तेस्रो मिस्टर माछापुच्छ्रेको उपाधि पाल्पाका विनोद बज्राचार्यले हात पारेका छन् । कास्की जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ पोखराले शनिबार सञ्चालन गरेको पश्चिमाञ्चल क्षेत्रीय स्तरको खुला शारीरिक सुगठन प्रतियोगितामा ७५ केजीभन्दा माथि तौलका हेभिवेट विनोद तेस्रो मिस्टर माछापुच्छ्रे च्याम्पियन बन्न सफल भएका हुन् ।
फाइनल राउन्डमा विनोदले कपिलवस्तुका सुरेन्द्रप्रसाद बर्मा, कास्कीका कमल भण्डारी र मनोज केसी तथा रुपन्देहीका ताराबहादुर थापा र कृष्णप्रसाद श्रेष्ठलाई पछि पारेका थिए ।
५५ केजी तौल समूहका बर्मा, ६० केजीका भण्डारी, ६५ केजीका केसी, ७० केजीका थापा तथा ७५ केजीका श्रेष्ठ आ–आफ्नो तौल समूहमा प्रथम हुँदै मिस्टर माछापुच्छ्रेको फाइनलमा पुगेका थिए ।
कार्यक्रममा कास्कीको वडी बिल्डिङ खेललाई एक दशकदेखि सहयोग पुर्याएबापत विमल बस्याललाई सम्मान गरिएको थियो । प्रतियोगितामा ६ जिल्लाका ६५ जना खेलाडीको सहभागिता थियो ।