खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले वि. सं. २०७२ सालको पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास ‘चीरहरण’ लाई प्रदान गर्ने भएको छ । गएको महिना उक्त पुरस्कारका लागि पाँच पुस्तक मनोनयनमा परेका थिए ।
प्रतिस्पर्धामा चीरहरणबाहेक कुमार नगरकोटीको ‘मिस्टिका’, गिरीश गिरीको ‘वीरगन्ज’, भूपिनको ‘सुप्लाको हवाईजहाज’ र रामलाल जोशीको ‘ऐना’ थिए । मनोनयन सूची प्रकाशित गरेको एक महिनासम्म निर्णायक मण्डलले ती कृतिका सबै पक्षको अध्ययन गरेपछि अन्त्यमा ‘चीरहरण’लाई पुरस्कृत गर्ने निर्णय गरेको बताइएको छ । पुरस्कारको राशि २ लाख रुपैयाँ र अभिनन्दन पत्र रहेको छ । पद्मश्री पुरस्कार ठूलो राशिको पुरस्कारमध्ये एक मानिन्छ । गएको वर्षदेखि प्रतिष्ठानले आफैं पुस्तक संकलन गरेर पुरस्कृत गर्ने व्यवस्था मिलाएको थियो ।
नेपाली साहित्यमा एम ए गरेकी नीलम कार्कीले जनस्वास्थ्य विषयमा पनि एमएड गरेकी छन् । उनी स्वास्थ्य सेवा र साहित्य सेवामा एकसाथ लाग्ने महिलामा पर्छिन् । एक दशकअघि उनले नेपाल टेलिभिजनबाट स्वास्थ्यसम्बन्धी कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेकी थिइन् भने दाहाल यज्ञनिधिसँग मिलेर रेडियो नेपालमा साहित्य संसार कार्यक्रम पनि चलाएकी थिइन् । उनका दुई कविता–संग्रह, दुई कथा–संग्रह र दुई उपन्यास प्रकाशित छन् । ‘चीरहरण’ महाभारत कथामा उल्लेखित महिला पात्रहरूलाई केन्द्रमा राखेर लेखिएको उपन्यास हो ।
यसअघि यो पुरस्कार कृष्ण धरावासी, अमर न्यौपाने, मोहन मैनाली, उपेन्द्र सुब्बालगायतलाई प्रदान गरिएको थियो ।
यसैगरी उक्त प्रतिष्ठानले पद्मश्री साधना सम्मान वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान गर्ने निर्णय गरेको छ । पाँच दशकभन्दा बढी समयदेखि नेपाली र लिम्बू साहित्यको श्रीवृद्धिका लागि कलम चलाउँदै आएका वैरागी काइँलालाई नेपालका अन्य स्थानीय भाषा र तिनका साहित्यको उत्थान तथा अनुसन्धानमा अतुलनीय योगदान गरेबापत प्रदान गरेको जनाइएको छ । प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले एक विज्ञप्ति प्रकाशित गर्दै नेम्वाङसहितले सुरु गर्नुभएको तेस्रो आयाम आन्दोलनले नेपाली साहित्यमा वैकल्पिक चिन्तनलाई प्रवेश गराएको स्मरण गरिएको छ । यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार तथा विद्वान् मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी र कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई प्रदान गरिएको थियो ।