
साप्ताहिक संवाददाता

केही वर्षअघि युवा गजलकारका रूपमा राम्रो छाप छाडेका मीनराज वसन्त साहित्यिक वातावरणबाट अचानक बेपत्ता भए । करिब पाँच वर्ष उनको कुनै अत्तोपत्तो भएन । केही समयअघि मात्र थाहा भयो– उनी वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका रहेछन् ।
चार वर्षसम्म तातो बालुवाको हावा खाँदा उनलाई गजल फुर्न छाड्यो, बरु उपन्यासको प्लट सिर्जना भयो । ओखलढुंगाका युवक डम्बरकुमार राई नामको पात्रका माध्यमबाट मीनराजले कतारमा देखेका स–साना कुरालाई उपन्यासमा उतार्न थाले । वैदेशिक रोजगारीबाट फर्किएको १७ महिनापछि मीनराजले ‘मुदिर’ उपन्यास प्रकाशनमा ल्याएका छन् ।
सरल तर कलात्मक भाषामा उनिएको उपन्यास ‘मुदिर’ ले कतारमा दु:ख गर्ने युवाहरूको कथा मात्र भन्दैन, वैदेशिक रोजगारीमा गएका सबैजसो युवाको पीडा व्यक्त गर्छ । वैदेशिक रोजगारीका विषयमा प्रकाशित यो अर्को महत्वपूर्ण कृति हो । शिखा बुक्सले प्रकाशन गरेको मुदिरको मूल्य ३ सय २५ रुपैयाँ छ ।