तन भएकै कारण सहरमा पनि लोकप्रिय छ । हामीले हाम्रा लोकगित धान रोप्दै, धान भित्र्याउँदै वा कुनै त्यस्ता अन्नको स्वागतमा गाएका थियौं, अब सहरमा पनि त्यही परिवेश खोज्ने हो भने त्यो मरेर जान्छ । अहिले काठमाडौंमा तराईको छठ, पूर्वी पहाडको धान नाच वा पश्चिमको देउडा खुलामञ्चमा नाचिरहेको भेटिन्छ । चोक–चोकमा लोकदोहोरी रेस्टुराँ खुलेका छन् । ती नृत्यको पुरानो परिवेश त त्यहाँ छैन । लोकसंस्कृतिले नयाँ परिवेश निर्माण गरेर आफ्नो स्वादलाई निरन्तरता दिन्छ । आज नेपाली चलचित्रका लोकगीतमा विभिन्न जात–जातिको भाषा शैली उतारिएको हुन्छ । यसो नगरी दृश्यमा गहिरो स्वाद आउँदैन । लोक फ्लेवर भएका गीत पनि लोकप्रिय हुने गरेका छन् । यसको अर्थ के हो भने हामीलाई लोकका कुरा मनपर्छ । त्यसलाई समयानकूल परिवर्तन गर्दै लानुपर्छ । हिजो देउसी–भैलोमा मादलको ताल थियो आज गिटार बज्न थालेको छ, यो स्वभाविक हो ।
आजको युगमा जुन गतिमा विश्वका सबै पर्व सजिलै प्रवेश भैरहेको छ, त्यसले हाम्रो संस्कृतिमा खतरा देख्नुहुन्न ?
इन्टरनेट वा अन्य सञ्चारका माध्यमका कारण बाहिरी चाड–पर्वले प्रधानता पाउनु स्वभाविक हो । यो खतराको विषय होइन । अरूको पर्व हामीले स्वीकार गर्नुको अर्थ त्यसमा हाम्रो मन छुने केही कुरा छन् । यही कारणले हामीले त्यसलाई स्वीकार गरेका छौं । ती पर्वले आफूलाई समायानुकूल परिवर्तन गरे । हामीले आफ्नो पर्वमा त्यस्तै समायानुकूल परिवतर्न गर्न सक्छौं । हाम्रा पर्वमा मानिसलाई त पुजिन्छ नै, पशुपन्छीको पनि पूजा गरिन्छ । यो हाम्रो गज्जबको संस्कृति हो । आजको समयमा यसको विशिष्टता सबैले स्वीकार गर्छन् । यी पर्वलाई हामीले पनि त्यसैगरी ग्लामराइज गरेर अघि बढाउनुपर्छ । ठूला सेलिब्रेटी, साहित्यकार, संगीतकार र सबै पक्षले यसको पक्षमा काम गर्ने हो भने हाम्रा पर्व पनि विश्वव्यापी बन्छन् ।
तपाईंलाई तिहारको कुन पक्ष मनपर्छ ?
यसको संगीतपक्ष असाधारण छ । महिलाहरूको भैलेनी, पुरुषहरूको देउसुरे संस्कृति मनोरम छ । औंसीको रात भैलेनीको मधुर गायन, घरघरमा पुगेर भैलेनी गाउने र आशिष दिने चलन रमाइलो छ । पुरुषहरूमध्ये नाइकेले भट्याउने र अरूले त्यसलाई छोप्ने शैलीको आफ्नै सौन्दर्य छ । पहिले पहिले एक दिन भैली खेल्ने र एक दिन देउसुरे खेल्ने चलन थियो । आजभोलि यो मिसिएको छ । यो पर्व कुनै संस्था विशेष, पार्टी विशेषको प्रचारको थलो पनि हुँदै गएको छ । चन्दा जम्मा गर्ने माध्यम पनि बन्न थालेको छ । समयअनुसार यो परिवर्तन स्वभाविक हो, तैपनि यसको सांस्कृतिक पक्ष बचाउँदै अघि बढ्नुपर्छ । नत्र कालान्तरमा यसको सांस्कृतिक सौन्दर्य हराउने र चन्दा माग्ने परम्परा मात्र बाँकी रहने सम्भावना पनि देखिन्छ ।
तपाईं एउटा साहित्यकार भएका नाताले लेखनमा यो संस्कृति हराउँदै गएको देख्नुहुन्न ?
संस्कृति कहिलै हराउँदैन, परिवर्तनशील हुन्छ । परिवर्तनको पदचापलाई समाएर लेख्ने हो भने त्यस्ता कृति सफल हुन्छन्, नयाँ पुस्ताले मन पराउँछन् । पाठकको ह्दय समातेर, समय, काल र परिस्थितिमा त्यसलाई ढालेर लेख्ने हो भने लोकसंस्कृतिले मानिसको ह्दयको विणा बजाइदिन्छ । त्यो रुचिकर हुन्छ । पाठकको मन अनुकूल नहुने कुरा गर्दै म संस्कृति बचाउँछु भन्ने हो भने त्यो दु:स्वप्न मात्र हुन्छ । त्यो लेखन अस्वीकृत हुन्छ ।