कुनै पनि चीज मन पर्नु वा मन नपर्नुका पनि बेग्लाबेग्लै कारण हुन्छन् । मलाई तिहार मन पर्ने विभिन्न कारण छन् । तिहारको सबैभन्दा राम्रो कुरा मलाई बत्ती लाग्छ । फूलबत्ती, दियो तथा रंगीचंगी क्यान्डलले मलाई केटाकेटी बेलैदेखि खुब आकर्षित गथ्र्यो । त्यो आकर्षण अहिलेसम्म पनि हटेको छैन । आखिर रंग र उज्यालो कसलाई मन पर्दैन होला ? त्यसैले हरेक नेपालीले आँगन र पिँढीमा एक टुक्रा उज्यालो छरेकै हुन्छन् । अर्को बगैँचाभरि फुल्ने सयपत्री । सयपत्रीको गन्धले पनि मज्जाले तिहार चिनाइरहेको हुन्छ । दाजुभाइलाई भनेर चेलीले बडो यत्नसित हुर्काएको मखमली, तिनले कुरेका गला र मुस्कुराउन बाँकी ओठहरूलाई सोध्नुपर्छ तिहार कस्तो चाड हो भनेर ।
तिहारले चराचुरुंगी र पशुहरूलाई पनि प्रेम गर्न सिकाउँछ । काग, कुकुर, गाई एक दिनै सही हामी पुज्छौँ, भात खान दिन्छौँ, श्रद्धा गर्छौं । कमसेकम श्रद्धा गर्नु के हो ? यो एकै दिन भए पनि हामी सिक्छौँ । हामीले संसारमा भएका हरेक जीव–जनावर, वनस्पतिहरूको सुविधा र रक्षा गर्न सिक्नुपर्छ । चाडपर्वले मान्छेलाई भक्षक होइन रक्षक पनि बन्न सिकाउँछ । मान्छेलाई अनुशासन र कर्तव्यबोध गराउँछ ।
तिहारको अर्को सुन्दर पक्ष हो भाइटीका । अघिपछि जतिसुकै बाझे पनि, जतिसुकै झगडा गरे पनि, जतिसुकै टाढा रहे पनि, जतिसुकै नभेटिए पनि, दाजु–बहिनीहरूको भेट गराउँछ तिहारले । मान्छे अक्सर व्यस्त भैरहन्छ । ऊ यति व्यस्त हुन्छ कि उसको व्यस्तताले कहिलेकाहीं सम्बन्धमा तिक्तता थपिदिन्छ । तिहारले यस्ता तिक्तता होस् वा मान्छेभित्रको रिक्तता सबै हटाइदिन्छ । यो हो तिहारको खुबी ।
तिहार यस्तो चाड हो जहाँ विवाह गरेर टाढा टाढा गएका चेलीखुसी हुन्छिन् माइती भेट्टाउँदा र माइती पनि त खुसी हुन्छन् चेलीको हातबाट निधारमा सप्तरंगी टल्काउँदा । भाइटीका, जुन दिन निधारभन्दा उज्यालो त माइती–चेलीको ह्दय भएको हुन्छ । त्यसैले सेलरोटीजस्तै फन्को मार्दै–मार्दै भेटिन पुग्छन् दुवै थरी । त्यसैले त दिदीभाइ, दाजुबिहनीको सम्बन्ध काजु र किसमिसजस्तै मिठो हुन्छ । ओखरजस्तै बलियो हुन्छ ।
सबैलाई मन पर्ला–नपर्ला तर सुमधुर र सौहार्द रूपमा खेलिएको देउसी र भैलो मलाई खुब मन पर्छ । कुनै जमाना थियो गाउँटोलका साथीभाइसित मिलेर देउसी खेल्न गइन्थ्यो । मादल घन्काइन्थ्यो । घोक्रो सुकुन्जेल चिच्याइन्थ्यो । नाचिन्थ्यो, गाइन्थ्यो । घर–घरमा पाकिरहेका सेलरोटीको बास्ना हरर नाकभरि भर्दै हिँडिन्थ्यो । तिहार नरमाइलो कसरी हुन सक्छ ?
०००
यद्यपि नेपालीका चाडबाडहरू स्वदेशमा खुब लोभलाग्दो पाराले मनाइन्छ, विदेशमा बस्नेहरूलाई केही हदसम्म पीडा हुन्छ । सबैले भाइटीका लगाएको फोटो फेसबुकमा हालेको देखेर घुटुक्क थुक निल्ने परदेशी दाजुभाइ तथा दिदीबहिनीहरूको मन मुटुमा के बितिरहेको हुन्छ त्यो बुझ्न सकिन्छ । चाडवाड भनेको यस्तो चीज हो, जो कमसेकम परदेसिएका कतिपय नेपालीलाई देशमा तान्दै–तान्दै लिएर आइपुग्छ । धेरै परदेशी नेपाली दसैँ र तिहारको बहानामा नेपाल आउँछन् । हामी आफूले बिताएको अतीततिर फर्केर हेर्छौं । बाल्यकाल सम्झिन्छौँ ।
जे जति बित्यो, युवाकाल सम्झिन्छौँ र हामीलाई बाँध्ने, जोड्ने भनेकै चाडबाड नै हुन्छन् । हाम्रा चाडबाडहरूले हामीलाई गुलेलीबाट निस्किएको मट्याङ्ग्रा हुन दिएको छैन टाढा कतै हराउनलाई । हामीलाई चाडबाडहरूले दिनभरि गुँड छाडेर जाने चराजस्तै बनाएको छ । यो हो चाडबाडको महत्व । यी र यस्तै कारणहरू छन्, जसले गर्दा मलाई चाडवाडहरूमा पनि तिहार विशेष मन पर्छ । तिहार, तिहारभन्दा ज्यादा बहार लाग्छ, गुलजार लाग्छ ।