शिक्षकद्वारा विद्यालयमा पढाइएको कुरा मात्र परीक्षाका लागि पर्याप्त हुँदैन । विषयलाई पूरा गर्न र परीक्षाको समुचित तयारीका लागि कोचिङ, ट्युसनजस्ता अतिरिक्त पढाइ अनिवार्य जस्तै भैसकेको छ । कतिपय विद्यार्थी साथीहरूसँग मिलेर सामूहिक अध्ययन गर्न रुचाउँछन् ।
सामूहिक अध्ययनका विशेषता
समूहमा पढ्दा कसैलाई कुनै प्रश्नको उत्तर थाहा छैन भने अर्को साथीमार्फत् त्यसको हल खोज्न सकिन्छ । यसो गर्दा समूहका अरु साथीले पनि त्यसका बारेमा जानकारी पाउँछन् ।
समूहमा पढ्दा कक्षामा शिक्षकले पढाएको पाठमाथि विशेष छलफल गर्नुपर्छ । यसले विद्यार्थीहरूले नजानेका वा कक्षामा स्पष्ट नभएका कुरा जान्ने वा बुझ्ने अवसर प्राप्त गर्छन् ।
समूहमा पढ्दा हरेक विषयको ज्ञान वृद्धि हुन्छ ।
समूहमा पढ्दा कक्षामा संकोची स्वभाव देखाउने विद्यार्थीले पनि खुलेर आफ्ना कुरा व्यक्त गर्न सक्छन् । यसले उनीहरूको बोल्ने क्षमता विकास हुनुका साथै आत्मविश्वाससमेत बढ्छ ।
सामूहिक अध्ययनले विद्यार्थीहरूलाई मात्र फाइदा हुने नभै अभिभावकलाई पनि फाइदा पुर्याउँछ । आमाबुबाले छोराछोरीसँग सामूहिक पढाइका विषयमा छलफल गर्दा उनीहरूको स्मरणशक्तिमा समेत वृद्धि हुन्छ । यसबाट उनीहरूले धेरै कुरा सिक्ने अवसर पाउँछन् ।
समूहमा पढ्दा एउटा विद्यार्थीले स्मरण गरेको कुरा अर्को विद्यार्थीलाई सुनाइदिँदा उसको आत्मविश्वास वृद्धि हुन्छ । फलस्वरूप परीक्षामा उसको प्रदर्शन राम्रो हुन्छ ।
समूहमा पढ्दा एउटा साथीले अर्को साथीसँग आफ्नो नोट्स साटासाट गरेर पढ्छन् । यसबाट उनीहरूले अरूबाट पनि नोट्स प्राप्त गर्न सक्छन् ।
कतिपय विद्यार्थी पढ्दापढ्दै निदाउन थाल्छन् । परीक्षा नजिकिँदै जाँदा धेरै पढ्नुपर्ने भएकाले टाउको भारी भएर निद्रा लाग्छ । समूहमा पढ्दा निदाउने सम्भावना कमै हुन्छ ।
समूहमा पढ्दा विद्यार्थीले आ–आफ्नो कमी–कमजोरी थाहा पाउने अवसर पाउँछन् र अरूको पढाइको तरिका देखेर आफूमा सुधार ल्याउने प्रयास गर्न सक्छन् ।
समूहमा पढ्दा प्रतिस्पर्धाको भावना वृद्धि हुन्छ । यही भावनाले परीक्षामा राम्रो अंक दिलाउँछ ।
सामूहिक अध्ययनको हानिकारक पक्ष
सामूहिक अध्ययनका क्रममा सबै साथी सँगै हुन्छन् । यसमा उनीहरूले पढाइमा कम ध्यान दिएर ख्यालठट्टा र गफगाफमा समय व्यतीत गर्ने सम्भावना हुन्छ ।
कतिपय विद्यार्थी सामूहिक अध्ययनका नाममा घरबाट निस्केर खेल्ने वा टेलिभिजन हेर्ने काममा व्यस्त हुन सक्छन् ।
समूहमा पढ्दा एउटा विद्यार्थी मात्र गफाडी निस्कियो भने पनि उनीहरूको पढाइ बिग्रने सम्भावना हुन्छ ।
सावधानीको आवश्यकता
यदि छोराछोरी समूहमा पढिरहेका छन् भने अभिभावकहरूले समय–समयमा त्यसको निरीक्षण गर्नुपर्छ ।
समूहमा पढ्दा त्यही घरमा पढ्नुपर्छ जहाँ पढ्ने वातावरण छ । जुन कोठामा अध्ययन गर्नु छ त्यहाँको वातावरण स्वच्छ हुनुपर्छ ।
जुन कोठामा अध्ययन गरिन्छ त्यहाँ टेलिभिजन, टेपरेकर्डर, रेडियो आदि हुनुहुँदैन ।
अध्ययन कक्षमा पानीको जग र गिलास हुनुपर्छ ।
विद्यार्थीहरूको पढाइको समयका बारेमा अभिभावकहरूले विशेष ख्याल राख्नुपर्छ ।
समूहमा अध्ययन गर्दा सिर्जिएका वा देखिएका विषयगत समस्याका बारेमा सम्बन्धित शिक्षकसँग
परामर्श लिनुपर्छ ।
पढ्ने बेलामा सबैले एक–अर्कासँग शालीन व्यवहार गर्नुपर्छ । कसैले कसैलाई हीन वा कमजोर मान्नु हुँदैन ।