साप्ताहिक संवाददाता
फुटकर चियापसलदेखि ठूला रेस्टुराँहरूमा विभिन्न स्वादका कफी पाइन्छ । कफी पिउन कतिपय पारखी हिमालय जाभामा पुग्छन् ।
ठमेलको सञ्चयकोष भवन अगाडि सन् १९९९ मा खुलेको हिमालयन जाभा काठमाडौंका विभिन्न स्थानमा मात्र नभै पोखरा, लुक्ला, मुस्ताङ, क्यानाडा र लन्डनसम्म गरेर डेढ दर्जन स्थानमा सञ्चालित छन् । सहरमा कफी संस्कृति बढ्दै जाँदा हिमालयन जाभा विस्तार हुँदै ठमेलबाहेक सुन्धारा, ब्लुबर्ड, त्रिपुरेश्वर, कमलादी, कमलपोखरी, वसन्तपुर तथा भक्तपुरमा समेत सञ्चालनमा आएको छ ।
विश्व प्रख्यात इन्डोनेसियाको जाभा र नेपालीपन बोक्ने हिमाल जोडेर हिमालयन जाभाको नामबाट सुरु गरिएको यो कफी व्यवसायले अहिले ठूलो फड्को मारेको छ । काठमाडौंका गगन प्रधानले भित्र्याएको हिमालयन जाभामा करिब ७० प्रकारका कफी तयार हुन्छन्, जसको मूल्य १ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म प्रतिकप पर्छ ।