साप्ताहिक संवाददाता
३५ डिग्री सेल्सियस तापमानमा राप्पिएका राजधानीवासीलाई चिसो पेयले मात्र ‘ठन्डा–ठन्डा, कुल–कुल’ बनाउँदैन । न त वातावरणकूलित कोठामा बसेरै साध्य चल्छ । उर्खमाउलो गर्मीमा चिटचिट पसिना चुहाउँदै कसरी दिन गुजार्ने ?
काइदाको उपाय छ । चिसो पानीमा डुबुल्की मारौं, वेगवान् छालमा बुकुर्सी मारौं, पानीको बहावसँगै चिप्लेटी खेलौं । केही क्षण नै सही, तपाईं पानीको साम्राज्यमा हराउनुहुनेछ । यस्तो अनुभूति हुनेछ, मानौं आफू समुद्री तटमै पुगिएको छ ।
यसका निम्ति देशको सिमाना नाघेर गोवा पुगिरहनु पर्दैन । न त फुकेट वा बैंककको ‘टुर प्याकेज’ नै लिनुपर्छ । आफ्नो बासस्थानवाट छोटो दुरी छिचोलेर भक्तपुरको पलाँसेस्थित फन भ्याली पुगे हुन्छ वा चोभारको हुपिल्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्क गए हुन्छ । राजधानी आसपास मात्र होइन, इटहरीको ओसियन पार्कमा पौडिए भयो, पोखराको जल महलमा डुबुल्की मारे भयो । सहरी क्षेत्रमा अहिले थुप्रै वाटर पार्क खुलिरहेका छन्, जहाँ उन्मुक्त जलक्रीडाको आनन्द उठाउन सकिन्छ ।
मौसमविद्हरू भन्छन्– ‘राजधानीको अधिकतम र न्यूनतम तापक्रम क्रमश: वृद्धि हुँदै गएको छ ।’ जलवायु परिवर्तनका कारणले राजधानी मात्र होइन, सबैतिर यस्तो प्रभाव देखिएको छ । यसरी गर्मीको पारो बढेसँगै कृत्रिम झरीको आवश्यकता पनि समानन्तर रूपमा बढ्दै गएको छ, खासगरी शहरी क्षेत्रमा ।
यी पार्कले सहरीकरणसँगै साँघुरिदै गएका खेल मैदानको अभाव मात्र टारिरहेका छैनन्, पारिवारिक मनोरञ्जनको संस्कृतिलाई समेत बढावा दिइरहेका छन् । तासको खालमा वसेर साप्ताहिक बिदा कटाउनेहरू हुन् वा हाई काड्दै टेलिभिजनको रिमोट समातेर कोठाभित्र खुम्चिनेहरू नै किन नहुन्, सबैले स्वच्छन्द रमाउने विकल्प पाएका छन् । त्यसैले त एकनासे र पट्यारलाग्दो दैनिकीबाट उम्किएर निथ्रुक्क पानीमा भिज्ने, डुबुल्की मार्ने मनोकांक्षासहित वाटर पार्कतर्फ दौडिइरहेका भेटिन्छन्, सहरियाहरू ।
हरिया फाँट एवं घना जंगलले घेरिएका यी पार्कले बालबालिकादेखि प्रेम जोडीहरूलाई समेत आमन्त्रण गरिरहेका छन् । मनोरञ्जनका निम्ति उनीहरूले त्यहाँ अलिकति पनि कञ्जुस्याइँ गर्नु पर्दैन । बेपत्तासँग पानीमा बहकिए हुन्छ, अविरल झर्ने पानीको फोहोरामा आफुलाई निथ्रक्क भिजाए हुन्छ । चाहे पिङमा मच्चिइयोस् वा हरिया चौरमा वसेर चियो पेय घुट्क्याइयोस्, जसरी पनि आनन्द उठाउन सकिन्छ ।
त्यति मात्र कहाँ हो र ? पार्कभित्र प्रवेश गरेपछि न दिक्दारीले लखेट्टछ, न भोकले । पार्क परिसरमै थरीथरीका फुड स्टल तैनाथ छन् । कुनै चाडपर्व वा उत्सव मनाउन पनि यी पार्कहरू राम्रो गन्तव्य सावित हुन्छन्, किनभने हरेकजसो पर्वलाई उत्सवमय बनाउन यस्ता पार्कले अतिरिक्त मनोरञ्जन प्रदान गरिरहेका छन् । चाहे त्यो भ्यालेनटाइन डे होस् वा होली, क्रिसमस होस् वा न्यु इयर इभ नै किन नहोस् ।
सप्ताहन्त परिवारसहित मनोरञ्जन गर्ने ट्रेन्ड हुर्किएसँगै शहरी क्षेत्रमधा फन पार्क खुल्ने सिलसिला सुरु भएको हो । त्यो पनि करोडौंको लगानीमा । राजधानीवासीलाई लक्षित गरेर चार वर्षअघि भक्तपुरको पलाँसेमा सम्पूर्ण मनोरञ्जनसहितको फन भ्याली खुलेको थियो, ६२ रोपनी क्षेत्रफलमा । स्वीमिङ पुलसहित पानीमा विभिन्न मनोरञ्जन गर्न सकिने यो पार्क खुलेपछि यस्तै शैलीका पार्कहरू प्रतिस्पर्धात्मक रुपमा खुल्न थाले । हालसालै मात्र चोभारमा अर्को यस्तै सुविधायुक्त पार्क खुल्यो । विभिन्न प्रकारको रोमाञ्चक खेलदेखि वाटर पार्कसम्मको आनन्द उठाउन सकिने चोभारस्थित हुपिल्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्क ५० रोपनी क्षेत्रफल फैलिएको छ । उता पोखराको चचहुई फन पार्क भव्य जल महलमा रुपान्तरण भएको छ । अनेकांै किसिमका वाटर गेम खेल्न सकिने जल महलले १० रोपनी क्षेत्र ढाकेको छ । त्यस्तै, इटहरीमा हेल्थ क्लब तथा स्विमिङ पुलसहितको फनपार्क सञ्चालनमा छ । ओसियन पार्क एन्ड रिसोर्टमा उक्त सुविधा उपलब्ध हुन्छ ।
फन भ्याली, पलाँसे
राजधानीवासीका निम्ति नजिकको गन्तव्य हो, पलाँसेस्थित फन भ्याली । ६२ रोपनी क्षेत्रफलमा फैलिएको फन भ्यालीमा पानीको छालसँगै तैरिन सकिन्छ, चिसो पानीमा डुवुल्की मार्न सकिन्छ । अरनिको राजमार्गसँगै जोडिएको फन भ्यालीमा झरनाको अनुभव गराउने रेनी डान्स, अग्लो स्थानबाट पानीसँगै चिप्लेटी खेल्न पाइने स्पाइसी पुलजस्ता रोमाञ्चक खेलहरू खेल्न सकिन्छ । यसमा उमेर समूहअनुरूप थरीथरीका स्विमिङ पुल तथा वाटर गेम उपलब्ध छन् । त्यस्तै, पार्कमा प्रवेश गरिसकेपछि विद्युतिय खेलहरू पनि खेल्न पाइन्छ । त्यहाँ स्पाइसी पिंग, पुल, विद्युतिय कार, हेलिकोप्टर, ट्रेन जस्ता खेलहरूसमेत उपलब्ध छन् ।
यहाँ जलक्रीडाको थकान मेट्ने आकर्षक पार्क पनि छ । भोक मेट्न स्तरिय फुड स्टल छ । विहान ९ बजे खुल्ने यो पार्कको ढोका साँझ ५ बजेसम्म बन्द हुँदैन । त्यहाँ बालबालिकाका लागि ४ सय ५० तथा अरूका लागि ६ सय ५० रुपैयाँ प्रवेश शुल्क लाग्छ भने विद्यार्थीलाई विशेष छुटको व्यवस्था छ ।
हुपी ल्यान्ड, चोभार
गत असार २२ गते उद्घाटन भएको चोभारस्थित हुपी ल्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्कले धेरैको मन लोभ्याउँदैछ । ६० रोपनीमा फैलिएको यो पार्कभित्र जुरासिक सफारी, स्वीमिङ, भिडियो गेम, बुल राइड, अक्टोपस राइड जस्ता सुविधा उपलब्ध छन् । पार्कका म्यानेजर सौरभ बस्नेतका अनुसार अझ दोब्बर जग्गा लिएर यहाँ थप सुविधासहितको पार्क बनाउने तयारी भैरहेको छ । यो पार्कभित्र छिरेपछि दिन बितेको पत्तो हँुदैन । विविध खेल एवं मनोरम वातावरणले जो–कसैको मन लोभ्याउँछ ।
शनिबार झन्डै ३ हजारभन्दा बढी मानिसले मनोरञ्जन गर्ने यो पार्कमा अरू दिन लगभग १ हजार मानिस पुग्ने जानकारी पार्कका संस्थापक जगत बस्नेतले दिए । यो पार्कको प्रवेश शुल्क ६ सय ५० छ भने शनिबार १ सय रुपैयाँ अतिरिक्त तिर्नुपर्ने हुन्छ ।
गोकुलम रिसोर्ट, इटहरी
इटहरी चोकबाट पूर्व साढे २ किलोमिटरको दूरी पार गरेपछि पुगिन्छ— गोकुलम रिसोर्ट । सञ्चालक राधेश्याम पौडेलका अनुसार साढे ५ बिघा जमिनमा फैलिएको गोकुलम रिसोर्टमा झन्डै ४ हजार मानिस अटाउँछन् । बोटिङ तथा पिकनिक स्पटको सुविधायुक्त यो पार्क प्रवेशका लागि २० रुपैयाँ शुल्क तिर्नुपर्छ भने ६५ वर्षभन्दा माथिकालाई कुनै शुल्क लाग्दैन ।
होटल जल महल, पोखरा
चार वर्षअघि पोखराको पार्दी बजारमा खुलेको चचहुई फन पार्क धेरैको आकषर्णको केन्द्र बन्दैछ । सञ्चालक डा. दिनेश प्रसाईंका अनुसार यो पार्क विशेष गरी १२ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर सुरु गरिएको हो । ‘बिगभन्दा ब्युटिफूल पार्क बनाउने सोच हो । डा. प्रसाईंले भने, ‘अन्यत्र भन्दा फरक बनाउने सोच छ ।’ पाँच महिनाअघि यही पार्कभित्र होटल जल महल स्थापना भएपछि यहाँ मानिसहरूको भीड लाग्न थालेको छ । झन्डै १५ सय जना अटाउने यो पार्कबाट माछापुच्छ्ेर तथा अन्नपूर्ण हिमाल छर्लङ्ग देख्न सकिन्छ । यो पार्कमा सोलारबाट चल्ने रेलगाडी, सोलार कार, रोटे पिङ, स्वीमिङ पुलजस्ता विभिन्न खेलको मज्जा लिन सकिन्छ ।
यो पार्क प्रवेशका लागि १ सय रुपैयाँ शुल्क तोकिएको छ । परिवारसहित होटलमा बेड, ब्रेकफास्टसहितको प्याकेजका लागी ४ हजार ५ सय रुपैयाँ पर्छ ।
गोल्डेन बिच रिसोर्ट, धादिङ
राजधानीबाट दुई घण्टामै पुग्न सकिने धादिङको घाटबेसीस्थित गोल्डेन बिच रिसोर्टमा फुटसल, ब्याडमिन्टन, भलिबल, चिप्लेटी तथा सावर मसाजको मज्जा लिन सकिन्छ । यहाँ रेन डान्सको मज्जा लिनुको आनन्द बेग्लै छ । संस्थापक विकास श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी पर्यटकहरूको घुइँचो लाग्ने यो पार्क प्रवेशका लागि वयस्कहरूका लागि ५ सय तथा बालबालिकाहरूका लागि ४ सय रुपैयाँ शुल्क तोकिएको छ । ‘खोलाको किनारमा भएकाले धेरैले रुचाएका छन् ।’ रिसोर्टका अध्यक्ष प्रभात किरण सुबेदीले बताए ।
स्विमिङ कस्ट्युम तथा ट्युबको व्यवस्था गर्नुपर्छ, अन्यथा त्यहीं खरिद गर्नुपर्दा महँगो पर्न सक्छ ।
स्याम्पु, बडी लोसन, टावेल तथा फेर्ने लुगा पनि बोक्नुपर्छ ।
महत्वपूर्ण सामग्री तथा गरगहना नबोकेकै बेस हुन्छ ।
छालाको समस्या भएकाहरूले पौडी खेल्नु उपयुक्त हुँदैन ।