पूर्वमा साहसिक खेल पर्यटन प्रवद्र्धन एवं विकास गर्ने उद्देश्यले धरानमा आयोजित राष्ट्रिय स्तरको प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिप–२०१६ सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद्, नेपाल ह्यान्डग्लाइडिङ एन्ड प्याराग्लाइडिङ संघको आयोजना तथा एक्सट्रिम धरानको संयोजनमा धरानमा चौथो माउन्टेन स्पोर्ट्स फेस्टिबलअन्तर्गत धरानमा पहिलो पटक सञ्चालित यो प्रतियोगितामा विजय गौतम प्रथम भएका छन् ।
४ दशमलव ५ अंक ल्याएर गौतम प्रथम भए भने ५ दशमलव ७ अंक ल्याएर सागर जलारी दोस्रो तथा ५ दशमलव ९ अंक ल्याएर गौरव कँडेल तेस्रो भए । च्याम्पियनसिपमा स्वदेशी तथा विदेशी गरी ४० जना पाइलटले प्रतिस्पर्धा गरेका थिए भने अन्य अप्रतियोगी पाइलटहरूले पनि धरानको आकाशमा प्याराग्लाइडिङको मज्जा लिएका थिए ।
प्रतियोगितामा प्याराग्लाइडिङलाई धरान–२४ स्थित रमिते डाँडा (चिन्डे डाँडा) बाट उडान भरी धरान–१७ स्थित एयरपोर्ट मैदानमा ल्यान्डिङ गराइएको थियो । ल्यान्डिङ स्थलमा निश्चित स्थानमा अन्डा राखिएको थियो भने ल्यान्डिङ गर्दा उक्त अन्डा सही तरिकाले फुटाउनुपर्ने नियम बनाइएको थियो । उक्त अन्डा फुटेका आधारमा विजेता छनौट गरिएको थियो । च्यापियनसिपको समापन कार्यक्रममै धरानमा सबैभन्दा पहिले ८ वर्षअघि प्याराग्लाइडिङ गरेका तारामणि राईलाई सम्मान गरिएको थियो । यसैगरी उक्त अवसरमा पूर्वमा साहसिक खेल पर्यटनको प्रवद्र्धन एवं विकासमा योगदान पुर्याएकोमा पाइलट तथा प्रशिक्षकद्वय सुरेन गुरुङ र खुम गुरुङलाई समेत सम्मान गरिएको थियो ।