साप्ताहिक संवाददाता
धुलिखेल अस्पतालमा बिहिबार कोभिड—१९ संक्रमणबाट एक महिलाको मृत्यु भएको पुष्टि भएको छ । बिहीबार राति १० बजे मृत्यु भएकी सिन्धुपाल्चोक, बाह्रबिसेकी २९ वर्षीया महिलाको मृत्युको कारण कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार साँझ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो । ‘यस सम्बन्धमा थप विस्तृत विवरण लिइएको र कोभिड–१९ सँग सम्बन्धित थप परीक्षणपश्चात नेपालमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
श्वासप्रश्वासमा समस्या आएपछि उनलाई बाह्रबिसेकै स्थानीय अस्पतालमा लगिएको थियो । उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि थप उपचारका लागि धुलिखेल अस्पतालमा ल्याउँदै गर्दा निधन भएको मन्त्रालयले जनाएको छ ।
श्वासप्रश्वास र ज्वरोको लक्षण भएपछि कोभिड–१९ को आशंकामा मृतक महिलाको बिहीबार नै स्वाब संकलन गरिएको थियो । जसको परीक्षण रिपोर्टमा शनिबार कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि पुन: परीक्षणका लागि उनको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । टेकुमा गरिएको परीक्षणमा पनि कोभिड पोजेटिभ देखिएको थियो ।
महिलाले त्रिवि शिक्षण अस्पतालमा महाराजगन्जमा बच्चा जन्माएकी थिइन् । नर्मल डेलिभरी भएपछि उनलाई २५ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो । त्यसपछि उनी बाह्रबिसेस्थित घर फर्किएकी थिइन् । हाल नेपालमा २ सय ८१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।