साप्ताहिक संवाददाता
गेटअप अनि स्टाइलका कारण उनी ‘डन’ जस्तै देखिन्छन् । उनी अर्थात् मीन पुर्जा पुनमगर आफ्नो अजंगको शरीरका कारण हरेकको नजरमा पर्दै आएका छन् । ६ फिट ३ इन्च अग्लो कदका मीनलाई पोखरामा सुपरम्यानका रूपमा चिन्नेहरू धेरै छन् । उनको गेटअप र स्टाइलकै कारण चलचित्रमा पनि उनलाई ‘डन’ कै चरित्र अफर गरिन्छ । उनले आधा दर्जनभन्दा बढी चलचित्रमा डनकै चरित्रमा अभिनय गरिसकेका छन् ।
अभिनयका कारण भन्दा पनि गेटअपले उनको चर्चा बढी हुने गरेको छ । उनी कुनै बेला भलिबल खेलाडीसमेत थिए । भलिबल खेल्दा खेल्दै कोरिया पुगेका मीन कोरियामा ८ वर्ष बसे । कोरियामै उनले आफ्नो लुक्स र स्टाइल परिवर्तन गरेका हुन् । उनी प्राय: अरूले नलगाएको र नजुध्ने पहिरन लगाउँछन् । पठानी पहिरनमा सजिन रुचाउने मीन भन्छन्– अरूभन्दा पृथक देखिन मन पराउँछु । मेला–महोत्सवमा पुग्दा मीनलाई सेलिब्रेटी मान्नेहरू तस्बिर खिचाउन झुम्मिन्छन् ।
उनको पहिरनदेखि हेयर स्टाइल सबै फरक छ । टप फ्लाट हेयर स्टाइल, दुवै कानमा कुन्डल, हातमा माला अनि औंलाभरि भिन्न–भिन्न खालका औंठी लगाउने मीन अमेरिकाको लोकप्रिय निग्रो शैलीका पारखी हुन् । १६ नम्बरको जुत्ता लगाउने मीनका लागि एउटा पाइन्ट सिलाउँदा ३ मिटर र सर्ट सिलाउँदा ४ मिटर कपडा चाहिन्छ । हङकङ आइडी बाहक मीन आफ्नो भिसा रिन्यु गर्ने क्रममा ३–३ वर्षमा हङकङ जाँदा आफूलाई चाहिने पहिरन उतै खरिद गर्छन् ।
गेटअप रफ देखिए पनि उनी नम्र स्वभावका छन् । विगतमा १ सय ३० किलोग्राम तौलका मीनले अहिले आफ्नो तौल १ सय २० किलोग्राममा झारेका छन् । एउटा सिंगो कुखुरा र १०–१२ वटासम्म अन्डा खाने मीनलाई एक छाकमा एक माना चामलको भात चाहिन्छ । हङकङमा रहँदा हल्का सवारी साधन उचालेर जुरुक–जुरुक पार्दा उनलाई देख्नेहरू छक्क पर्थे । हङकङमा स्थानीय चिनियाँहरू उनलाई ताइलो (चिनियाँ भाषामा ठूलो मान्छे) का रूपमा चिन्थे ।