साप्ताहिक संवाददाता
बेल्जियम
फिफाको वरियतालाई विश्वास गर्ने हो भने विश्वको सबैभन्दा राम्रो टिम हो– बेल्जियम । विश्व वरियताको नम्बर १ टिम बेल्जियम युरो–२०१६ को समूह ‘ई’ मा छ र उसले आफूमाथिको यही विश्वासलाई सही सावित गर्न छिमेकी फ्रान्सको यात्रा गर्नेछ । पछिल्लो विश्वकपमा पनि बेल्जियमको प्रदर्शन राम्रो थियो, क्वाटरफाइनलमा उसको चुनौती फाइनल पुगेको अर्जेन्टिनाले समाप्त पारेको थियो । बेल्जियम टिममा स्टार खेलाडीहरूको कुनै कमी छैन् । टिमका लगभग सबै खेलाडी युरोपका प्रमुख लिगका प्रमुख क्लबहरूसँग छन् । सबैभन्दा महत्त्वपूर्ण तथ्य के हो भने के उनीहरू एक टिमका रूपमा एकढिक्का भएर खेल्न सक्छन् त ? छनौटमा बेल्जियम समूह ‘बी’ मा थियो र अपेक्षाअनुरूप टिम समूह विजेता पनि भयो । बेल्जियम सन् २००२ पछि पहिलोपटक युरोकपमा सहभागी हुँदैछ । यसअघि युरोमा बेल्जियमको सर्वोत्कृष्ट प्रदर्शन सन् १९८० मा उप–विजेता हुनु थियो । सन् १९७२ को युरोमा बेल्जियम तेस्रो स्थानमा थियो ।
इटाली
यही समूहमा विश्व फुटबलको महाशक्ति इटाली पनि छ । घरेलु फुटबलमा खराब समयबाट गुज्रिरहेको भएपनि ठूला प्रतियोगितामा इटालीको चुनौती कहिल्यै कमजोर मानिंदैन । त्यसैले इटाली यसपटक पनि उपाधिको दावेदार हो । अहिले इटाली प्रशिक्षक एन्टोनिया कोन्टेको रेखदेखमा छ । उनी युभेन्ट्सका प्रशिक्षक हुन् र अर्को सिजन चेल्सी जाँदैछन् । कोन्टेको नेतृत्वमा युभेन्ट्सले घरेलु लिगमा लगातार राम्रो खेलिरहेको छ । यही क्रम राष्ट्रिय टिमका लागि पनि दोहरिने इटालीका फुटबल समर्थकहरूको विश्वास छ । छनोटमा इटाली समूह ‘एच’ विजेता थियो । निकै बलियो डिफेन्स भएको इटालीको अग्रपंक्ति भने बलियो मानिंदैन । युरोमा इटालीको समृद्ध इतिहास छ । इटाली सन् १९६८, २००० र २०१२ को युरो विजेता हो ।
आयरल्यान्ड
युरोमा आयरल्यान्डले अहिलेसम्म नकआउट चरणको यात्रा तय गरेको छैन् । यस्तोमा बेल्जियम र इटालीको समूहबाट आयरल्यान्ड पहिलोपटक दोस्रो चरण पुग्न सक्छ त ? आइरिस फुटबलले जान्न खोजेको प्रश्न यही हो । यसका लागि आयरल्यान्डले निकै माथिल्लो दर्जाको फुटबल खेल्नुपर्ने निश्चित छ । छनोटमा आयरल्यान्डले जर्मनी र बोस्निया–हर्जगोभिनाविरुद्ध राम्रै खेलेको थियो । त्यसैले पनि आयरल्यान्डले यो समूहमा केही अप्रत्यासित नतिजा निकाल्ने विश्वास गर्न सकिन्छ । आइरिस टिमको सबैभन्दा बलियो पक्ष डिफेन्स हो । उसले छनोटका १२ खेलमा आठ गोल मात्र खाएको थियो । सन् २०१२ को युरोमा आयरल्यान्डले पहिलो चरणका सबै ३ खेल गुमाएको थियो । सन् १९८८ र २०१२ मा पनि आयरल्यान्डले लिग चरणमा राम्रो प्रदर्शन गर्न सकेको थिएन् । त्यसैले प्रशिक्षक मार्टिन ओ’निलको आयरल्यान्डसामु इतिहासलाई बिर्सेर खेल्ने दबाब हुनेछ ।
स्वीडेन
विश्व फुटबलमा कुनै एक टिम एक खेलाडीमाथि अत्याधिक भर पर्छ भने त्यो हो— स्वीडेन । आखिर जुन टिममा जाल्टन इब्राहिमोभिचजस्ता खेलाडी छन्, त्यस टिमको नियति त्यस्तै हुन्छ । इब्राहिमोभिचलाई अहिलेको विश्व फुटबलमा सबैभन्दा माथिल्लो दर्जाका फरवार्ड मानिन्छ । यसपटकको युरोमा उनको खेल कस्तो हुने हो, त्यसमै धेरै हदसम्म स्विडेनको प्रदर्शन पनि निर्भर हुनेछ । इब्राहिमोभिचले बार्सिलोना र पीएसजीका लागि क्लबस्तरमा धेरै खेल जितिसकेका छन् । अहिले उनीसामु आफ्नो देशका लागि त्यस्तै प्रदर्शन गर्ने दबाब छ । लगातार पाँचौं पटक युरो खेलिरहेको स्वीडेन यसअघि सन् १९९२ मा सेमिफाइनलसम्म पुगेको थियो ।
प्लेयर्स टु वाच
जाल्टन इब्राहिमोभिच, स्वीडेन
सन्काहा तर उत्कृष्ट खेलाडी हुन्— इब्राहिमोभिच । उनी ३४ वर्षका भैसकेका छन् तर, उनको गोल गर्ने कौशलमा कुनै कमी आएको छैन । जाल्टले यो सिजन मात्र फ्रान्सेली क्लब पीएसजीका लागि ५० गोल गरे । त्यसैले पीएसजीले लगातार दोस्रो बर्ष लिग वान, लिग कप तथा फ्रेन्च कप गरी तीनवटै घरेलु उपाधि जित्यो । नेदरल्यान्ड्स, इटाली र स्पेनी लिग पनि जितेका जाल्टन स्वीडेनका कप्तान तथा सर्बाधिक गोलकर्ता पनि हुन् । अन्तर्राष्ट्रिय फुटबलमा सन् २००१ मा डेब्यू गरेयता उनले १ सय १२ खेलमा ६२ गोल गरेका छन् । टिममा आफूजस्तै उत्कृष्ट खेलाडी नहुँदा उनी ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा भने सफलताबाट बञ्चित छन् ।
केभिन डे ब्रुयनी, बेल्जियम
म्यानचेस्टर सिटीले सन् २०१५–१६ को इंग्लिस प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्न सकेन, तर च्याम्पियन्स लिगमा सेमिफाइनलसम्म पुगेर महादेशीय प्रतियोगितामा सबैभन्दा ठूलो उपलब्धि हासिल गर्यो । यो सिजन चोटले सताएपनि बेल्जियन विंगर केभिन डे ब्रुयनीले मैदानमा राम्रो प्रदर्शन गर्दै १६ गोल गरे । उनी गोलका अवसर सिर्जना गर्न र आफै पनि गोल गर्न माहिर छन् । २४ बर्षीय ब्रुयनीले राष्ट्रिय टिमबाट ३८ खेल खेल्दै १२ गोल गरेका छन् । युरो–२०१६ मा बेल्जियमलाई उपाधिको दाबेदार मानिएको छ । त्यसैले चोटका कारण कप्तान भिसेन्ट कोम्पनीलाई गुमाएको र प्लेमेकर इडन हाजर्ड लयमा नरहेको अवस्थामा डे ब्रुयनीमाथि टिमलाई अघि बढाउने जिम्मेवारी पनि थपिएको छ ।