खिलबहादुर प्रधान, विज्ञान शिक्षक
परोपकार उच्च माध्यमिक विद्यालय, भीमसेन स्थान (काठमाडौं)
एसएलसीको तयारी गरिरहेका विद्यार्थीहरूले विज्ञान विषयलाई सामान्य रूपमा लिनु हुँदैन । किनभने धेरै विद्यार्थी यो विषयमा अनुत्तीर्ण हुने गरेका छन् । सुरुदेखि नै यसको तयारी गरे उत्तीर्ण हुन कठिन हुँदैन । परीक्षाको मुखैमा आएर गेस पेपर, गाइड पढ्ने बानीले फाइदा गर्दैन तर पनि परीक्षा आउन धेरै समय नभएकाले तयारी गर्दा भौतिक विज्ञानको खण्डलाई विशेष ध्यान दिनुपर्छ । यो खण्ड गणितीय विषयवस्तुसँग जोडिएकाले राम्रो तयारी गर्नुपर्छ । किनभने ३० अंकको यो खण्डको राम्रो तयारी गरियो भने उत्तीर्ण हुन सजिलो हुन्छ । अर्को खण्ड जीव विज्ञानलाई पाठ बुझ्ने गरी घोकेर तयारी गर्नु उपयुक्त हुन्छ । राम्रो तयारी गरियो भने जीव विज्ञानबाट २१ अंक र भौतिक विज्ञानबाट ३० अंक प्राप्त गरी राम्रो ग्रेडमा उत्तीर्ण हुन मद्दत मिल्छ ।
विज्ञानमा उच्च अंक ल्याएर उत्तीर्ण गर्न सबै खण्डको राम्रो तयारी गर्नुपर्छ । केमेस्ट्री खण्ड अलिक कठिन भएकाले यसलाई पर्याप्त मेहनत आवश्यक हुन्छ । यो १५ अंकको मात्र भएकाले तथ्यपरक रूपमा जानकारी हासिल गर्न सक्नुपर्छ । खगोल विज्ञानको खण्ड भने कठिन छैन । विज्ञान विषय घोकेर हुँदैन, प्रयोगात्मक उपाय अपनाउनुपर्छ । हाम्रो शिक्षण विधि प्रयोगात्मक नभएकाले विद्यार्थीहरूले बुझेर पढ्न सक्नुपर्छ । शिक्षकहरूले महत्वपूर्ण पाठको नोट दिने परिपाटी र घोक्न लगाउनु भनेको कामचलाउ मात्र हो । त्यसैले विद्यार्थीले तथ्य रूपमा बुझेरै पढ्नुपर्छ । यो विषयको प्रश्नपत्र हल गर्दा अक्षरलाई प्राथमिकता दिनुपर्छ, साथै तथ्यपरक र छोटकरीमा बुँदागत रूपमा उत्तर लेखिएको छ भने पनि राम्रो अंकप्राप्त गर्न सकिन्छ ।
मैले एसएलसीको उत्तर पुस्तिका जाँचेको धेरै वर्ष भयो । मेरो अनुभवमा प्रश्नले खोजेको उत्तर छोटकरीमा तथ्यपरक तरिकाले लेख्ने विद्यार्थीले राम्रो अंक प्राप्त गरेका छन् । एउटा प्रश्नको उत्तर लेखिसकेपछि तलतिर सिसाकलमले लाइन तान्ने र अर्को प्रश्नको उत्तर लेख्ने प्रयास गर्ने । विज्ञानमा बुट्टा भरेर हुँदैन तथ्यपरक नै लेख्नुपर्छ । परीक्षाको तयारी गर्दा विशेषत: कुन पाठबाट कतिवटा प्रश्न आउँछन् र कति अंकको प्रश्न आउँछ भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । पढिसकेपछि लेखेर पनि अभ्यास गर्नुपर्छ । लेखनकला विकास गर्दै जानुपर्छ । भाषागत शुद्धीकरण पनि हुनुपर्छ ।
विज्ञानमा चित्र कोर्ने किसिमका प्रश्नहरू पनि सोधिने भएकाले ‘ड्रइङ’ अर्थात् राम्रो र आकर्षक चित्र कोर्ने अभ्यास गर्नुपर्छ । यसमा गणितको पनि प्रयोग गरिने भएकाले विद्यार्थीहरूले विज्ञान विषयका लागि दैनिक दुई घण्टाको समय छुट्याउनु आवश्यक छ । त्यसमध्ये पनि भौतिक विज्ञानमा राम्रो मेहनत गरियो भने राम्रो अंक प्राप्त गर्न सकिन्छ । जीव विज्ञान हाम्रो जनजीवनसँग मिल्दो भएकाले यसबाट पनि अंक तान्न सकिन्छ । यसमा चित्रमा ध्यान दिनुपर्छ । चित्र राम्रो भयो र व्याख्या मिल्यो भनेसजिलै अंक प्राप्त गर्न सकिन्छ । यता प्रयोगात्मक परीक्षाबाट पनि अंक तान्न सकिन्छ ।
विज्ञानमा मौलिकताले खासै अर्थ राख्दैन । भाषाशैली मिलाएर तथ्यपरक नै लेख्नुपर्छ । वातावरण विज्ञान र जीव विज्ञानमा केही मौलिकताको प्रयोग गर्न सकिन्छ, किनभने यी विषय हाम्रो दैनिक जीवन र समसामयिक घट्नाक्रमसँग तादात्म्य राख्ने खालका हुन्छन् । यो वर्षदेखि एसएलसीमा ग्रेडिङ प्रणाली लागू भएकाले परीक्षा उत्तीर्ण गर्न त सजिलो छ तर उच्च अंक प्राप्त गर्न भने पर्याप्त मेहनत आवश्यक हुन्छ ।
प्रस्तुति : युवराज गौतम