साप्ताहिक संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टिमको नेदरल्यान्ड्स भ्रमण ‘मेक अर ब्रेक’ जस्तै थियो । नेदरल्यान्डमा भएका दुवै खेल गुमाउने हो भने नेपालको सम्भावना समाप्त जस्तै हुन सक्थ्यो, विश्व क्रिकेट लिग च्याम्पियनसिपमा, तर दोस्रो खेलमा प्राप्त सानदार जितले नेपालको सम्भावनालाई जीवितै राख्यो ।
पहिलो खेलमा नेपाल सजिलै ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले १९ रनको महत्त्वपूर्ण जित निकाल्यो । सन् २०१५ देखि २०१७ सम्म चल्ने च्याम्पियनसिपमा नेदरल्यान्ड्सलाई पराजित गर्ने नेपाल पहिलो टिम हो । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ । नेपाल ६ अंकसहित ८ राष्ट्र सहभागी प्रतियोगिताको छैटौं स्थानमा छ ।
शीर्ष चार टिमले सन् २०१८ मा हुने वान डे विश्वकप छनौटमा प्रतिस्पर्धा गर्न पाउनेछन् । च्याम्पियसिपमा नेपालले पछिल्लो पटक नामिबियालाई दुवै खेलमा पराजित गरेको थियो । ती खेल काठमाडौंमा भएका थिए । डच टिममाथि प्राप्त जितमा कप्तानी इनिङ्स खेलेका पारस खड्का पनि नेपाल शीर्ष चारमा रहने सम्भावना कायमै रहेको बताउँछन् ।
पारस उक्त सम्भावनालाई बलियो समेत मान्छन् । पारसको भनाइ छ, ‘हामीले पहिलो खेलमा कमजोर प्रदर्शन गर्यौं, तर सबैभन्दा महत्त्वपूर्ण तथ्य हामीले दोस्रो खेलमा सानदार पुनरागमन गर्न सक्यौं ।
नेदरल्यान्ड्सजस्तो टिमलाई उसकै भूमिमा हराउनु सजिलो थिएन् तर हामीले त्यसलाई सम्भव तुल्यायौं ।’
च्याम्पियनसिपमा तीन चरणका खेल बाँकी छन् र अब तत्काल नेपालको प्रतिद्वन्द्वी हुनेछ, केन्या । यो खेल सम्भवत: काठमाडौंमै हुनेछ । कप्तान पारस केन्याविरुद्ध सकारात्मक नतिजा निकाल्ने हो भने त्यसका लागि अहिलेदेखि नै राम्रो तयारी गर्नु आवश्यक मान्छन् । उनी नेपाल केन्यालाई हराउन सक्ने टिम भएको दाबी गर्छन् । स्कटल्यान्डसँग नेपाल अन्तिम क्षणमा ३ रनले पराजित हुन पुग्यो । त्यसपछि पपुवा न्युगिनीसँग यूएईमा नेपालले हातमा आइसकेको दुवै खेल गुमाएको थियो ।