मैले सोचेको पनि थिइनँ, बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धजयन्ती मनाउन पाउँछु भनेर, तर म भाग्यशाली रै’छु,’ चीनको प्रेस, प्रकाशन, रेडियो, फिल्म तथा टेलिभिजन प्रशासन मन्त्री काई फुचाओले भने । मन्त्री फुचाओसँगको कुराकानी उद्धृत गर्दै लुम्बिनीस्थित चीनको जोङहुवा बौद्ध मोनास्ट्रीका दोस्रो ठूला भिक्षु सु चुङ्ग युङले भने विश्व शान्तिको उद्गमस्थलमा आउन पाउँदा मन्त्रीले शान्तिको अनुभूति गरेको भन्दै यस्तो शान्तिको प्रेरणाको स्रोत रहेको ठाउँ सबै शान्तिकामी जनताको भ्रमणीय स्थल भएको बताएको जनाए ।
विश्व शान्तिका प्रेरक बुद्धलाई जन्म दिने धर्ती नेपाल हो, जसका कारण नेपाल र नेपाली विश्वकै गौरव भएका छन् त्यसैले सबैले नेपाल र नेपालीहरूको सम्मान गर्नुपर्ने मन्त्री फुचाओको भनाइ उद्धृत गर्दै भिक्षु युङले बताए ।
संसारमा अहिंसाको अभियान चलाउने शिखर पुरुषलाई जन्म दिने नेपाल र नेपाली माटोप्रति सबैले श्रद्धा गर्नुपर्छ भन्दै मन्त्री फुचाओले भने बुद्ध जन्मस्थलका बारेमा कुनै विवाद छैन्, उनले भने हामी चिनियाँहरूले नेपाललाई बुझेका छौं, त्यही भएर नेपाल र नेपालीहरूप्रति धेरै श्रद्धा र माया गर्छांै ।
मन्त्री फुचाओ लुम्बिनीस्थित जोङहुवा बौद्ध मोनास्ट्रीद्वारा मायादेवी मन्दिर परिसरमा आयोजित २५६० औं बुद्धजयन्ती कार्यक्रममा सहभागी भए । त्यहाँ उनले बेबी बुद्धको मूर्तिलाई नुहाइदिएर धार्मिक विधीअनुसार पूजाआजा गरे । भिक्षुले उनलाई धार्मिक विधिपूर्वक पूजाआजा गराएका थिए । साहित्यमा विद्यावारिधि गरेका मन्त्री फुचाओले लुम्बिनीको कला, संस्कति एवं परम्परा निकै चाख दिएर हेरे । चीनमा बुद्धजयन्ती मनाइने मे १४ तारिकका दिन यहाँ उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीको प्रचार विभाग प्रमुखसमेत रहेका मन्त्रीले २ घण्टाभन्दा बढी समय मायादेवी मन्दिरमा बिताएका थिए । मन्त्रीले मायादेवी मन्दिरको तीन पटक परिक्रमा गरे । मन्दिरछेउमा रहेको पुष्करणी पोखरीमा आफैं गएर बोतलमा एक लिटर पानी निकाले । सञ्चारकर्मी समेत रहेका चिनियाँ मन्त्रीले मोबाइलबाट ४ मिनेटभन्दा बढी मन्दिर र पोखरीको भिडियो खिचे । उनले एंगल–एंगलबाट मन्दिर, पोखरी र अशोक स्तम्भको तस्बिर आफ्नो क्यामेरामा सुरक्षित गरे । कतिपय ठाउँमा आफूले पनि कपडा परिवर्तन गरि तस्बिर खिचाए । ६ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका मन्त्री फुचाओ शनिबार बिहान ९ देखि ११ बजेसम्म लुम्बिनीमा थिए । बुद्ध धर्मप्रतिको अगाध आस्था र प्रेम राख्ने मन्त्री फुचाओ प्रचण्ड गर्मीमा २२ किलोमिटर परेको तिलौराकोट पनि पुगे । बेइजिङ डेलीमा काम गर्ने फुचाओ उपप्रधान सम्पादकसमेत भैसकेका छन् ।
बेइजिङ नगरका उपप्रमुखसमेत भैसकेका मन्त्री फुचाओले मानवलाई महान् ज्योति, आशा र सर्वोच्च आनन्द प्रदान गर्ने भगवान् गौतम बुद्धलाई जन्माएर शान्तिप्रति उत्प्रेरित गर्ने नेपाली भूमिलाई कहिल्यै ऋण तिरेर नसकिने दाबी गरे । त्यस कारण संसारमै नेपाल र नेपालीको शिर उच्च छ भन्दै फुचाओले आफ्नो शिर निहुराएर नमन गर्दै राजधानी फर्किए ।