साप्ताहिक संवाददाता
युरो–२०१६ मा टिमको खराब प्रदर्शनपछि आफ्नो पद गुमाउनेमा प्रशिक्षकहरू अग्रणी रहे । सफलताले फुटबलमा ठूलो सम्मान र प्रतिष्ठा दिन्छ भने त्यसको ठीक उल्टो असफलताले आलोचना र बदनामी दिन्छ ।
यसपल्टको युरो–२०१६ मा सबैभन्दा ठूलो धक्का सहन बाध्य भए, स्पेनी प्रशिक्षक भिसेन्ट डेल बस्क । स्पेन इटालीसँग अन्तिम १६ मा पराजित भएपछि दुईपल्टको डिफेन्डिङ च्याम्पियनको चुनौती समाप्त भएको थियो, अर्थात् स्पेन अपेक्षाभन्दा पहिले नै घर फर्किएको थियो । त्यसयता केही दिन त प्रशिक्षक डेल बस्क चुपचापजस्तै रहे, तर चौतर्फी आलोचनापछि उनी आफ्नो पदबाट राजीनामा दिन बाध्य भए ।
सन् २००८ मा स्पेनले युरो जितिसकेपछि डेल बस्कले स्पेनी टिम सम्हालेका हुन् । विश्व क्लब फुटबलका एक सफलतम प्रशिक्षक डेल बस्कको नेतृत्वमा स्पेनले विश्वकप र एक अर्को संस्करणको युरो पनि जित्यो । सन् २०१४ को विश्वकपपछि स्पेनको प्रदर्शन खस्किन थालेको थियो र डेल बस्कले त्यसलाई सम्हाल्न सकेनन् । नतिजा उनी पनि आफ्नो पद छाड्न बाध्य भए ।
इंग्लिस प्रशिक्षक रोड हडसनले भने आफ्नो पदबाट राजीनामा दिन हतार जस्तै गरे ।
आइसल्यान्डविरुद्ध अन्तिम १६ मा इंग्ल्यान्डले बेहोरेको हार निकै खराब थियो । खेल सकिएपछि पत्रकारहरूसँगको भेटघाटमा उनले राजीनामा दिएको घोषणा गरे । टिम घर फर्किएपछि पनि उनको आलोचना हुने क्रम जारी रह्यो । यस्तोमा उनले इंग्लिस फुटबल समर्थकमाझ सार्वजनिक रूपमै माफि मागे ।
टिम क्वाटरफाइनलमै रोकिएपछि यस्तै आलोचनाको सिकार भएका अर्का प्रशिक्षक हुन्, बेल्जियमका मार्क विलमोट्स । धेरै आशा गरिए पनि बेल्जियम प्रतियोगिताको सेमिफाइलन पनि पुग्न सकेन । यस्तोमा बिलमोट्सका पनि आलोचना बढे । उनले अहिलेसम्म आफ्नो पद भने त्यागेका छैनन्, तर केही दिनमै उनको राजीनामा अथवा बर्खास्तीको समाचार आए अचम्म नमाने हुन्छ ।
युरो–२०१६ को समाप्तिमा आफ्नो पद छाड्नेमा इटालीका एन्टोनियो कोन्टे पनि छन्, तर उनको परिस्थिति भने फरक छ । इटाली क्वाटरफाइनलमा रोकिएपछि टिमको प्रदर्शनलाई लिएर आलोचना भएन, बरु उल्टै प्रशंसा भयो । कोन्टेलाई पनि धेरैले राम्रै माने, तर आउने युरोपेली क्लब सिजनदेखि कोन्टेले ईपीएल क्लब चेल्सी सम्हाल्दैछन् । त्यसैले उनले इटालीको टिम छाडेका छन् ।