साप्ताहिक संवाददाता
एसएलसी परीक्षा अवधिभर निम्न कुराबाट टाढा बसेर पूर्ण तयारीका साथ परीक्षामा सामेल हुन सके उत्कृष्ट नतिजा प्राप्त गर्न सजिलो हुन्छ ।
फेसबुक
पछिल्लो तथ्यांकअनुसार नेपालमा फेसबुक प्रयोगकर्ताहरूको संख्या करिब २० लाखभन्दा बढी छ । आधाभन्दा बढी प्रयोगकर्ता मोबाइलबाट फेसबुक चलाउँछन् । मोबाइल नहुने र फेसबुक नचलाउने विद्यार्थी कमै होलान् । फेसबुक प्रयोगकर्ताहरूमध्ये अधिकांश १६ देखि ३० वर्ष उमेर समूहका छन् । पछिल्लो समय नेपालमा पनि फेसबुकलाई प्रेमी/प्रेमिकासरह मान्नेहरूको संख्या बढ्दो छ । परीक्षाको तयारीमा रहेका विद्यार्थीहरू सम्बन्धित विषयको पुस्तकको सट्टा फेसबुकमा झुम्मिन थाले भने के होला ? फेसबुकको अधिक प्रयोग त्यसै त राम्रो होइन, त्यसमाथि परीक्षामा फेसबुक चलाउन थालियो भने त्यसले नतिजामै असर पुर्याउँछ । त्यस कारण परीक्षाको तयारीका क्रममा फेसबुकलाई चटक्कै बिर्सिदिनु राम्रो हुन्छ ।
गर्लफ्रेन्ड/ब्वायफ्रेन्ड
विद्यालय तहदेखि नै गर्लफ्रेन्ड र ब्वायफ्रेन्ड बनाउने चलन आजको पुस्ताका लागि नौलो होइन । ब्वायफ्रेन्ड र गर्लफ्रेन्ड बनाउनु नराम्रो नभए पनि यसको नाममा हुने मनपरीपन भने पक्कै राम्रो होइन, त्यसैले यसलाई नियन्त्रण गर्नुपर्छ । यो उमेरमा विपरीत लिंगीप्रति आकर्षित हुनु स्वाभाविक भए पनि सकारात्मक सहयोगका लागि मात्र साथी बनाइनुपर्छ । यस्ता साथी भए पढाइमा समेत राम्रो फाइदा पुग्छ, तर जवानीको जोश मिश्रित लहलहैको मित्रताले पढाइलाई बिदाइ गर्न बाध्य तुल्याउँछ । यसैले विद्यालय तहमा अझ भनौ परीक्षाको समयमा त यस्तो सम्वन्धमा लाग्नै हुँदैन ।
निराशा र चिन्ता
परीक्षालाई भूत सम्झेर निराश हुनु हुँदैन । कतिपय विद्यार्थी परीक्षाको दिन नजिकिँदै जाँदा हतास हुन्छन् वा आत्तिन्छन् । यसरी निराश र हतास हुँदैमा समस्या समाधान हुने होइन, बरु जति सकिन्छ समयको सदुपयोग गरी पढ्न थालियो भने परीक्षामा सफल हुन सकिन्छ । अनावश्यक चिन्ता लिएर आत्तिनु, डराउनु वा निराश हुनु हुँदैन । परीक्षा भनेको कुनै महामारी होइन, सफलताको सिंढी चढ्ने अवसर हो । त्यसैले यसलाई पार गर्ने लक्ष्यका साथ पढ्नुपर्छ । कतिपय विद्यार्थी त परीक्षा हलमै बेहोससमेत हुन्छन् । चिन्ता लिनै हुँदैन भन्ने होइन । परीक्षा उत्तीर्ण गर्ने र विषयगत समस्या हल गर्ने सन्दर्भमा भने केही गम्भीर पनि हुनु आवश्यक छ ।
घरायसी कामकाज
अरू बेला घरायसी काममा अभिभावकलाई सघाउनु राम्रो हो । परीक्षाका बेला भने घरायसी कामकाजमा अल्झिनु हुँदैन । एक्लै अथवा साथीसँग बसिएको छ भने मिलेर काम गर्नुपर्छ अन्यथा परिवारसँग भए घरायसी कामलाई परीक्षा अवधिभर परिवारको जिम्मा लगाइ दिनुपर्छ । विशेषत: ग्रामीण क्षेत्रमा घरायसी कामको चापले परीक्षाका बेला पनि विद्यार्थीहरूले निर्धक्क पढ्न पाउँदैनन् । अभिभावकहरूले राम्रो नतिजाका लागि निर्धक्क पढ्ने वातावरण तयार गरिदिनुपर्छ । यसका लागि अरू बेला सम्भव नभए पनि परीक्षाका समयमा विद्यार्थीलाई घरायसी काम गर्न दिनु हुँदैन ।
अधिक खानपिन
परीक्षा अवधिभर खानपिनमा विशेष: ध्यान पुर्याउनुपर्छ । पचाउन गार्हो हुने र निन्द्रा लाग्ने खालका खानेकुरा खानु हुँदैन । धुमपान, मद्यपान आदिको बानी छ भने पनि चटक्कै छोड्नुपर्छ । खाने कुरा खाँदा समयको ख्याल गरी उपयुक्त समयमै खानुपर्छ । भोक लागून्जेल बसी एकै पटक धेरै खानु हुँदैन । हल्का खानेकुरा पढ्दै खान सकिन्छ । समय–समयमा पानी पिइरहनुपर्छ । परीक्षामा अधिक मेहनत गर्नुपर्ने भएकाले पौष्टिक आहारको आवश्यकता हुन्छ । यतिबेला फलफुल, दूध, हल्का माछामासु आदि खान सकिन्छ । मस्तिष्क र शरीरलाई फ्रेस गर्ने खालका खानेकुरामा विशेष जोड दिनुपर्छ । सामान्य समयको तुलानामा परीक्षाका बेला खानेकुरामा विशेष ख्याल गर्नुपर्छ ।
घुमफिर
परीक्षाका बेला साथीभाइसँग घुमफिर गर्ने पार्टीहरूमा सहभागी हुने खेलकुद प्रतियोगिता हेर्न वा खेल्न जाने जस्ता कुरा पनि गर्नु हुँदैन । यसले परीक्षालाई प्रभावित तुल्याउन सक्छ । हावा खाने उद्देश्यले नजिक केही समयका लागि बाहिर निस्कनु अर्कै कुरा हो, अन्यथा दिन बाँकी छ भन्दै आनन्दले घुमफिर गर्नु हुँदैन । यसले समयको बर्वादी मात्र गर्दैन, मानसिक तनावसमेत उत्पन्न गर्छ ।
चिटिङ
चिट चोरेर उत्तीर्ण हुनेभन्दा पछुताउने विद्यार्थी धेरै हुन्छन् । शरीरका विभिन्न अंगमा चिट लुकाएर लाने, परीक्षा हलमा साथीहरूको सार्ने र बाथरुममा गएर चिट हेर्ने जस्ता चिटिङका थुप्रै उपाय छन् । शिक्षकको आँखा छलेर लेखिने यस्ता चिटले बिर्सिएको कुरा सम्झन त सघाउ पुर्याउँला, तर पढ्दै नपढेको कुरा सम्झन भने सकिँदैन । अर्काे कुरा यसरी चोरेर लेखिएको उत्तर निरिक्षकले सहजै पत्ता लगाउन सक्छन्, त्यस कारण चिटिङको भर पर्नु राम्रो होइन । अझ महत्त्वपूर्ण कुरा त चिट चोरेको पत्ता लागे परीक्षा हलबाटै निकालिने तथा परीक्षा रद्द हुनेसम्मको कारबाही हुने हुँदा यस्तो काममा कहिल्यै लाग्नु हुँदैन ।