सौराहामा गत शनिबार प्रारम्भ भएको १२ औं चितवन हात्ती महोत्सव बुधबार सम्पन्न भएको छ । महोत्सवमा दर्शकले हात्तीका विविध प्रतिभा हेरेर रमाउने अवसर पाए । क्षेत्रीय होटल संघद्वारा आयोजित महोत्सवमा सबैको आकर्षण हात्ती सुन्दरी प्रतियोगितामा रह्यो । यो प्रतियोगितामा ५ वटा हात्तीको सहभागिता थियो । मंगलबार भएको फाइनल प्रतिस्पर्धामा ४ वटा हात्तीलाई पछि पार्दै उपाधि भने समृद्धिकलीले जितेको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाबाट प्रतिनिधित्व गर्ने ११ वर्षको समृद्धिकलीले उत्कृष्ट सिँगारपटार, क्याटवाक र माहुतेसँगको राम्रो सम्बन्धका कारण दर्शकको ताली तथा हुटिङ पाएको थियो ।
खचाखच दर्शकले भरिएको बाघमारा सामुदायिक वनको चौरमा आयोजित प्रतियोगितामा १३ वर्षको पुष्पाकली फस्र्ट रनर्सअप तथा १४ वर्षको वसन्तीकली सेकेन्ड रनर्सअप घोषित भए । निर्णायकले हात्तीको श्रृंगार, नङ, आँखाको चमक, कान, सुँडको सफाइ, फुर्तिलोपन तथा आनीबानी हेरेर सुन्दरी हात्तीको छनोट गरेका थिए । महोत्सवमा हात्तीहरूको मेला नै लागेको थियो । पहिलो पटक महोत्सवमा आएका दर्शक जताततै हात्ती देखेर निकै रमाए । महोत्सवमा हात्तीहरूबीचको सामूहिक वनभोजले रौनक थपेको थियो ।
वनभोजमा ८० वटा हात्ती सहभागी भए । उनीहरूलाई लाइन लगाएर गाँजर, उखु, बन्दा, फर्सी, स्याउ, सुन्तला तथा कुची ख्वाइयो । हात्तीको वनभोज हेर्न दर्शकको भीड लागेको थियो । एक दिन जंगल सफारी बन्द गरेर हात्तीलाई वनभोज ख्वाइएको हो । हात्तीलाई वनभोज ख्वाउँदा उसको रेखदेखमा खटिने माहुतेहरू पनि रमाए । उता हात्तीका छावाहरूबीचको फुटबल खेलले दर्शकको ध्यान खिचेको थियो । हात्तीका साना छावाले बल हान्दा दर्शकहरू हुटिङ गर्नमा व्यस्त देखिए । विदेशी दर्शकले समेत छावाहरूबीचको फुटबल खेल हेरेर रमाउने अवसर गुमाएनन् । यो वर्ष हात्ती दौडलाई परिमार्जन गर्दै आयोजित ‘हात्ती लम्काइ’ प्रतियोगितामा २० वटा हात्तीले प्रतिस्पर्धा गरे ।
महोत्सवमा टाँगा, डुंगा र गाडा दौडसमेत सम्पन्न गरिएको थियो । दर्शक हात्तीको खेल हेरेर मात्र रमाएनन्, चर्चित कलाकारको उपस्थितिमा कहिले हाँस्दै त कहिले नाच्दै महोत्सवको मज्जा लिए । महोत्सवको मुख्य आकर्षण हास्यकलाकार जीतु नेपाल ‘मुन्द्रे’ रहे । महोत्सवका सांस्कृतिक संयोजक दीपक अधिकारीका अनुसार महोत्सव अवधिभर लोकदोहोरी गायक मिलन लामाले गीत गाउँदै दर्शकहरूलाई नचाए । त्यस्तै सम्झना लामिछाने मगर, भुवन प्यासी, सावित्री जोशी, उमा गिरी, शान्ति परियार आदि कलाकारले गीत तथा नृत्यमार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे ।