साप्ताहिक संवाददाता
गायक कन्हैया सिंह परियारको संयोजनमा अमेरिकामा रहेका नेपाली कलाकारहरुको छाता संगठन नेपाली कलाकार महासंघ उत्तर अमेरिका स्थापना भएको छ । गायक नरेन्द्र प्यासी र अभिनेत्री कृष्टि मैनाली संरक्षक रहेको उक्त महासंघमा अमेरिकाका विभिन्न शहरबाट कलाकारहरुको संयोजन गर्दै सदस्यहरु चयन भएका छन् ।
प्रमुख संयोजकका रुपमा न्यूयोर्कबाट गायक सिंह रहेका छन् भने त्यसका सदस्यहरुमा बुद्धिसागर बस्याल (क्यानडा संयोजक), श्रीराम थापा (क्यालिफोर्निया संयोजक, बसिल अर्याल (टेक्सास संयोजक), पवन वली (भर्जिनिया संयोजक), मिन दर्लामी (सिकागो संयोजक), रञ्जना शर्मा (न्यूयोर्क संयोजक), श्याम गुरुङ (बाल्टिमोर संयोजक), रमेश परियार (वासिङटन डिसी संयोजक ) छन् ।
प्रमुख सल्लाहकारमा गायक प्रेमराजा महतसहित रवि लामिछाने, रविना थापा, रतन सुवेदी, खगेन्द्र जिसी तथा कानूनी सल्लाहकार विनोद रोका छन् । अमेरिकाबाट मिडिया कोअर्डिनेटर शरदविक्रम सिंह, किशन रेग्मी, विकासराज न्यौपाने, विष्णु पौडेल र नेपालबाट मिडिया कोअर्डिनेटरमा सुमन बैरागी रहेका छन् ।
महासंघमा अमेरिकाका सबै शहरहरुबाट नेपाली कलाकार संघ आबद्ध रहने बताइन्छ । गायन, बाद्यवादन, अभिनय, चलचित्र, संगीत, नाटक सबै विधामा पोख्त रहेका कलाकारहरु महासंघभित्र अटाउन सक्ने उद्देश्यका साथ नेपाली कलाकार महासंघ उत्तर अमेरिका स्थापना गरिएको गायक सिंहले जानकारी दिएका छन् ।