साप्ताहिक संवाददाता
एउटा चलचित्रमा कटरिना कैफलाई लिने कि दीपिका पादुकोणलाई लिने भन्ने विषयमा अभिनेता सलमान खान तथा निर्देशक कविर खानबीच बहस भएको छ । एक था टाइगर, बजरंगी भाइजानजस्ता सुपरडुपर हिट चलचित्र दिएका सलमान र कविरको जोडीले ‘ट्युबलाइट’ शीर्षकको चलचित्र बनाउँदैछ ।
यो चलचित्रमा कविर कटरिनालाई नायिका लिन चाहन्छन् भने सलमान दीपिकाको नाम सिफारिस गरिरहेका छन् । सूत्रका अनुसार सलमानलाई कटरिनासँग काम गर्न मन छैन । यता कविर सलमानद्वारा सिफारिश गरिएकी दीपिकासँग काम गर्न सहमत छैनन् । कविर सलमान र कटरिनाको जोडी नै जम्ने तर्क राख्छन् । सलमान र दीपिका बलिउडका चर्चित कलाकार भए पनि उनीहरूले अहिलेसम्म एकसाथ काम गर्न पाएका छैनन् । लामो समयदेखि दीपिकासँग काम गर्ने इच्छा राखेका सलमानले यसअघि नै अर्को प्रोजेक्टमा दीपिकासँग काम गर्ने बताइसकेका थिए ।
कविर र सलमानबीच लामो बहस भए पनि निष्कर्ष भने निस्कन नसकेको बताइन्छ । नायिकाको सन्दर्भमा सलमानको अडान बलियो रहने भएकाले यो चलचित्रमा कटरिना नरहने प्रबल सम्भावना भएको बलिउड विश्लेषकहरूको भनाइ छ ।