साप्ताहिक संवाददाता
विग आइकनको छैटौँ संस्करण प्रारम्भ भएको छ । पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक संस्था बिग एफएमले ‘बिग आइकन’का बारेमा जानकारी दिएको हो । बिग एफएमका अनुसार यसपटक बिग आइकनमा सहभागिताका लागि ४२ जिल्लाका ९ सय ३ जनाले फारम भरेका छन् । ८ वर्षदेखि ७७ वर्षसम्मका वृद्धले बिग एफएममा सहभागिता जनाएको एफएमले बताएको छ ।
गायन प्रतिभालाई उत्कृष्ट मञ्च प्रदान गर्दै उनीहरूको बजारीकरण गर्न बिग आइकनको अवधारणा ल्याइएको बिग एफएमको दाबी छ । अहिलेसम्म पाँच जनाले यो उपाधि जितिसकेका छन् । बिग आइकनको यो सिजन करिब २ महिना चल्नेछ । दुई महिनाको बीचमा १९ चरणको अडिसन हुने बिग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिए ।
यसपटक बिग आइकनको निर्णायक मण्डल पनि पाँच जनाको छ । यसअघि निरन्तर निर्णायक रहँदै आएका श्यामसुङ तामाङ, सुनील थापा र विनोद बानियाँसँगै चर्चित गायकद्वय कर्णदास र विवेक श्रेष्ठ पनि निर्णायक रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा उत्कृष्ट १० प्रतिभा छनौटका लागि निर्णायकहरूको शतप्रतिशत अधिकार रहनेछ । उत्कृष्ट १० पछि उत्कृष्ट ३ सम्मको छनौटमा निर्णायकको अग्राधिकार रहनेछ । ग्रान्ड फिनालेमा भिड्ने तीन जना प्रतिस्पर्धीका लागि भने उत्कृष्ट छान्ने सर्वाधिकार श्रोताहरूको एसएमएस मतदानमा रहने एफएमले जनाएको छ ।