साप्ताहिक संवाददाता
फरक क्षमता भएका अपांगहरूहरूलाई लक्षित गरेर ‘डिफरेन्टली एबल्ड आइडल– २०१६’ सञ्चालन हुने भएको छ । यो आइडलका लागि भदौ ३ गतेदेखि काठमाडौं, भक्तपुर तथा ललितपुरमा आवेदन दिन सकिनेछ । यो प्रतियोगिता तीनवटा विधा गायन, नृत्य तथा चित्रकलामा सञ्चालन हुनेछ ।
उत्कृष्ट २० मा प्रवेश गर्ने सहभागीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा देखाउने अवसर प्रदान गरिने यो प्रतियोगिताको अडिसनदेखि फाइनलसम्म विभिन्न क्षेत्रका ख्याति प्राप्त व्यक्तिहरू निर्णायक रहनेछन् । ‘फरक क्षमता भएका प्रतिभाशाली कोही पनि नछुटुन् भन्ने हाम्रो चाहना छ ।’ कार्यक्रमका संयोजक चित्र पौडेलले भने । अडिसनको छनौट प्रक्रियामा सहभागीहरूले आफ्नो प्रतिभा गायन, नृत्य तथा अभिनय जुनसुकै माध्यमबाट देखाउन सक्नेछन् । यही भदौ २६ गते हुने आइडलको आवेदन फारम अपांगसम्बन्धी संघसंस्था तथा मिडियाका कार्यालयहरूमा उपलब्ध गराइने बताइएको छ ।
यो कार्यक्रमलाई समिरमणि दीक्षितले आर्थिक सहयोग प्रदान गरेका छन् भने फजियोथेरापिस्ट डा. सुस्मिता ढकालले अपांगसम्बन्धी संस्थाहरूसँग संयोजन गर्नेछिन् । डा. ढकालले भनिन्, ‘प्रतियोगिताका क्रममा यदि कुनै सहभागी बिरामी भए म नि:शुल्क सेवा प्रदान गर्नेछु ।’