साप्ताहिक संवाददाता
भाद्र १९, २०७३
पोल्यान्डका डिसकस थ्रो खेलाडी पिटर मालाचोस्कीले रियो ओलम्पिकमा रजत पदक जितेका थिए । भीमकाय शरीरका धनी मालाचोस्की मनले पनि उत्तिकै दयालु रहेछन् । त्यसैले त उनले आफूले रियोमा जितेको रजत पदक लिलामीमा राख्ने भएका छन् र त्यसको उद्देश्य क्यान्सरबाट पीडित एक तीन वर्षीय बालकको उपचारका लागि रकम उठाउनु हो ।
ती बालकको आँखामा दुई वर्षदेखि क्यान्सर छ र उनको उपचार अमेरिकाको न्युयोर्कमा मात्र हुन सक्छ । त्यसैले मालाचोस्कीले आफ्नो रजत पदक बेचेर अर्थ संकलन गर्ने निर्णय गरे । उनको विश्वास छ— आफ्नो यो कामले अरूलाई पनि ती बालकलाई मदत गर्न प्रेरणा मिल्नेछ ।