साप्ताहिक संवाददाता
युट्युबमा ८५ लाखभन्दा बढी पटक हेरिएको चर्चित युगल गीत ‘सुर्के थैली खै’ का संगीतकार एवं रचनाकार राजनराज शिवाकोटीले उक्त गीत आफैं गाएका थिए र उनलाई गायनमा गायिका अञ्जु पन्तले साथ दिएकी थिइन् । गायिका अञ्जु पन्तसंँगको उनको यो साथ धेरै पुरानो हो । करिब १२ वर्षअघि पुतलीसडकको एक संगीत उत्पादक कम्पनीको कार्यालयमा भेटिएका राजन र अञ्जुको मित्रता धेरै राम्रो छ ।
राजनको संगीतमा अञ्जुले धेरै सफल गीत गाएकी छिन् । राजनका ‘जिन्दगी यो फूलै फूलको थुंगो हुँदैन’, ‘मलाई माया गर’, ‘निन्द्रा लाग्दैन’, ‘फूल सम्झी हृदयमा’, ‘एउटी छोरी मान्छे, तिम्रै माया लाग्छ’, ‘हात्ती आयो फुस्सा’, ‘ज्यानमाया तिमीलाई’ जस्ता दर्जनभन्दा बढी चर्चित गीतमा अञ्जु पन्तको स्वर सुन्न सकिन्छ । अहिले पनि चलचित्र ‘छक्का पञ्जा’को ‘पूर्व–पश्चिम रेल’ले पनि एकमहिनामै युट्युबमा ११ लाखभन्दा बढी भ्युज पाइसकेको छ । प्राय: अञ्जुका लागि भनेरै गीत सिर्जना गर्ने राजनराजले गायिका पन्तका बारेमा साप्ताहिकसँग यसरी कुरा काटे :
असल बाइट्स
पञ्चुअल : स्टुडियो होस् वा कार्यक्रम जहाँ पनि ठीक समयमा पुग्ने उनको बानी राम्रो लाग्छ ।
भाव बुझ्ने : शब्द र संगीतको भाव बुझेर त्यही अनुसार गीत गाउने उनको स्वभाव राम्रो छ ।
फेरि गाउन तयार : गाएको चित्त बुझेन भने उनी फेरि स्टुडियो पुगेर गाउन हरदम तयार हुन्छिन् ।
ठट्टा गरिरहने : असाध्यै ठट्टा मजाक गरिरहनुपर्छ, स्टुडियोभित्र गाउँदा सबैसँग रमाइलो कुरा गर्दै सबैलाई खुसी राख्छिन् ।
कुरा नकाट्ने : कसैको नराम्रो कुरा नगर्ने, सबैको राम्रो होस् भनेर कामना गर्ने ।
खराब बाइट्स
लिप्सिङमा आनाकानी : आफैंले गाएको गीतको म्युजिक भिडियोमा लिप्सिङ गर्न अर्थात् देखिन आनाकानी गर्ने । देखिए पनि करबलमा मात्र ।
चलचित्रमा नदेखिने : उनको गायिकी मात्र होइन, उनी आफैंमा पनि सुन्दर छिन् । यसकारण उनलाई केही चलचित्रबाट नायिका बन्ने प्रस्ताव आए, तर उनले मानिनन् ।
कुरा मनमा लुकाउने : केही कुराले चित्त दुखेको छ भने पनि कसैलाई नभन्ने बरु मनमै लुकाएर राख्ने तथा एक्लै रुने बानी ।
हल्ला नगर्ने : समाजसेवा गर्छिन्, तर त्यो कुरालाई उनी बाहिर ल्याउन चाहन्न । उनले समाजसेवा गरेको कुराले अरुलाई पनि उत्प्रेरित गर्छ भन्ने कुरा बुझ्नु जरुरी छ ।
भोजभतेरबाट टाढा : पार्टी तथा भोज भतेरहरूमा निकै कम जाने बानीका कारण अन्जु नयाँ सम्पर्क र चिनाजानीबाट टाढा भैरहेकी छिन् ।