साप्ताहिक संवाददाता
प्राय: व्यवसायिक फुटबल हेरिरहेका खेलप्रेमीहरूले यसपटक पोखरामा बेग्लै खेल हेर्ने अवसर पाए । उक्त रोमाञ्चक फुटबल हेर्न स्थानीय रंगशालमा दर्शकको बाक्लो उपस्थिति देखियो । मैत्रीपूर्ण रूपमा खेलाइएको खेलमा अभिनेता शिव श्रेष्ठदेखि पछिल्लो पुस्ताका नायक सलोन बस्नेतसम्म मैदानमा उत्रिएका थिए ।
हास्यकलाकार दीपाश्री निरौला मैदानमा उत्रिँदा दर्शकले हुटिङ गरे । निलो जर्सीमा मैदान प्रवेश गरेकी निरौलाले ठट्यौली पारामा भनिन्, ‘म गजबैसँग फुटबल खेल्छु ।’ प्रशान्त तामाङ, निखिल उप्रेती, रमेश उप्रेती, धिरेन शाक्य, शंकर बिसी, गोपाल नेपाल ‘फिस्टे’, राजेन्द्र खड्की, केशव भट्टराई, अर्जुन कार्की आदिले खेलमा रौनक थपे । नायिका झरना थापा पनि केही समय जर्सी लगाएर मैदानमा भिडिन् ।
कलाकारका तर्फबाट शंकर बिसीले बाजी मारे । उनले खेल अवधि भर तीन गोल गर्दै ह्याट्रिक गरे । त्यस्तै पोखरेली व्यवसायीका तर्फबाट पूर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जितले २ गोल तथा लालकाजी श्रेष्ठले १ गोल गर्दै खेललाई बराबरीमा पुर्याए । निर्देशक सोभित बस्नेत एवं नृत्य निर्देशक सुरेन्द्र शाहले उद्घोषण गर्दै खेलाडीहरूलाई हौसला प्रदान गरे । केही कलाकारले भने मैदानबाहिरै बसेर खेलको मज्जा लिए ।