- महेश लिम्बू, आरजे
अग्लो कद, लामो केश, आकर्षक अनुहार तर साना आँखा । झट्ट हेर्दा बाहुनी, मोरङका स्थायी बासिन्दा महेश लिम्बू कुनै अभिनेताभन्दा कम देखिँदैनन् । आकर्षक व्यक्तित्वका धनी यी युवाको लुकेको अर्को एउटा प्रतिभा छ, त्यो हो— उनको आवाज । गहन आवाजका कारण महेश यतिबेला रेडियो कान्तिपुरका लोकप्रिय रेडियो जक्कीका रूपमा स्थापित छन् । फुर्सदको सदुपयोग गर्ने उद्देश्यले आठ वर्षअघि दमकस्थित रेडियो सप्तरंगीमा रेडियो जक्कीका रूपमा करियर प्रारम्भ गरेका महेशले उक्त रेडियोमा करिब डेढ वर्ष काम गरे । स्थानीय श्रोताहरूले उनले आवाजको प्रशंसा गर्दै काठमाडौं गएर रेडियो कान्तिपुरमा कार्यक्रम प्रस्तोता बन्न सुझाव दिए । २०६५ सालमा रेडियो कान्तिपुरमा रेडियो जक्कीका लागि आवेदन पनि दिए तर उत्तीर्ण भएनन् । लगत्तै रेडियो वाणीमा कार्यक्रम प्रस्तोताका रूपमा सक्रिय भएपछि २०७० सालमा पुन: रेडियो कान्तिपुरमा प्रतिस्पर्धा गरे । यसपटक उनी भाग्यमानी सावित भए । रेडियो कान्तिपुरमा प्रवेश गरेको केही महिनामै महेशले हप्ताको आधा दर्जनभन्दा बढी कार्यक्रम प्रस्तुत गर्न थाले । विगत डेढ वर्षयता कान्तिपुर समाचारका हरेक बुलेटिनभन्दा अघि बज्ने कमर्सियलमा महेशकै आवाज सुनिन्छ । दर्जनौं स्टेज कार्यक्रम तथा कन्सर्टमा उद्घोषण गरिसकेका महेशलाई यतिबेला रेडियो कान्तिपुरमा प्रत्येक आइतबार दिउँसो १ बजे ‘के छ नेपाल’ तथा साँझ ‘विस यू अल द बेस्ट’, बुधबार बिहान १० बजे ‘बायोस्कोप’, बिहीबार बिहान १० बजे ‘गूड न्यूज’, शुक्रबार साँझ ५ बजे ‘फेनाटिक फ्राइडे’ जस्ता कार्यक्रममा सुन्न सकिन्छ । दर्जनौं विज्ञापनमा भ्वाइस ओभर गरिसकेका महेशले भर्खरै मात्र अभिनयमा समेत पाइला सारेका छन् । गायक किरण लिम्बुको ‘मुक्ति...’ शीर्षकको म्युजिक भिडियोमार्फत अभिनयमा पदार्पण गर्न लागेका महेश लगत्तै आधा दर्जन भिडियोमा अभिनय गर्दैछन् । केही चलचित्रबाट प्रस्ताव पाइसकेका महेश भिडियोको अभिनयबाट आएको प्रतिक्रियापछि मात्र चलचित्रमा आउने–नआउने निर्णय गर्ने बताउँछन् ।
अभिनेता बन्नुपर्ने मान्छे, रेडियो जक्कीमै रमाइरहनुभएको छ नि ?
रेडियो कान्तिपुरको रेडियो जक्कीका रूपमा चिनिन पाउनु कुनै अभिनेताभन्दा कम चुनौतीको काम त होइन, तर बिस्तारै अभिनयमा पनि करियर बनाउने योजना बन्दैछ ।
टेलिभिजन कार्यक्रम तथा अभिनयका लागि गरिएका प्रस्ताव अस्वीकार गर्ने कारण ?
मलाई सबै कुराले साथ दिएको छ तर मेरो आँखा सानो छ । भिज्युअल माध्यममा यही सानो आँखाले बाधा पुर्याउँछ कि भन्ने डरले आजसम्म पर्दामा नदेखिएको हुँ ।
अबको योजना के छ ?
नेपाली रक संगीतमा आधारित एउटा रेडियो कार्यक्रम उत्पादन गर्ने तयारी गर्दैछु । त्यसबाहेक अभिनयमा पनि करियर बनाउने निर्णय गरिसकेको छु ।