अमेरिकी उपन्यासकार कोल्सन ह्वाइटहेडले दोस्रो पटक पुलित्जर पुरस्कारबाट सम्मानित भएका छन् । ह्वाइटहेडलाई ‘द निकेल ब्वाइज’ उपन्यासका लागि सन् २०२० को उपन्यास विधातर्फको पुलित्जर पुरस्कार दिइएको हो ।
यसअघि ह्वाइटहेडले तीन वर्षअघि (सन् २०१७ मा) ‘द अन्डरग्राउन्ड रेलरोड’ उपन्यासका लागि यही पुरस्कार हासिल गरेका थिए । यस वर्षको पुरस्कार जित्ने उनको उपन्यास ‘द निकेल ब्वाइज’मा एक अफ्रिकी अमेरिकी बालकलाई फ्लोरिडाको बालसुधार गृहमा गरिएको अत्याचारलाई कथा बनाइएको छ । दोस्रो पटक पुलित्जर पाउने उनी चौथो लेखक हुन् । ह्वाइटहेडका ‘जोन हेनरी डेज’, ‘साग हार्बर’ लगायत पुस्तक प्रसिद्ध छन् ।
विश्वव्याधि कोभिड–१९ को महामारीका कारण पुलित्जर पुरस्कार घोषणा अनलाइनमार्फत नै गरिएको थियो । अमेरिकी प्रकाशक जोसेफ पुलित्जरले स्थापना गरेको पुलित्जर पुरस्कार सन् १९१७ देखि प्रदान गरिँदै आएको छ । हाल यो पुरस्कार विभिन्न २१ विधामा दिइन्छ । प्रत्येक विजेताले १५ हजार अमेरिकी डलर पाउँछन् ।