डेढ वर्षअघि इलाका प्रहरी कार्यालय, इटहरी सरुवा भएर आएका डीएसपी विनोद शर्माले ‘यौन विकृति’ अन्त्य गर्ने भनेर होटलमा छापा मार्ने र त्यसका सञ्चालक एवं त्यहाँ कार्यरत युवती पक्राउ गर्ने अभियान चलाए । सात जना होटल व्यवसायीलाई पक्राउ गरेर मानव बेचबिखन कानुनअनुसार मुद्दा दर्तासमेत गरियो । यस क्रममा तीन दर्जनजति होटल बन्द भए । प्रहरीकै विवरणअनुसार ती होटलमा प्रलोभन तथा डर–धम्की दिएर गाउँगाउँबाट ल्याएर यौन व्यवसायमा लगाइएका ३ सयभन्दा बढी किशोरी थिए ।
प्रहरीले ती किशोरीलाई विभिन्न तालिम दिएर अन्य पेसामा लगाउने बताएको थियो । यद्यपि प्रहरीले धरपकड अभियान चलाएपछि ती किशोरी इटहरीबाट बेपत्ता भए । त्यहाँबाट पलायन भएका झन्डै ३ सय किशोरी कहाँ गए, अहिले कुन अवस्थामा छन्, कसैलाई जानकारी छैन । इलाका प्रहरी कार्यालय, इटहरीका वर्तमान डीएसपी ओम अधिकारी ‘उनीहरू प्रहरी प्रशासनको नजर कम परेको ठाउँमा पुगेको’ अनुमान गर्छन् ।
डीएसपी शर्माले पक्राउ परेका झन्डै डेढ दर्जन किशोरीलाई प्रहरी कार्यालयमा राखेर स्थानीय संघसंस्थाको समन्वयमा सिलाइकटाइ तालिम दिलाएका थिए । पछि कडा नियन्त्रणमा राखिएका किशोरीहरू भाग्न थालेको सीप सिकाउने जनचेतना संस्थाकी अध्यक्ष शिला गजमेर बताउँछिन् ।
त्यस्ता किशोरीहरूलाई तालिम, पुनस्र्थापना कार्यक्रममा आधारित अवसर परियोजना चलाइरहेको उप्का नेपालका राम नेम्वाङ त्यसरी भागेका युवती थप असुरक्षित हुने बताउँछन् । नेम्वाङका अनुसार ‘पहिले उनीहरूलाई महिला हिंसा, यौन शिक्षा, वैकल्पिक पेसा, व्यवसायका लागि प्रोत्साहित गर्न सकिन्थ्यो ।’ जोखिमपूर्ण अवस्थामा काम गरिरहेका २ सय १० किशोरी आफ्नो संस्थाको सम्पर्कमा रहेर जीवनोपयोगी शिक्षा र सीप सिकिरहेको बताउँदै परियोजनाका सुपरभाइजर नेम्वाङ भन्छन्, ‘किशोरीहरू सम्पर्कविहीन भएपछि उनीहरू बाध्य भएर थप जोखिमपूर्ण पेसामा संलग्न भएको आशङ्का छ ।’
होटल व्यवसायलाई केन्द्रित गरेर प्रहरीले कारबाही चलाएपछि अहिले होटल व्यवसायीले किराना पसल, सेकुवाघर र आफँैले कोठा भाडामा लिएका घरहरूलाई फाट्टफुट्ट यौन गतिविधिको सेल्टरका रूपमा प्रयोग गर्न थालेका छन् ।
‘सामान्य सेकुवा घरमा पनि बियर र सेकुवा खाएका ग्राहकलाई यसतर्फ प्रोत्साहित गरिएको
पाइयो,’ डीएसपी अधिकारीले भने, ‘दुई जना युवती राखेको भेटिएपछि केही समयअघि एक जना सञ्चालकलाई पक्राउ गरेर मुद्दा चलायौँ ।’ डीएसपी अधिकारी ‘युवतीहरूलाई पुन:स्थापना गर्न असाध्यै कठिन भए पनि बाध्यतावश यो क्षेत्रमा काम गर्ने युवतीहरूलाई विकल्प दिए अन्यत्रै पुनस्र्थापित हुने’ बताउँछन् ।
प्लान नेपालकी टंकमाया लिम्बू अवसर परियोजनाले सिलाइकटाइ, ब्युटिपार्लर चलाउने सीप सिकाएर रोजगारीमा लगाइदिने प्रयास गरिए पनि यो काम चुनौतीपूर्ण रहेको बताउँछिन् । १ सय ७० जना संस्थाको सम्पर्कमा आएकोमा १७ जना परामर्श कै क्रममा पलायन भएको लिम्बू बताउँछिन् । ‘सीप पनि नयाँ हुने, सिकेको कुरामा ‘पर्फेक्ट’ हुन पनि समय लाग्ने र उनीहरूमा धैर्यता नहुँदा सिकाउन गार्हो छ,’
प्रहरीले पक्राउ गरेर सीप सिकाउँदा किशोरीहरू भागेको प्रसंग झिक्दै लिम्बूले भनिन्, ‘हामीले पहिले उनीहरूलाई काउन्सिलिङ गर्दै मनोभावना बुझेर सिकाउँदाचाहिँ केही सफलता प्राप्त भएको थियो तर मार्केटिङ र दिगोपनको चुनौती छ ।’
परामर्शका क्रममा धेरैजसो युवतीमा पीर मान्ने, चिन्ता गर्ने, आत्महत्याको प्रयास गर्ने, उदास हुने, एक्लोपन देखिने, आफैंलाई दोषी मान्ने समस्या देखिन्छ । उनीहरूलाई परामर्शको खाँचो छ । परियोजनाअन्तर्गत बीएलओपी कक्षाकी एक सहजकर्ता भन्छिन्, ‘घुलमिल भएर सिक्न चाहने, सीप सिकाइदिने कुरा गर्दा कम्प्युटर तथा ड्राइभिङमा उनीहरूको आकर्षण देखिन्छ, तर त्यस्तो सीपको ‘स्कोप’ त्यति नभएकाले हामीले जोड गरेका छैनौँ ।’
सीप सिकाउँदा पनि किशोरीले कमाउने समय सीप सिक्नमै खर्च हुन्छ । त्यसैले ती किशोरीको पुनस्र्थापना सोचेजस्तो सजिलो नभएको सरोकारवालाहरूको बुझाइ छ । त्यस्ता युवतीहरूका लागि सुरक्षित वातावरण बनाउन होटल व्यवसायीलाई राखेर सर्वपक्षीय सहमति गरिएको छ । होटलहरूमा यौन विकृति बढेको भनेर एनजीओ तथा प्रहरी दुवै खनिएपछि होटल सञ्चालकले मिलेर इटहरीका होटललाई वर्गीकरण गरेर स्टिकर नै टाँस गरेका छन् । होटल व्यवसायी संघ इटहरीका सचिव उमेश दाहाल भन्छन्, ‘इटहरीमा पहिलेजस्तो विकृति छैन, अनुगमनका लागि सबैलाई स्वागत छ ।’
पीडकविरुद्ध दर्हो सजाय नभएसम्म किशोरी किनबेच र शोषण न्यूनीकरण हुँदैन । त्यसका लागि कानुन नै सहयोगी नभएको डीएसपी अधिकारी बताउँछन् । ‘पीडितले आफूमाथि शोषण भयो भनेर भनेपछि पीडकलाई जिउ मास्ने–बेच्ने कानुनअन्तर्गत मुद्दा लगाउन सकिन्छ,’ अधिकारी भन्छन्— ‘पीडितलाई कन्भिन्स गरेर प्रमाण जुटाई मुद्दा दायर गर्यो, पछि अदालतमा बयान फेरिदिन्छन् ।’
अधिकारीभन्दा अघिका डीएसपी शर्माले जिउ मास्ने बेच्नेअन्तर्गत मुद्दा चलाएर पुर्पक्षका लागि थुनामा पठाइएका व्यापारी जिल्ला अदालतबाट सफाइ पाएर छुटेका थिए । स्थानीय एक समाजसेवी भन्छन्, ‘बलियो कानुन र प्रतिबद्ध प्रशासन भयो भने शोषणबाट महिलाहरूलाई मुक्त राख्न र पीडकलाई कारबाही गर्न सकिन्छ । अन्यथा केही समयपछि समस्या जस्ताको तस्तै हुन्छ ।’
सञ्चारिका फिचर सेवा