साप्ताहिक संवाददाता
चुइंगम, श्रीमतीको मन पनि रहने, आफ्नो मुख पनि खाली नहुने ।
कल्याण घिमिरे, नायक
वास्तवमा आफूले जस्तो कर्म गर्यो, उस्तै फल मिल्ने हो । श्रीमान्ले गलत कर्म गर्ने अनि श्रीमतीले व्रत बसेर केही हुने वाला छैन । साँचो माया र विश्वास छैन भने श्रीमतीले पनि देखावटी व्रत बसेर केही हुँदैन । श्रीमतीले श्रीमान्को दीर्घायुको कामना गरेर व्रत बस्दा श्रीमान्ले राम्रो गर्न नसके पनि अशुद्ध भनिएका कुरा नखाँदै राम्रो ।
थानेश्वर गौतम, संगीतकार/गायक
जाँगर भए भात–तिहुन पकाएर खाए भैगो, नभए चाउचाउ चपाउने चुपचाप ।
राजनराज शिवाकोटी, संगीतकार/गायक
आजभोलि सक्कलीभन्दा नक्कली अनि देखावटी व्रत बस्ने चलन छ, त्यसैले सेकुवा, मम, कुखुराको मासु चिल्लीदेखि लिएर रेड, ब्ल्याक, ब्लु लेबल, जे खाँदा पनि हुन्छ । मचाहिँ फलफूल मात्र खान्छु, किनभने मेरी श्रीमती सक्कली व्रत बस्छिन् ।
ऋषि लामिछाने, निर्देशक
खोइ, के खाने होला है ?
डिजे तामा
आफ्नो खाने चिन्ता गर्नुभन्दा पनि घरका व्रतालु महिलाको केयर गर्नु उपयुक्त हुन्छ । व्रत बसेर उनीहरू कमजोर भएका हुन्छन् ।
चन्द्र पन्त, द्वन्द्व निर्देशक
सके त श्रीमतीसँगै व्रत बस्ने । त्यसपछि के खाने भन्ने टेन्सन नै नहुने अनि माया पनि बढ्ने । अब खानैपर्छ भने साधारण खाना खाने, श्रीमतीलाई पनि बेकारमा व्रत बसेँ भन्ने नलागोस् ।
रवि श्रेष्ठ, उदघोषक
मांसहारीबाहेक सबै खाँदा हुन्छ ।
सुवास थापा, निर्माता
फलफूल ।
भूमि रिमाल, ब्युटिसियन
भोकै बस्ने नि, अझ पानी पनि नखाई । देवी हौं नि त हामी पनि । हामीलाई पाउन पनि त्यति सजिलो छैन नि हौ ।
वर्षा बस्नेत, पत्रकार
अब पुरानो जमाना छैन नि हजुर । तीजका गीत केटाहरूले पनि गाउन थाले, दर खान श्रीमान्हरू ससुराली जान थाले भने तीजमा नाच्नसमेत थालेपछि अब श्रीमान्ले पनि श्रीमतीसँगै व्रत बस्दा हुन्छ, केही नखाई, केही नपिई ।
जानकी पन्थ, गायिका
आफूलाई मन पर्ने, तर श्रीमतीले पकाउन नजान्ने खानेकुरा खाने ।
शिशिर राणा, कलाकार
परम्पराअनुसार तीजको व्रत नै श्रीमान्का लागि बस्ने हो । श्रीमान्को स्वास्थ्य, दीर्घायु तथा उन्नतिको कामना गर्दै श्रीमतीले व्रत बस्दा श्रीमान्ले पनि उनको सुस्वास्थ्य, दीर्घायु तथा उन्नतिको कामना गर्दै व्रत बसे राम्रै हुने थियो । सकिन्न भने चोखो खानु बेस ।
सुगरिका केसी, मिस नेपाल–२००५
अचेल महिनौं अघिदेखि तीजका पार्टी हुन्छन्— टन्न खायो, पियो, महँगा सारी लगायो, गरगहनाले झपक्क ढाकियो र नाच्यो । श्रीमतीको तीज खर्च बेहोर्दाबेहोर्दै श्रीमान् बिरामी भैसक्छ, अनि श्रीमतीले तीजको व्रत बस्दा श्रीमानले खाने चिज एउटै हुन्छ– औषधि ।
सञ्जय श्रेष्ठ, गायक
व्रत कसैको करकापमा बस्ने कुरा होइन । मैले व्रत बस्दा श्रीमान्ले यस्तो खाने, उस्तो नगर्ने भन्ने सोच राख्नु गलत हो । जसलाई जे गर्दा मन खुसी हुन्छ, त्यही गर्ने ।
स्वस्तिका चिलुवाल, फोटोग्राफर
म उनलाई सकेसम्म व्रत नबस्न आग्रह गर्छु । बसिहालिन् भने आफूचाहिँ रेस्टुराँ गएर शाकाहारी खाना खानुपर्ला ।
ईश्वर पोखरेल, गायक
व्रत बस्नु श्रीमतीको रहर हो । श्रीमान्ले केही खानु हुँदैन भन्ने छैन, बरु व्रत बसेकी श्रीमतीलाई लोभ्याउँदै देखाएर खानु भएन ।
जया ओझा, लेखिका
म अविवाहित हुँ, त्यसैले यो विषयमा कुनै अनुभव त छैन । चाडपर्व हाम्रो रीतिरिवाज भएकाले यसलाई जोगाएर राख्नुपर्छ । त्यसैले व्रत बसेका महिलाहरूका श्रीमान्ले दैनिक जीवन चलाउने साधारण खाना खाएर आफ्नी श्रीमतीको समर्पण एवं प्रेमप्रति सम्मान प्रकट गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ ।
विपिन किरण, गीतकार
श्रीमानहरूले पनि केही नखाने आ–आफ्ना श्रीमतीका लागि व्रत बस्ने ।
मञ्जु कार्की, समाजसेवी
मजस्ता अविवाहित केटाहरूले जे खाए पनि हुन्छ । विवाहित बूढाहरू यस विषयमा के सोच्छन्, उनीहरूलाई नै थाहा होला ।
विष्णु सुवेदी, टेलिभिजनकर्मी
श्रीमतीले श्रीमान्का लागि निराहार व्रत बस्दा श्रीमान्ले पनि श्रीमतीलाई साथ दिँदै केही नखाए त हुन्थ्यो नि । अझ श्रीमान्ले माछामासु र मादक पदार्थ खाए भने उनका लागि व्रत बस्नुको कुनै औचित्य हुँदैन ।
पवित्रा आचार्य, नायिका
श्रीमतीहरू श्रीमान्लाई राम्रो होस् भन्ने कामना गर्दै व्रत बस्छन्, त्यसैले श्रीमान्ले पनि सके व्रत बस्ने, नसके चोखो खाना खाइदिने ।
एनी कुँवर, नायिका
वैवाहिक जीवन सुखी राख्न एकअर्कालाई सम्मान गर्नुपर्छ । श्रीमतीले तीजको व्रत श्रीमानका लागि बस्ने हो, त्यसैले त्यो एकदिन श्रीमान्ले पनि उनलाई साथ दिएकै राम्रो ।
कमल श्रेष्ठ, फोटोग्राफर
यो कुरा व्यक्तिगत सोच, विचार र मान्यतामा भर पर्छ । श्रीमती व्रत बसेका बेला कतिपय श्रीमान् आफ्नी श्रीमतीका लागि व्रत बसेको पनि देखिन्छ । कतिपयले आफ्नो इच्छाअनुसार खाएको देखिन्छ । यस्तोमा जसले श्रीमतीलाई आफू समान मानेको छ उसले व्रत बस्ने, अनि मेरी श्रीमतीले मेरा लागि व्रत बस्नैपर्छ भन्ने सोच राख्नेहरूले चाहिँ टन्न खाए हुन्छ ।
प्रभा आचार्य, गीतकार