साप्ताहिक संवाददाता
स्वस्थ्य पर्यावरणीय वातावरणमा हाइकिङ गर्न चाहनुहुन्छ अथवा पिकनिक स्पटको खोजीमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपार्इंका लागि उत्तम गन्तव्य हुन सक्छ— मकवानपुरको टिष्टुङ बज्रवाराही ।
लिच्छविकालीन अभिलेखहरूको भण्डार मानिने यो क्षेत्र पछिल्लो समय पर्यटकीय आकर्षणको गन्तव्य बन्न थालेको छ ।
यो ठाउँमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई मध्यनजर गर्दै अहिले केही सुविधा सम्पन्न रिसोर्टसमेत सञ्चालनमा आएका छन् । माछा मार्ने, साइक्लिङ, पदयात्रा, डुंगा सयर, मनोरम दृश्यावलोकन, जंगल सफारी, भेडाफार्म अवलोकन, सूर्याेदय तथा सूर्यास्त दृश्यावलोकन आदि टिष्टुङ बज्रवाराहीको विशेषता मानिन्छ । यो क्षेत्रमा उन्मत्तेश्वर महादेव, बज्रवाराही मन्दिर, ऋषेश्वर महादेवलगायतका मन्दिरहरू घुम्न सकिन्छ । यसका साथै ऐतिहासिक राजदरबार, कोटघर, गोपाली बस्ती, अंशुवर्माकालीन शिलालेखहरू अवलोकन गर्न सकिन्छ ।
टिष्टुङ बज्रवाराहीबाट चित्लाङ, कुलेखानी, मार्खु, दामन, पालुङ तथा सीमभन्ज्याङको पनि भ्रमण गर्न सकिन्छ । चित्लाङलाई मौलिक रहनसहनले युक्त पुरानो बस्ती मानिन्छ । बाख्राको चिज पनि यहीं बनाइन्छ । कुलेखानीमा डुंगामा यात्रा गर्नुका साथै माछाको परिकार चाख्न पाइन्छ ।
काठमाडौबाट करिब ६५ किलोमिटरको दूरीमा रहेको यो ठाउँ पुग्न तीनवटा बाटो प्रयोग गर्न सकिन्छ । त्रिभुवन राजपथ भएर थानकोट, नौबिसे, सातघुम्ती, टिष्टुङ हुँदै बज्रवाराही पुग्न सकिन्छ । यो बाटोबाट जाँदा मोटरबाइकमा बढीमा २ घण्टा तथा सार्वजनिक बस/माइक्रोमा साढे तीन घण्टा लाग्छ ।
त्यस्तै चन्द्रागिरीको बाटो भएर पनि बज्रवाराही पुग्न सकिन्छ । थानकोटबाट चन्द्रागिरी पहाड छिचोलेर १८ किलोमिटरको यात्रापछि चित्लाङ पुग्न सकिन्छ । त्यहाँबाट करिब एक घण्टामा बज्रवाराही पुगिन्छ । त्यस्तै फर्पिङको बाटो भएर कुलेखानी, मार्खु हुँदै करिब तीन घण्टामा बज्रवाराही पुग्न सकिन्छ ।