साप्ताहिक संवाददाता
सन् १९९१ मा पाँचौं संस्करणको दक्षिण एसियाली खेलकुद श्रीलंकाली राजधानी कोलम्बोले आयोजना गरेको थियो र त्यसमा नेपालले २ वटा स्वर्ण पदक जितेको थियो । त्यसमध्ये नेपालले जितेको एक स्वर्ण पदक टेबल टेनिसमा प्राप्त भएको थियो जुन धेरै अर्थमा ऐतिहासिक स्वर्ण रह्यो ।
टेबल टेनिसले नेपालका लागि दक्षिण एसियाली खेलकुदमा अहिलेसम्म स्वर्ण पदक जितेको यो नै एक मात्र आवसर हो, त्यसमाथि यो स्वर्ण दिलाउने खेलाडीहरू महिला थिए । नेपालले महिला टिम स्पर्धामा स्वर्ण पदक जितेको थियो । नेपाली टिमका सदस्य थिए, गीता क्षेत्री, सिजरिन शाह, पूजा थापा तथा नीलम तुलाधर ।
यसका लागि नेपालले फाइनलमा भारतको बलियो चुनौती पार गरेको थियो । सिजरिन प्रतियोगिताका क्रममा लयमा रहिन् र उनले एकल स्पर्धामा पनि कांस्य पदक जितिन् ।
उक्त संस्करणमा टेबलटेनिसमा ७ स्वर्णका लागि स्पर्धा भएको थियो जसमध्ये बाँकी ६ स्वर्ण भारतको नाममा रह्यो ।