साप्ताहिक संवाददाता
फेवतालको आँगनमा लैलै माछापुच्छ्रे छाया
जीवन मेरो सेती बगर, बिना तिम्रो माया
पोखरा सुन्दर भएरै गीतकारले यो गीत लेखे । गायक प्रकाश श्रेष्ठले पनि शब्दलाई स्वरले माझेर गाए । गीतमा वर्णन गरेजस्तै मोहक भएकै कारण स्वदेशी तथा विदेशी पर्यटकलाई पोखराले आकर्षित गरिरहेको छ । बार्हैमास घुमघामको योजना बनाउनेहरूले पोखरालाई नै प्राथमिकतामा राख्दै आएका छन् । विशेष गरी नयाँ वर्षको बिदाको अवसर पारेर पोखरा घुम्न र ट्रेकिङ गर्न आउनेहरूको ताँती लाग्छ ।
पोखरामा साधारणदेखि उच्च कोटीका होटल तथा लजहरूको सुविधा छ । सामान्यत: ५ सयदेखि ५ हजार रुपैयाँसम्म पर्ने कोठाहरू उपलब्ध छन् । साधारण होटलमा १ सय ५० रुपैयाँ र पर्यटकीय स्तरका होटलमा ३ सय रुपैयाँ तिरेपछि पेटभरि खान पाइन्छ । खानपिनका लागि भेज–ननभेज सबै खालका रेस्टुराँ पनि उपलब्ध छन् । मनोरञ्जनका लागि डिस्को, गजल, दोहोरी, लाइभ म्युजिक सबै उपलब्ध छन् ।
Advertisement
पोखरा आसपासका क्षेत्रहरू पनि पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास भैरहेका छन् । पर्यटकलाई चाहिने आवास सुविधा, मनोरञ्जनका साधन, देशविदेशमा भैरहेको प्रचारप्रसारले पोखरा पर्यटकीय ‘हब’ का रूपमा विकास हँुदै गएको छ । मुस्ताङ, मनाङ, लुम्बिनी, चितवन, मनकामना, तानसेन, रारासम्म पुग्न सकिने केन्द्र पनि पोखरा नै हो । पोखरा आएपछि केही दिनको घुमघामपछि धेरैले ती ठाउँ रोज्ने गरेका छन् । पर्यटकहरू मुक्तिनाथ, लोमान्थाङ, जोमसोमदेखि मनाङको तिलिचो ताल, थोराङपास, मनकामना मन्दिर आदि रमणीय स्थलहरूमा पुगेर रोमाञ्चित हुने गरेका छन् । छोटो समयको घुमघाम प्याकेज बनाउनेहरू पोखराको फेवाताल, पाताले छाँगो, सराङकोट, महेन्द्र गुफा, पर्वतीय संग्रहालय हँुदै लेखनाथको बेगनास ताल आदि अवलोकन गरेर फर्कन्छन् । पोखरा नगर क्षेत्रमा घुम्नेहरू लेकसाइडमा रमाउँछन् भने ट्रेकिङमा जानेहरूले छोटो तथा लामो दूरीको यात्रा तय गर्छन् । विश्वकै उत्कृष्ट टेकिङ रुट राउन्ड अन्नपूर्ण ट्ेरकिङ रुट पनि यही क्षेत्रमा पर्छ । त्यही भएर पनि स्वदेशी हुन् वा विदेशी पोखरामा बसेर ट्रेकिङको योजना बनाएर निस्कन्छन् ।
विगतमा पोखराको सहरी क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास नभएका बेला पदयात्रा नै यहाँ आउने पर्यटकको पहिलो आकर्षण थियो । जब फूलबारीलगायतका तारे होटलहरू खुले त्यसपछि पोखरा क्षेत्र पनि पर्यटक रमाउने स्थलका रूपमा विकसित भएको ट्रेकिङ व्यवसायी विश्वराज अधिकारीले बताए । केही महत्वपूर्ण घुमघाम गर्ने स्थान :
धम्पुस
पोखराबाट नजिक रहेको यो पर्यटकीय गाउँमा नाइट स्टेका लागि पुग्नेहरू बग्रेल्ती हुन्छन् । कतिपय फेदीबाट पैदल उकालो लाग्छन् । डेढ घण्टा उकालो लागेपछि धम्पुस पुगिन्छ । पोखराबाट सवारीमा एक घण्टामै धम्पुस पुग्न सकिन्छ । गुरुङ संस्कृति अवलोकन गर्न सकिने यो गाउँमा नजिकबाट हिमालहरू देख्न पाइन्छ । शान्त र सौम्य वातावरणका कारण सहरको कोलाहलबाट दिक्क हुनेहरू यहाँ आएपछि फुरुङ हुन्छन् । दसैं–तिहारको मौसम केही चिसो हुने भएकाले बाक्लो कपडा बोकेर जानुपर्छ । यहाँ बास बस्न होमस्टेदेखि स्तरीय पर्यटकीय होटलहरूसम्मको सुविधा छ । होटल हेरेर एक रातको सामान्यत: २ हजारदेखि ३ हजार रुपैयाँसम्ममा खाने र बस्ने सुविधा प्राप्त गर्न सकिन्छ ।
अस्ट्रेलियन क्याम्प
पोखराबाट २५ किलोमिटर यात्रा गरेर लुम्लेको काडे पुग्नुपर्छ । काडेबाट डेढ घण्टाको पैदल हिँडेपछि पुगिने यो ठाउँ पनि छोटो दूरीको पदयात्रा हो । यहाँ खान र बस्न होटलहरूको सुविधा छ । एक रातको १ हजारदेखि २ हजार रुपैयाँ तिरेपछि खाने–बस्ने सुविधा पाइन्छ । लालीगुराँसको जंगल, हिमाल तथा विभिन्न फिरन्ते चराहरू आवात–जावात गर्ने स्थानको रूपमा यसलाई लिइन्छ । पर्यटकहरू यहाँ चरा अवलोकनका लागि पर्यटकहरू आउने गरेका छन् । विशेष गरी चाडपर्व र बिदाको समयमा रमाउन आउने नेपालीहरूको संख्या पनि उल्लेख्य हुन्छ ।
Advertisement
अस्ताम
पोखराबाट १४ किलोमिटरको दुरी छिचोलेपछि पुगिन्छ धितालको अस्ताम गाउँ । पोखराबाट नजिकको दूरीमा रहेको यो पर्यटकीय गाउँले नेपाली मौलिकताको झझल्को दिन्छ । गाउँमै फलेका सागसब्जी र अर्गानिक खानेकुरा यहाँको प्रमुख विशेषता हुन् । यहाँबाट सूर्योदय र सूर्यास्त पनि राम्रो देखिन्छ । यहाँ अर्गानिक खाना ख्वाउने अन्नपूर्ण ईको भिलेज होटल तथा जापानिज पर्यटकीय स्तरको होटल उपलब्ध छन् । एक रातको खाना र बसोबासका लागि ती होटलहरूमा ३ हजार रुपैयाँसम्म खर्च गर्नुपर्छ ।
ल्वाङघलेल
पोखराबाट २५ किलोमिटरको दूरीमा छ पर्यटकीय गाउँ ल्वाङघलेल । यो गाउँ चियाबगानका लागि परिचित छ । पछिल्लो क्रममा क्यानोनिङ खेलले पनि पर्यटकलाई आकर्षित गरिरहेको छ । स्थानीय युवा राम गुरुङले खुदी छहरामा यो खेल भित्र्याएपछि नेपाली युवायुवतीहरू छुट्टीमा यता आउने क्रम बढेको छ । बस्न र खान यहाँ होमस्टको सुविधा छ । १ हजार देखि १ हजार ५ सय रुपैयाँ जोरजाम गरेपछि एक रात आनन्दसँग बिताउन सकिन्छ । स्थानीय महिलाहरूले बनाएको खाना र मर्दी हिमालबाट बगेको पानीमा पाइने माछाको स्वादले सबैलाई लठ्याउँछ । यहाँ हिमाली दृश्यसँगै चियाबारीमा रमाउँदै तस्बिर खिचाउनेहरूको भीड लाग्छ । यही बाटो हुदै मर्दी हिमालको ट्ेरक पनि गर्न सकिन्छ ।
घान्द्रुक
यो पर्यटकीय गाउँ देश तथा विदेशमा लोकप्रिय छ । पोखराबाट ७ किलोमिटर टाढा रहेको नयाँ पुलबाट जिपमार्फत घान्द्रुक गाउँभन्दा केही तल रहेको किम्चे भन्ने स्थानमा उत्रिनुपर्छ । त्यहाँबाट १ घण्टा उकालो चढेपछि घान्द्रुक गाउँ पुगिन्छ । ढुङ्गाले छाएका परम्परातगत घर यहाँका मुख्य विशेषता हुन् । यहाँबाट पनि लस्करै विभिन्न हिमाल एकसाथ अवलोकन गर्न सकिन्छ । यहाँ पर्यटकीय स्तरका राम्रा होटलहरू छन् । परम्परागत संग्रहालयदेखि ऐतिहासिक मन्दिरले पनि यहाँ आउनेहरूलाई लोभ्याउछ । यहाँ पनि एक रातको ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्मको कोठा पाइन्छ । खानासहित हो भने २ हजार ५ सयदेखि ३ हजार रुपैयाँ तिर्नुपर्छ । घान्द्रुक अन्नपूर्ण पदयात्रामा धेरैले रुचाएको गाउँ हो । राउन्ड अन्नपूर्ण जानेहरू एक दुई रात यहाँ बिताउँछन् ।
घोडेपानी–पुनहिल
यो पनि छोटो समयमा पूरा गरिने एउटा प्रसिद्ध ट्रेकिङ गन्तव्य हो । थरीथरीका गुराँसको वनका लागि घोडेपानी प्रख्यात मानिन्छ । पोखराबाट दुई दिन लगाएर घोडेपानी पुगिन्छ । मज्जाले हिँड्नेहरू नयाँ पुलबाट एकै दिन पनि पुग्ने गरेका छन् । धेरैजसो पर्यटक पोखराबाट घान्द्रुक हुँदै टाढापानीमा बास बसेर दोस्रो दिन मात्रै घोडेपानी पुग्छन् । घोडेपानीमा बास बसेपछि बिहानै उठेर आँखै अघि देखिने हिमाल हेर्न पुनहिल उक्लिनेहरूको लस्कर लाग्छ । यहाँबाट सुन्दर हिमालहरू आँखाले हेर्न नभ्याउने गरी खुलेका हुन्छन् । यहींबाट अन्नपूर्ण बेसक्याम्प पुग्न सकिन्छ । यहाँ एक रात खान र बस्न सामान्यत: ४ हजार रुपैयाँसम्म खर्च हुन्छ ।
सिक्लेस
७ सय कुरिया बस्ने भएकाले यसलाई ७ सय सिक्लेसको नामले पनि चिनिन्छ । ग्रामीण पर्यटनको अध्ययन–अनुसन्धानदेखि मौलिक गाउँको चिनारी हेर्न र बुझ्न पनि यो गाउँ स्वदेशी तथा विदेशीको रोजाइमा पर्छ । लोकप्रिय घलेखर्क सिक्लेस इको ट्रेकभित्र पर्ने यहाँ आउनेहरू यहाँको संस्कृति, प्रकृति एवं आतिथ्यताले नतमस्तक हुन्छन् । अन्नपूर्ण र लमजुङ हिमालको काखमा अवस्थित सिक्लेस पुग्न पोखराको काहुँखोलाबाट जिप चढ्नुपर्छ । त्यहाँबाट झन्डै साढे चार घण्टाको यात्रापछि यो रमणीय गाउँ पुगिन्छ । बास बस्नका लागि होमस्टे र लजहरू उपलब्ध छन् । सरसफाइमा यो गाउँ नमुना भएकाले पनि घुम्न आउनेहरू यहाँको वातावरणबाट मोहित हुने गरेको स्थानीय समाजसेवी डा. हुम गुरुङले बताए । यहाँ एक रात खान र बस्न २ हजार ५ सयदेखि ३ हजार रुपैयाँ जोहो गर्नुपर्छ ।
बन्दीपुर
पोखरा घुम्न आउनेहरू प्याकेज बनाएर तनहुँको पर्यटकीय गाउँ बन्दीपुर पनि पुग्छन् । पोखराबाट झन्डै ६० किलोमिटर दूरीमा रहेको यो गाउँ डुम्रे हुँदै पुग्न सकिन्छ । पुराना परम्परागत घर तथा नेवारी संस्कृति र मगर संस्कृतिले यहाँ आउनेहरूलाई लोभ्याउँछ । यो तनहुँ जिल्लाको पुरानो सदरमुकाम तथा व्यापारिक केन्द्र पनि हो । पहाडी संस्कृति, पहाडी दृश्य र प्रकृतिका लागि बन्दीपुर उपयुक्त गन्तव्य मानिन्छ । बन्दीपुरलाई पहाडकी रानी पनि भनिन्छ । यहाँ पर्यटकीय स्तरका होटलहरू छन् । १ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म खर्च बोकेर गए बन्दीपुरमा एक रात रमाइलोसँग काट्न सकिन्छ ।
सिरुबारी
नेपालको पहिलो पर्यटकीय गाउँका रूपमा लोकप्रिय सिरुवारी घुम्न जानेहरूलाई स्थानीय आमा समूहले बाजागाजासहित फूलमालाले भव्य स्वागत गर्छन् । यहाँ आमाहरूले पाहुनाहरूलाई गर्ने स्वागत र आतिथ्यताले गाउँ पुग्नेहरूको मन आनन्दित हुन्छ । नेपाल भ्रमण वर्ष १९९८ मा यो गाउँलाई नेपाल सरकारले पहिलो पर्यटकीय गाउँ घोषणा गरेको हो । गुरुङ संस्कृति र आकर्षक रूपमा सिंगारिएका घरहरूका कारण यहाँ पुग्नेहरू लोभिन्छन् । यहाँ कुनै होटल, लजको सुविधा छैन । स्थानीय बासिन्दाहरूले आ–आफ्नो घरमा पाहुनालाई बास बसाउँछन् र स्थानीय खानाको स्वाद पाहुनालाई दिन्छन् । १ हजार ५ सयदेखि ३ हजार रुपैयाँ बोकेर गएपछि एक रात आरामसँग बिताउन सकिन्छ । पोखराबाट २५ किलोमिटर यात्रा पूरा गरेर नागडाँडाबाट चार घण्टाको कच्ची मोटरबाटो पार गरेपछि सिरुवारी पुगिन्छ ।
पोखरा घुम्न आउनेहरू ट्रेकिङ र यहाँको सहासिक खेलहरूमा पनि रमाउँछन् । प्याराग्लाइडिङ, जिप फ्लायर, अल्ट्रालाइट बन्जी जम्पको मज्जा लिन पनि पोखरा आउने क्रम बढ्दो छ । साहसिक हवाई खेलले पनि पोखरा धेरैको रोजाइमा पदै गएको छ’ नेपाल हवाई खेलकुद संस्थाका संस्थापक अध्यक्ष राजेश बमजनले बताए ।
प्रतिक्रिया
दुश्चिन्तामा दोहोरी साँझ
वैशाख ८, २०७७
पाहुनाविहीन पोखरा
वैशाख ८, २०७७
भेडेटारबाट जिपलाइन
वैशाख ८, २०७७