साप्ताहिक संवाददाता
वैशाख २७, २०७७
एसआरबीएन मिडियाले ‘रन्डेभु विथ सम्पदा’ नामक कार्यक्रम सुरु गरेको छ । लेखिका र सिनेकर्मी सम्पदा मल्लले सञ्चालन गर्ने यस कार्यक्रममा देशका विभिन्न क्षेत्रका दिग्गज र चर्चित व्यक्तित्वहरूसँग लकडाउनले उनीहरूको जीवनशैलीमा पारेको प्रभावको विषयमा भलाकुसारी गरिनेछ ।
यस कार्यक्रममा पाहुनाका रूपमा कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, अनिल केशरी शाह, माल्भिका सुब्बा, गौरी मल्ल, गौरिका सिंह, आसिफ शाह, सुरज सिंह ठकुरी, सत्य स्वरूप, अनुप बराल, दीया मास्के, विपिन कार्की छन् ।
‘लकडाउनले धेरैमा नकारात्मक भावनाहरू, भविष्यको चिन्ता पैदा भइरहेको छ । यो कार्यक्रमले सबैलाई हाँसो, उत्साह र प्रेरणा दिन सके यो कार्यक्रम सफल भएको ठान्नेछु,’ मल्ल भन्छिन् । कार्यक्रम एसआरबीएन मिडियाको गुन्द्रुक युटुब च्यानलमा हरेक दिन प्रसारण हुनेछ ।