गत महिना मात्र विश्व हात्तीपोलो खेल सम्पन्न भएको नवलपरासीको कावासोती नगरपालिका (तत्कालीन अग्यौली गाविस) स्थित अमलटारीका होम स्टेहरू प्रकृतिसँग रमाउन चाहनेहरूका लागि राम्रो गन्तव्य बनेको छ ।
यहाँ हात्ती सफारीका साथ नारायणी नदीमा बोटिङको आनन्द उठाउन सकिन्छ । गोरुगाडामा गाउँ घुमेर थारु संग्रहालय अवलोकन गरेर रमाउनेहरू पनि प्रशस्तै हुन्छन् । त्यसमा मुसहर तथा बोटे समुदायले चलाएको पोखरीमा माछा मार्दा सुनमा सुगन्ध थपिने गरेको छ । यहाँका २० घरमा सञ्चालित होमस्टेमा १९ घर थारु र एक घर बोटे छन् । होम स्टेमा बस्नेहरूका लागि रोजाई अनुसार लोकल कुखुरा, हाँसको छोइला, घुँगी, चिचर, माछा, सोझुवा रोटी, नुनमर्चाजस्ता स्थानीय खानेकुरा उपलब्ध गराइने जानकी महतोले बताइन् ।
होमस्टेमा एकपटकमा ८० जना पाहुना बस्न सक्छन् । यहाँ एक महिनामा ८ सय ४० पाहुनालाई आतिथ्य प्रदान गर्न सकिने होमस्टे व्यवस्थापन समितिका सचिव छन्नुराम महतो बताए ।
झमक्क रात पर्न थालेपछि सुरु हुने थारु सांस्कृतिक कार्यक्रममा लाठी नाच देखाएर होम स्टे बस्न गएकाहरूलाई नौलो अनुभूति गराइन्छ । बाँसको लाठी ठोक्काउँदै युवायुवती गीतको तालमा नाच्छन् । यो नाच ८ युवक र ८ युवती गरी १६ जनाको समूहमा नाचिन्छ ।
त्यसपछि झुमरामा २ युवती लेहंगा र चोलीमा नाच्छन् । झुमरामा एक युवकले सेतो सर्ट र धोतीमा युवतीलाई साथ दिन्छन् । ५ मिनेटको झुमरापछि जोगडा नाच सुरु हुन्छ । जोगडाले ५ मिनेट सबैको ध्यान तान्न नपाउँदै बोटे जातिको गोलिनी नाचले अर्कै स्वाद चखाउँछ । यो नाचमा १२ वर्षे युवक दौरा र युवती घलेक लगाएर नाच्छन् । आधा घण्टाको ४ वटा नाचपछि दर्शकले फर्माइस गरेको गीतमा सांस्कृतिक कार्यक्रम हुन्छ ।
अमलटारी पुग्न पूर्वबाट आउनेले नारायणगढ हँुदै र पश्चिमबाट जानेहरू बुटवल हँुदै पूर्वपश्चिम राजमार्गको डण्डा बजारबाट दक्षिण झर्नुपर्छ । राजमार्गबाट ६ किलोमिटर दक्षिणमा छ अमलटारी । अमलटारीमा ५ सय रुपैयाँमा एउटा कोठा पाइन्छ भने सादा खानालाई सय रुपैयाँ तिर्नुपर्छ । मागअनुसार माछा–मासु र कुखुराको परिकार तयार पारिन्छ । ३ हजार रुपैयाँमा थारुका नाच देखाइन्छ भने ३ सय रुपैयाँमा गोरु–गाडा सफारी गराइन्छ । बोटिङको ३ सय रुपैयाँ र हात्ती सफारीको १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै फिसिङ गरेको सय रुपैयाँ तिर्नुपर्छ भने १५ रुपैयाँमा संग्रहालय घुम्न सकिन्छ ।