साप्ताहिक संवाददाता
भूकम्प, नाकाबन्दीजस्ता ठूला समस्यासँग जुझिरहेका नेपाली युवाहरूमा निराशा व्याप्त छ । सबै देश छाडेर बाहिर जान चाहन्छन् । यस्तो अवस्थामा काउन्सिलिङको जरुरत छ । स्कुल, कलेजहरूमा युवाहरूका लागि विशेष खालका कार्यक्रम ल्याउनुपर्यो ।
सगर संगम
ठूलाबडाहरूलाई केही हुनेबित्तिकै छानबिन समिति बन्छ तर गरिब जनता ग्याँस, तेल, पेटोलजस्ता अत्यावश्यक सामग्रीको अभावमा मर्दा कुनै सुनुवाइ हुँदैन ।
लब काफ्ले
कालाबजारी गर्ने माफियाहरू खुलेयाम आफ्नै मुल्यमा तेल, ग्याँस बेचिरहेका छन् । अख्तियार, पुलिस–प्रशासन के हेरेर बसेका छन् ?
कुमारजी तिमिल्सिना
पुराना नेता तथा पुराना सोच भएका व्यक्तिहरू जम्मा भएर नयाँ शक्ति जन्मदैन । नयाँ सोच, नयाँ कार्यशैली आवश्यक छ ।
वियोगी कँडेल
पत्रपत्रिकाहरूमा जब भ्याकेन्सी खोलिन्छ, फर्म भराइन्छ, पैसा उठाइन्छ तर अफसोच जागिर कसले पाउँछ, कुनै पत्तो हुँदैन । यस्तो ठगी धन्दा नियन्त्रण गर्न पहल गर्नुपर्यो ।
बैरागी केटो
रोजगारीका लागि खाडी राष्ट्र जान लागेका महिलाहरू ठगिन थालेका छन् । एउटा देश भनेर अर्कै देश पुर्याउने, तोकिएको तलब रकम नपाउने, घरेलु हिंसा भोग्नुपर्ने, मानसिक यातना दिइने जस्ता घटनामा वृद्धि भएका छन् । सम्बन्धित देशको राजदूतावास एवं नेपाल सरकारले यसतर्फ बेलैमा ध्यान दिनुपर्यो ।
लोचन रिजाल
नाकाबन्दीले गर्दा विराटनगरका स्कुलका गाडी पाँच महिनादेखि बन्द छन्, तर पनि स्कुलले अभिभावकहरूबाट पैसा असुल्न छाडेनन् । अभिभावकहरू एकातिर आफ्ना सन्तानलाई स्कुल पढाउन नपाएकोमा चिन्तित छन्, अर्कातिर आर्थिक मारमा छन् । गाडी नचलेका बेला यातायात फी नलिदिए सबैको चित्त बुझ्ने थियो ।
गणेश लुइँटेल
भूकम्पले भत्किएका संरचना बनाउन ढिलाइ भैरहेको छ । विकट जिल्लामा गाँस, बासको कठिनाइ छ । सरकारले यसमा तीव्र पहल गर्नुपर्यो । सहयात्री एवं प्रतिपक्षि दलहरूले पनि यो काममा साथ दिनुपर्यो ।
बिनु शर्मा, सिन्धुपाल्चोक