साप्ताहिक संवाददाता
प्रियंका कार्कीका रहर धेरै छन् र उनी आफ्ना सबै रहर यही जुनीमा पूरा गर्न पाइरहेकी भाग्यमानी पनि हुन् । उनलाई नाच्ने रहर छ, जुन मिस टिन भएदेखि विभिन्न स्टेजमा नाचेर पूरा भैरहेको छ । नायिका हुने रहरले त उनलाई अतिव्यस्त नै बनाइदिएको छ । मोडलहरूलाई कोरियोग्राफी गरेर र्याम्पमा हिंडाउनु पनि उनको रहर हो ।
प्रियंका हालै लन्डनमा सम्पन्न मिस युके नेपालको कोरियोग्राफी सकेर नेपाल आउकी हुन् । उनको अर्को एउटा पुरानो रहर छ, एमसी (मास्टर अफ सेरोमोनी) गर्ने, नायिका हुनु अघि उनी केही वर्ष कान्तिपुर टेलिभिजनकी कार्यक्रम सञ्चालिका थिइन् । अर्की नायिका निशा अधिकारीसँगै उनले कान्तिपुर टेलिभिजनमा जागिर खाइन् र लगभग सँगै छाडिन् । त्यति बेला उनले दर्जनांै कार्यक्रममा एमसीको भूमिका निर्वाह गरेकी थिइन् ।
व्यस्त नायिका भएपछि अहिले त्यो रहर त्यतिकै थन्किएको छ । सम्भवत: त्यसैले होला, गत साता चलचित्र ‘घामछायाँ’को घोषणा कार्यक्रममा प्रियंका कार्यक्रम सञ्चालिका अर्थात् एमसीका रूपमा देखा परिन् । जबकि उक्त चलचित्रकी नायिका केकी अधिकारी हुन्, प्रियंका होइनन् । यद्यपि रहर त पूरा गर्नै पर्यो ।